टाउकाले दौडन सिक गोपी

जापानको टोकियोमा गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण सम्पन्न भइसकेको छ । नेपाली टोली पनि आफ्नो क्षमताअनुसार सहभागिता जनाएर फर्किसकेको छ । त्यसैले धावक गोपीचन्द्र पार्कीमाथि भएको अन्यायको विषयमा चर्चा गर्नु अहिले सान्दर्भिक नहोला । 

तर विधि र विधानले पूर्ण रूपमा नियन्त्रण राख्ने विश्वास लिइने खेलकुदमा पनि नियम र मर्यादाको कसरी बलात्कार गरिन्छ भन्ने बुझ्न टोकियो ओलम्पिकमा नेपाली सहभागिताको बेथितिको चर्चा आवश्यक छ । ‘रात गयो बात गयो’ भनेर छोडिरहने हो भने नेपाली खेलकुद कहिल्यै थितिमा आउने छैन । सधैँ आमखेलाडीले गोपीचन्द्रको नियति भोगिरहनुपर्नेछ ।

यहाँ त गोपीचन्द्रमात्र नभई एउटै प्रकरणमा उनको सट्टा ओलम्पिकमा सहभागी गराइएकी धाविका सरस्वती चौधरीमाथि पनि नेपाली खेल प्रशासनले अन्याय गरेको छ । 

नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले अन्तिम समयमा आएर अचानक गोपीको ठाउँमा सरस्वतीलाई सहभागी गराउने जुन ‘हुकुम’ सुनाएको थियो । 

ओलम्पिक आफैंमा सबैका लागि विश्व खेलकुदको सबैभन्दा ठूलो मेला । विकसित देशका विश्वस्तरीय खेलाडीका लागि पनि ओलम्पिकमा सहभागिता जनाउने विषय ठूलो हुने गर्छ । हामीजस्तो निरीह देशका निमुखा खेलाडीका लागि त ओलम्पिक भनेको जीवनभरकै ‘क्लाइमेक्स’ क्षण हो । 

संसारकै सबै खेलाडीको अन्तिम लक्ष्य भनेकै ओलम्पिक हो । हामी त्यसैगरी स्कुलिङ भएर आएका हौं । सानै देखि एउटा खेलाडीले बनाउने गन्तब्य भनेको ओलम्पिक नै हो । त्यहाँ गएर स्वर्ण जित्नु र विश्व कीर्तिमान बनाउनु अरु देशका खेलाडीको लक्ष्य हो । हामीजस्तो देशका खेलाडीको लागि त्यहाँ गएर आफ्नो तर्फबाट बेस्ट प्रदर्शन गर्नु र एउटा ओलम्पिक खेलौं भन्ने हो । 

सरस्वतीका लागि पनि यो जीवनभरकै स्मरणलायक अनुभव हुन सक्थ्यो । तर ओलम्पिक जस्तो ठूलो खेलमेलामा देशको प्रतिनिधित्व गर्ने गौरवमय अवसरका लागि तयार हुन सरस्वतीले दुई साताको समयमात्र पाइन् । जसले गर्दा जीवनभरकै मीठो स्मरण बन्नसक्ने विषय सरस्वतीका लागि भने खल्लो भयो । 

आम मानिसको बुझाइमा ओलम्पिकमा नेपालबाट को गयो भन्ने कुराले खास अर्थ राख्दैन । जो गए पनि सहभागिता नै त हो भन्ने छ आम मान्छेको बुझाइमा । त्यसकारण सरस्वती जानु या गोपी जानुमा खास भिन्नता देखिँदैन । तर हामीले देखेका छौं, हामीले बुझेको छौं । त्यो फरक हामीले मात्र छुट्याउन सक्छौं । ऊ गएको भए के हुन्थ्यो, ऊ जाँदा के भयो भनेर । धेरै मान्छेले यो बुझ्दैनन् । आम मानिसले नबुझ्नुको कारण हो यो दुर्घटना । त्यसैले खेलाडी स्वयं जबसम्म टाउकाले दौडने क्षमता राख्दैन, तबसम्म केही हुँदैन । 

नेपालमा ओलम्पिक सहभागिता प्रत्येक पटक कुनै न कुनै रूपमा विवादित हुने गरेको छ । त्यसको सबैभन्दा ठूलो सिकार खेलाडी नै बन्ने गरेका छन् । यसको एउटा भुक्तभोगी स्वयं म पनि हुँ । त्यसैले नेपाली खेल राजनीति कति दूषित छ र यहाँ कस्तासम्म तिकडम गरिन्छन् भन्ने विषयमा मलाई राम्रो जानकारी छ । 

