युनाइटेड छाडेर जेम्स लिड्समा आवद्ध

म्यानचेस्टर, (खेलाडी) - लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडका ड्यानियल जेम्सलाई अनुबन्ध गरेको छ । समर ट्रान्सफर विन्डो बन्द हुने दिन लिड्सले २३ वर्षीय वेल्सका तीव्र गतिका विङ्गरलाई २५ मिलियन पाउन्डमा किनेको हो ।

जेम्सले लिड्ससँग ५ वर्षका लागि सम्झौता गरेका छन् । जेम्स सन् २०१९ मा स्वान्सी सिटीबाट युनाइटेड गएका थिए ।

एकनासको प्रदर्शन दिन असफल रहेका जेम्सले पछिल्लो समय बेन्चमै बिताइरहेका थिए । त्यसै कारण पनि उनी लगातार प्लेइिङ टाइम पाउने आशामा लिड्स जान चाहेका हुन् ।

त्यसमा पनि क्रिस्टियानो रोनाल्डो, जार्डोन सान्चो लगायतका खेलाडी क्लबमा भित्रिएपछि उनको सम्भावना अझै कम बनेको थियो ।

लिड्सका निर्देशक भिक्टोर ओर्टाले जेम्सलाई भित्र्याउँदै खुशी व्यक्त गरेका छन् ।

'म मेरो टीमलाई धन्यवाद दिन चाहन्छु, हामीले जेम्सलाई भित्र्याउन धेरै अगाडिदेखि प्रयास गरिरहेका थियौं,' उनले भने, 'उनलाई भित्र्याउन मेरो टोलीले कडा मेहेनत गरेको छ ।'