काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप खेलेर नेपाली राष्ट्रिय भलिबल टोली भर्खरै स्वदेश फर्किएको छ । अघिल्लो साता किर्गिस्तानको बिस्केकमा नेपाली टोलीसँग प्रतियोगिताको बिर्सनलायक अनुभव थियो ।
प्रतियोगितामा नेपाली टोली ६ पटक कोर्टमा उत्रियो । दुर्भाग्य, सबै अवसरमा नेपालको नतिजा हारमा रह्यो । दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा फर्किएको नेपाल एसियाली महारथीहरूसँगको प्रतिस्पर्धामा निरीह देखिनु स्वाभाविक थियो ।
आयोजक किर्गिस्तानको दोस्रो दर्जाको ‘बी’ टोलीसँग पाँच सेट खेल्नु नै नेपाली टोलीको ठूलो उपलब्धि देखियो । भनिन्छ नि खेलकुदमा सबै स्पर्धा जित्नका लागि हुँदैनन् । सिक्नलाई पनि हुन्छन् । अनुभव बटुल्नका लागि पनि हुन्छन् । मित्रताका लागि हुन्छन् । खेलभावना प्रवर्धन गर्न पनि हुन्छन् । नेपाली भलिबलका लागि किर्गिस्तान भ्रमण जितबाहेक अन्य यस्तै उद्देश्यका लागि रह्यो । त्यसमा भने सफलता हात लाग्यो ।
‘प्रतियोगितामा कुनै पनि खेल जित्न त सकेनौं । तर, एसियाका ठूला टोलीसँग अनुभव साट्ने मौका पायौं,’ नेपाली भलिबल टोलीका कप्तान हरिहजुर थापाले भने, ‘विगतमा भन्दा यसपालि राम्रो प्रदर्शन गर्यौं । सर्भिस, रिसिभ, डिफेन्स र ब्लकमा केही हदसम्म खेल सुधारिएको छ । नयाँ खेलाडीले पनि ठूला टोलीविरुद्ध अवसर पाए, आगामी दिनमा हाम्रो टोली राम्रो बन्ने छ ।’
कप्तानसँग लय मिलाउँदा मात्र होइन, नेपाली टोलीको पछिल्लो विगत हेर्दा पनि किर्गिस्तान भ्रमणबाट सन्तुष्ट हुने थुप्रै आधार भेटिन्छ । नेपाली राष्ट्रिय टोली २०७८ मंसिरमा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितापछि पहिलो पटक संगठित रूपमा कोर्टमा उत्रिएको हो ।
प्रतियोगितामा इरान, मंगोलिया, किर्गिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र किर्गिस्तानको ‘बी’ टोली सहभागी थिए । ढल्कँदो उमेरका नियमित कप्तान इम रानामगर टोलीमा थिएनन् । यही कारण ३१ वर्षीय सेटर हरिहजुरले दसौं कप्तानको हैसियतमा राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पाए । यही प्रतियोगिताबाट मिडिल ब्लकर सफल विश्वकर्मा, स्पाइकर हेमन्तबहादुर मल्ल, लिबेरो भीम गाहामगर र सेटर लोकेन्द्र गिरी देशका लागि पहिलो पटक कोर्ट उत्रने संयोग जुर्यो ।
मंगोलिया, किर्गिस्तान र तुर्कमेनिस्तानसँग ३-१ को समान सेटमा पराजित भएको नेपालले इरान र उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा नतिजा सुम्पियो । किर्गिस्तानको ‘बी’ टोलीविरुद्ध पराजित भए पनि पाँचौं सेटसम्म खेल लम्ब्याउन सक्नु नेपालको सबैभन्दा सफल नतिजा थियो ।
पूर्वकप्तान भरत शाह छोटो तयारी र कम अनुभवका कारण नेपाली टोलीको नतिजा सुखद हुन नसकेको बताउँछन् । ‘हाम्रो तयारी नै कम भयो । एक महिनाभित्र खुला छनोट गरेर टोली तयार गरेका थियौं । अभ्यास पनि राम्रो हुन सकेन,’ कप्तानको हैसियतमा १६ वर्ष नेपाली राष्ट्रिय टिमको नेतृत्व गरेका शाह भन्छन्, ‘प्रतियोगितामा हामीले इरान र किर्गिस्तानजस्ता स्तरीय टोलीसँग खेल्नुपर्यो । तर सबै सेटमा २२/२४ अंक जोडेका छौं । अनुभवको कमीले गर्दा केही जित्नैपर्ने खेल हार्यौं । लगातार अभ्यास भए राम्रो नतिजाको आस गर्न सकिन्छ ।’
मैदान बाहिर पनि नेपाली भलिबलको अवस्था उस्तै छ । उपलब्धिविहीन । नेपाल भलिबल संघ (एनभिए)को नयाँ कार्यसमिति चलायनमान बन्ने प्रक्रियामा छ । तर, विगतमा निस्क्रिय हुँदा भौगोलिक रूपमा जहाँ पनि खेल्न सकिने भलिबलले देशभित्र प्राथमिकता पाउन सकेन । राष्ट्रिय टोलीका एक खेलाडी भन्छन्, ‘खेलाडीलाई तलबसुविधा छैन । लगातार प्रतियोगिता हुन्छन् तर व्यवस्थापन कहिल्यै गतिलो हुँदैन अनि नतिजा कसरी ल्याउनु ?’
