युभेन्टससँग रोनाल्डोको सहयात्रामा पूर्णविराम

टुरिन, (खेलाडी)- सरुवा बजारको अन्तिम दिन आज पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग पुनरागमनको सम्झौता गर्ने पक्का भएका पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई उनको वर्तमान क्लब युभेन्टसले विदा गरेको छ ।

टुरिनबाट रोनाल्डो बाहिरिने कुरा युभेन्टसले घोषणा गरिसकेको छ । अब उनको बहुप्रतिक्षित सरुवाको बल युनाइटेडको कोर्टमा पुगेको छ । 

युभेन्टसले आफ्नो वेभसाइटमार्फत जारी गरेको विज्ञप्तिअनुसार युनाइटेडले रोनाल्डोलाई पाँच वर्षे सम्झौतामा अनुबन्ध गर्दा प्रारम्भिक चरणमा १ करोड ५० लाख युरो तिर्नेछ । जुन रकम १ करोड ९५ लाखसम्म पुग्न सक्नेछ । 

युभेन्टसले आफ्नो लामो विज्ञप्तिमा वितेका तीन वर्षमा रोनाल्डोको इटाली बसाइमा प्राप्त भएका उपलब्धिहरुको पनि चर्चा गरेको छ ।

‘२०१८ को जुलाईमा युरोपियन तथा विश्व फुटबलका दुई ठूला नाम युभेन्टस र क्रिस्टियानो रोनाल्डोको मिलन भएको थियो । आज तीन वर्षपछि १ सय ३३ खेल, १ सय १ गोल र पाँच उपाधि जितको यो सहकार्यको अन्त्य भएको छ,’ युभेन्टसको विज्ञप्तिमा लेखिएको छ, ‘सिआरसेभेन र युभेन्टसको बाटो अलग्गिएको छ ।’