रोमाको प्रभावशाली जित, नेपोलीले जिनुवालाई हरायो

रोम, (खेलाडी)- लोरेन्जो पेलेग्रिनीको दुई गोल प्रेरित एएस रोमाले इटालियन सिरी ‘ए’को खेलमा आइतबार राति सेलेरनिटानामाथि ४-० को प्रभावशाली जित हासिल गरेको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि मध्यान्तरपछिको तेस्रो मिनेटमा पेलेग्रिनीले रोमाको खाता खोलेका थिए । माटियास भिनाको पासमा गोलको खाता खोलेका पेलेग्रिनीले दोस्रो व्यक्तिगत गोल समय सकिन ११ मिनेट बाँकी रहँदा गरेका थिए । दोस्रो गोलका लागि उनले जोर्डन भेरेटाउटको पास उपयोग गरेका थिए । 

यसबीचमा भेरेटाउटले हेनरिक मिखिटार्यनको पासमा गोल गर्दै ५२औं मिनेटमा टोलीको अग्रता दोब्बर पारेका थिए भने टमी अब्राहमले चार्ल्स पेरेजको पासलाई गोलमा परिणत गर्दै ६९औं मिनेटमा रोमालाई ३-० को अग्रता दिलाएका थिए । 

जितसँगै नयाँ सिजनको दोस्रो खेलसम्म सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दिएको रोमा ६ अंकका साथ तेस्रो स्थानमा छ । समान ६ अंक जोडेका लाजियो र इन्टर मिलान पहिलो र दोस्रो स्थानमा छन् । यसैगरी गोलअन्तरमा पछि परेका कारण समान अंक भए पनि एसी मिलान चौथो तथा नेपोली पाँचौं स्थानमा छन् । 

मिलानले आइतबारै भएको खेलमा काग्लियारीमाथि ४-१ को जित हासिल गरेको थियो । नेपोलीले भने आइतबार जिनुवालाई २-१ को नतिजामा निराश पारेको थियो । 

जिनुवा भ्रमणमा नेपोलीलाई जित दिलाउन फाबियान र आन्द्रिया पेटाग्नाले गोल गरे । माटियो पोलिटानोको पासमा फाबियानले गोल गर्दै मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा नेपोलीको खाता खोलेका थिए ।

५४औं मिनेटमा गोरान पाण्डेभले गोल गर्दै जिनुवालाई खेलमा फर्काएका थिए । तर भिडियो सहायक रेफ्रीबाट उनको गोलले मान्यता नपाउँदा टोली बराबरी गर्ने अवसरबाट चुक्यो । 

६९औं मिनेटमा पाव्लो जिग्लियोनको पासमा आन्द्रिया काम्बियासोले जिनुवाका लागि बराबरी गोल गरेका थिए । तर समय सकिन ६ मिनेट बाँकी रहँदा पेटाग्नाले मारियो रुईको पासमा गोल गर्दै नेपोलीको तीन अंक पक्का गरे ।