नेपाल सरकारले ०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, राष्ट्रिय खेल भएको ६ वर्ष बितिसक्दा पनि भलिबलले स्तरीय कभर्डहल पाउन सकेको छैन । तीन विभागीय टोलीलाई छाड्ने हो भने भलिबलले राखेपको बहुउद्देश्यीय कभर्डहलमै निर्भर रहनुपरेको छ ।
त्यो पनि बहुउद्देश्यीय कभर्डहल हुँदा भलिबल खेलाडीले राम्रोसँग अभ्यास गर्न पाँउदैनन् । ब्याडमिन्टन, बास्केटबल, मार्सल आर्टसका खेलहरू हुँदा भलिबलले अन्यत्र प्रशिक्षण सार्नुपर्छ । अझ एनभिएले आयोजना गर्ने राष्ट्रिय लिग छाड्ने हो भने विभिन्न संघसंस्था र क्लबहरूले गर्ने प्रतियोगिताको धुलेकोर्टमा खेल्न खेलाडी बाध्य हुन्छन् ।
‘हाम्रो समस्या नै कभर्डहल हो । संघको कभर्डहल नहुँदा हामीले राम्ररी अभ्यास गर्न पाउँदैनौं । खुला चौरमा अभ्यास गरेर पदक आस गर्न उपयुक्त हुँदैन,’ शाह भलिबलको दुखेसो सुनाउँछन् ।
यता, राखेपको पहल र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा मूलपानीको डाँछीमा कभर्डहल बन्ने सम्झौता भए पनि त्यसले गति लिन सकेको छैन । एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नगरपालिका प्रमुख उपेन्द्र कार्कीबीच वैशाख अन्तिम साता सम्झौता भएको थियो ।
फेरि मैदानभित्रकै कुरा । नेपालले पुरुष टोलीले अहिलेसम्म ठूला प्रतियोगिता जित्न सकेको छैन । पुरुष टोलीले सन् २०१७ माल्दिभ्समा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा कांस्य पदक जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धि हो । पुरुष टोलीले सन् १९७८ बाट एसियाली खेलकुद खेल्दै आएको छ । त्यसयता सन् १९८२, ०८६ र ०१८ मा एसियाडमा सहभागी भएको थियो । एभिसी सेन्ट्रल जोन सन् २०१५, ०१६, ०१७, ०१८ र ०१९ मा खेल्यो । सागमा सन् २०१० यता सहभागी भएको छ । सन् २०१६ र ०१९ मा निरन्तरता दिएपछि पाँचौं स्थानबाट माथि बढ्न सकेन ।
पूर्वकप्तान शाह भलिबल विकासको लागि ग्रासरुट कार्यक्रम नहुनु मुख्य समस्या बताउँछन् । उनी सरोकारवालाले ग्रासरुट कार्यक्रममा ध्यान दिनुपर्ने बताउँछन् । ‘हामीसँग पूर्वाधारको अभाव त छँदै छ । खेलाडी उत्पादनका लागि ग्रासरुट कार्यक्रम छैन,’ शाहले भने, ‘जति खेलाडी छन् आफ्नै लगावका कारण भलिबल खेलिरहेका छन् । देशैभरबाट खेलाडी खोज गरेर प्रशिक्षण गराउन सक्यौं भने महिला र पुरुष दुवै टोली स्तरीय बनाउन सक्छौं ।’