एकछिन टोकियो ओलम्पिक २०२० को तयारीस्वरुप ९ महिनाअघि नेपालगन्जमा भएको छनोट प्रतियोगिताको स्मरण गरौं । ओलम्पिक छनोट भनेर गराइएको नेपालगन्ज म्याराथनमा गोपीचन्द्र च्याम्पियन भए । त्यसपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले गोपीचन्द्र ओलम्पिकलाई छनोट भएको घोषणा गरिदिए । 

गल्ती यहीँनेर भयो । एथलेटिक्सबाट को छनोट भयो भनेर घोषणा गर्ने एथलेटिक्स संघले हो कि ओलम्पिक कमिटीले हो ? संघ स्वायत्तताको ठुल्ठूला कुरा गर्नेले यस्तो गर्न मिल्छ ?

सुरुमा एनओसीले यही हो छनोट प्रतियोगिता, तिमी छनोट भयौं भनेर भनिदियो । ऊ (गोपीचन्द्र) पनि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन् । एनओसीको उनलाई ओलम्पिक खेलाउने योजना थियो भने म्याराथनमा छनोट गराउँदैनथ्यो ।

सागमा गोपीचन्द्रले मध्यम दुरीको ५ हजार मिटर दौडमा स्वर्ण जितेको थियो । तर ५ हजार मिटरको इभेन्ट र म्याराथनको इभेन्टमा धेरै फरक छ । गोपीले १० हजार मिटरमा स्वर्ण पदक जितेको भए कुरा बेग्लै हुन्थ्यो । १० हजार मिटरको धावकले कठिन मिहिनेत गर्यो भने म्याराथन दौडन सक्छ भन्ने हुन्छ । प्राविधिक हिसाबमा पनि यो कुरा मिलेको थिएन ।

गोपीचन्द्रलाई ओलम्पिक पठाउने योजना नै थियो भने ५ हजार मिटरमै प्रयास गरिन्थ्यो । नेपालमा ५ हजार मिटर दौडने खेलाडी पनि धेरै थिएनन् । कोभिड–१९ को जस्तोसुकै महामारी भए पनि रंगशालामा बोलाएर ५ हजार मिटर दौडने सीमित खेलाडीबीच छनोट प्रतियोगिता गर्न सकिन्थ्यो । नेपालगन्जसम्म पुगेर त्यत्रो जात्रा गर्नु जरुरी थिएन । 

गोपीचन्द्रले ओलम्पिक खेल्न पाउने कुरामा मलाई सुरुदेखि नै शंका थियो । बोल्नुपर्ने एथलेटिक्स संघ चुइँक्क पनि गर्दैन । एनओसीका महासचिवले एथ्लेटिक्सको विषयमा घोषणा गरेको छ । 

म्याराथनकै छनोट प्रक्रियामा पनि एथलेटिक्स संघको धेरै कमजोरी भएको छ । छनोट प्रक्रिया नै त्रुटिपूर्ण छ । ओलम्पिकलाई छानिएको घोषणा गरेका खेलाडीलाई महिनौंसम्म अभ्यास गराएर, सपना बुन्न लगाएर अनि खेल्नुभन्दा एक महिनाअगाडि खेल्न पाउँदैनस् भन्दा त्यो खेलाडीमा कस्तो वज्रपात हुन्छ भन्ने एउटा खेलाडी भएको नाताले म अनुभव गर्न सक्छु ।  

अहिले गोपीलाई परेको पीडामा मेरो सहानुभूति छ । तर यहाँ गोपी प्रकरणमा सबै पक्षको कमजोरी छ । संघ, एनओसी र खेलकुद परिषद कोही पनि चोखा छैनन् । गोपीले खेल्न नपाउने स्पष्टीकरण दिएको विज्ञप्ति तीनवटै पक्षले संयुक्त रूपमा जारी गर्नुले नै दालमा कालो होइन, दाल नै कालो भएको प्रमाण दिन्छ । यदि त्यहाँ कुनै षडयन्त्र नभएको भए एनओसीका महासचिवले एक्लै विज्ञप्ति जारी गरे पर्याप्त हुन्थ्यो, हामी पत्याउँथ्यौं । 

अनावश्यक रूपमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव (रमेशकुमार सिलवाल), संघका अध्यक्ष (राजीवविक्रम शाह) र एनओसीका महासचिव (नीलेन्द्रराज श्रेष्ठ) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्नु भनेको मानिसले पत्याऊन भनेर हो । आम मानिसले जे गरे पनि गोपीले चाहिँ उनीहरूको विज्ञप्ति पत्याउने छैनन् ।

