काल्भर्ट लेविनले विश्वकप छनोट नखेल्ने

लन्डन, (खेलाडी)- एभर्टनका स्ट्राइकर डोमिनिक काल्भर्ट लेविनले तिघ्राको चोटका कारण आसन्न विश्वकप छनोट अन्तर्गतका खेलहरु गुमाउने भएका छन् । 

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार ब्राइटन एण्ड होभमाथि २-० को जित हासिल गर्दा काल्भर्ट लेविनको तिघ्रामा चोट लागेको थियो । जसका कारण उनी इङ्ल्यान्डको विश्वकप छनोट खेल्ने टोलीबाट नाम फिर्ता लिन बाध्य भएका थिए । 

२४ वर्षे फरवार्डले एभर्टनका लागि प्रिमियर लिगको नयाँ सिजनका तीन खेलमा तीन गोल गरेका छन् । 

प्रशिक्षक गारेथ साउथगेटले काल्भर्ट लेविनको ठाउँमा अर्को खेलाडीलाई बोलाइसकेका छैनन् । जसका कारण विश्वकप छनोट अन्तर्गतका आसन्न तीन खेलमा युरो २०२० को उपविजेता टोली २४ खेलाडीमा सिमित हुनेछ । 

इङ्ल्यान्डले छनोट अन्तर्गतको खेलमा बिहीबार पुस्कास एरिनामा हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसको तीन दिनपछि एन्डोरालाई वेम्बली रंगशालामा निम्त्याएपछि टोली अर्को बुधबार पोल्यान्डसँग खेल्नका लागि वार्साको भ्रमणमा निस्कनेछ ।

अर्को वर्ष कतारमा हुने विश्वकपको छनोट अन्तर्गत समूह ‘आइ’मा इङ्ल्यान्ड तीन खेलमा तीन जित हासिल गर्दै शीर्ष स्थानमा छ । हंगेरी सात अंकका साथ दोस्रो स्थानमा छ ।