समग्रमा यो एथलेटिक्स संघकै दोष हो । अरू कसैलाई दोष दिएर पन्छिन मिल्दैन । संघले के गर्नुपर्छ भने आफ्ना खेलाडीको इन्ट्री गरिसकेपछि भयो कि भएन भनेर फलोअप गर्ने सम्पूर्ण काम संघको हो । त्यसपछि भएन भने आफैंले सोझै सम्पर्क गरेर खेलाडीको इन्ट्री गराउन सक्नुपथ्र्यो । त्यति गर्न नसके मेरो खेलाडीको नाम किन इन्ट्री भएन भनेर एनओसीलाई दबाब दिन सकिन्थ्यो । नेतृत्वको नियत सफा थियो र उनीहरू पारदर्शी भएको भए मंसिरमा प्रतियोगिता गरेदेखि नै संघले लगातार यसलाई पछ्याइरहनुपथ्र्यो । तर, यहाँ संघले पहल नै गरेन । 

छनोट प्रतियोगिता भनेर प्रचार गरिएको नेपालगन्ज म्याराथनमा एनओसीका अध्यक्ष र महासचिव नै पुरस्कार दिन पुगेका छन् भनेर शंकाको लाभ पनि संघलाई दिनुहुन्न । खास कुरा के हो भने एथलेटिक्स नेतृत्वलाई एनओसीले मन पराउँदैन । संघ नेतृत्वले पनि एनओसीलाई सहयोग गर्दैन । खास ‘टसल’ यहीँनेर हो । संघ र एनओसीबीचको टसलको सिकार एउटा निर्दोष खेलाडी हुनुपर्यो । 

यो प्रकरणमा गोपीको पनि ठूलो गल्ती छ । यो देशमा खेलाडीले खुट्टाले मात्र दौडेर पुग्दैन, टाउकाले दौडनुपर्छ भन्ने कुरा गोपीले बुझेन । यो उसको कमजोरी हो । नेपाल सिस्टममा चलेको देश होइन । यहाँ त अथाह राजनीति छ । एनओसी र एथलेटिक्स संघको सम्बन्ध राम्रो छैन भन्ने प्रस्ट छ । 

यही ओलम्पिक तयारीको दौरान महिनौंदेखि अरू खेलका खेलाडी र प्रशिक्षकले मासिक ५ सय डलरको छात्रवृत्ति पाइरहेका थिए । तर सबैभन्दा पहिला छनोट गरिएको गोपीले नै पाएन । राजनीति यहीँबाट बुझ्नुपर्ने थियो, जुन गोपीको खेलाडी दिमागले भेउ पाउन सकेन । सायद उसले सागमा जित्नेबित्तिकै केही बोलेको हुनसक्छ, जुन एनओसी पदाधिकारीलाई मनपरेन । अहिले त्यसकै बदला लिइएको पनि हुनसक्छ ।

मंसिरमा छनोट गरेर असारमा आएर एउटा खेलाडीलाई यस्तो गर्दा ठूलो अन्याय हुन्छ । अझ म्याराथन खेलाडीले ओलम्पिक खेल्ने सपनाका लागि यो आठ महिनामा धेरै पसिना बगाएका हुन्छन् । हप्तामा १ सय २० देखि १ सय ८० किलोमिटर दौडनुपर्छ । त्यसमा पसिना कति बगे भन्ने कुराको लेखाजोखा कस्ले गर्ने ? खेलाडीको त्यो पसिना केहीसँग पनि तुलना गर्न सकिन्न । 

गोपीले निर्विवाद रूपमा ओलम्पिक खेल्न पाउनुपर्थ्यो । धेरै वर्ष योगदान गरेका खेलाडी मात्र नभई ऊ त आधिकारिक छनोट प्रतियोगिताबाट छानिएका खेलाडी पनि हुन् । पक्कै पनि उसलाई अहिले ठूलो वज्रपात भएको छ । 

मेरो डोपिङ प्रकरण र गोपीले ओलम्पिक खेल्न नपाएको विषयको पीडा चाहिँ एउटै हो । यद्यपि तरिका एकदम फरक हो । उसले ओलम्पिकको मुखमा आएर खेल्न पाएन, योभन्दा ठूलो पीडा त हुनै सक्दैन । अर्को कुरा मैले जितिसकेको पदक फिर्ता गर्नुपरेको छ, त्यो पीडा पनि सानो थिएन । 

मेरो कसरी भयो भन्ने विषयमा अहिले १५/१६ वर्षपछि पनि सुत्दा म सोच्छु । तर अहिलेसम्म म आफैंले कारण थाहा पाउन सकेको छैन । गोपीलाई पनि अहिले निकै नराम्ररी घुमाए । 

त्यसमै रूमल्लिएर निराश भइरहनु चाहिँ हुँदैन । गोपीको त्यति धेरै उमेर गइसकेको छैन । ऊ भर्खर ३० वर्षको भयो । ३० वर्षलाई म्याराथनमा धेरै उमेर मानिँदैन । अवसर फेरि पनि आउन सक्छ । त्यसैले नेपाली खेलकुद राजनीतिको कुरूप अनुहार देखिसकेकाले गोपीले उनीहरूले निकालेको विज्ञप्तिका कुरालाई विश्वास गर्नुपर्छ । किनकि ऊसँग त्यसको विकल्प छैन । अब टाउको फुटाएर मरे पनि गोपीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन सक्ने होइनन् । 

खुट्टाले होइन, टाउकाले दौडन सिक्नुपर्छ । नत्र, दौडिन छाडेकै ठिक हुन्छ । हाम्रो र अरू देशको फरक यही हो । हाम्रो देशमा टाउकाले पनि दौडन सिक्नुपर्छ । सिस्टम भएका देशमा खुट्टाले मात्र घडीअनुसार दौडिए पुग्छ । तर हामीकहाँ चाहिँ अवस्था हेरेर टाउकाले पनि दौडनुपर्छ । यो हामीजस्ता खेलाडीले भोगेको र अनुभव गरेको विषय हो । म आफैंले जति नाम बनाउन सकें, त्यो टाउकाले दौडन सिकेर हो । नेपालमा जो जो स्थापित खेलाडी छन्, ती मान्छे भनेको सबै टाउकाले नै खेल्न सिकेकाहरू हुन् । 

खेलाडीको अभिभावक भनेको संघ, राखेप र एनओसी हुन् । तर यिनैको मिलोमतोमा खेलाडीमाथि अन्याय भएपछि अभिभावकविहीन जस्तो देखिन्छ । १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जित्यो । त्यसलाई जिताउन अहोरात्र पर्दापछाडि खटिने प्रशिक्षकहरू पनि यहाँ छन् । यो सबलाई थाहा छ । तर तीन जनामात्र कर्मचारीले राष्ट्रपतिबाट पदक पाए ।

देशका लागि पदक जितेका खास खेलाडी र प्रशिक्षक छुटेको विषयमा आलोचना भएपछि पदाधिकारीले खुलेआम ‘हामीले गेम गरायौं र तिमीले पदक जित्यौ । हामीले गेम नगराएको भए तिमीहरूले कसरी पदक जित्थ्यौं’ भन्न रत्तिभर डर मानेनन् । यस्तो हुँदा पनि कुनै संघ र त्यसको नेतृत्व सरकारी निर्णयविरुद्धमा डटिएर उभिएको देख्न पाइएन ।

खेलाडीका लागि संघ छ, मेरो अध्यक्षले बोल्ला भन्ने कुरा हाम्रो नेपालमा लागू हुँदैन । खेलाडी आफैं चलाख हुनु आवश्यक छ । यहाँ हामी खेलाडीका कोही अभिभावक छैनन् । अरू सबैको त औपचारिकता मात्र हो, जबसम्म आफ्नो स्वार्थ पूरा हुँदैन, तबसम्म प्रयोग गर्छन् । स्वार्थ पूरा भएपछि सकियो ।

अन्तमा, गोपीले अब बोल्ने कुरालाई पूरा बन्द गर्नुपर्छ । ‘मैले यसरी अभ्यास गरेको थिएँ । यति समयमा दौडन्थें’ भन्यो भने त्यो कुरा मानिसले पत्याउँदैनन् । तर सन् २०२३ मा पाकिस्तानमा साग हुँदै छ । त्यसमा स्वर्ण पदक जितेर देखाउन सक्यो भने त्यसको ठूलो अर्थ रहन्छ । अहिले २ घण्टा १५ मिनेटमा दौडन्छु भन्दा मानिसले नपत्याउन सक्छन् । जान नपाएर भन्यो भन्ने आरोप लगाउन सक्छन् । तर पाकिस्तानमा वैकुण्ठ (मानन्धर) गुरुको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जित्न सके अहिले गोपीलाई रोक्नेहरू पनि थक्थकाउन बाध्य हुनेछन् ।

गोपीसँग अझै दुईवटा ओलम्पिक खेल्ने अवसर छ । त्यसैले गोपी, अब बोल्न बन्द गर्, टाउकाले दौडन सिक । जुन दिन गर्न पाउँछौं, त्यो दिन प्रमाणित गरेर देखाइदेउ, च्याप्टर क्लोज ।