रियाल मड्रिड सेरिफसँग स्तब्ध 

मड्रिड, (खेलाडी) -  यस सिजन च्याम्पियन्स लिगको अप्रत्यासित नतिजा निकाल्ने क्रममा  सेरिफ टेरासपोलले स्पेनिस महारथी रियाल मड्रिडलाई स्तब्ध पारेको छ ।

मंगलबार राती रियालको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न समूह 'डी 'मा १३ पटकको च्याम्पियन्स लिग विजेता स्पेनिस टोलीलाई मोल्डोभोको च्याम्पियन सेरिफले २-१ ले निराश  पारेकाे हाे ।

२५औं मिनेटमा यासुरबेक याक्सिबोइभको गोलमा सेरिफले अग्रता लियो । ६५औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काएका थिए । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा सेवास्टियन थिलले बललाई जाली चुमाउँदा सेरिफले क्लब इतिहासको सबै भन्दा सुखद जित पक्का गरेकाे हाे ।

'मेरो करियरको यो उत्कृष्ट र सबै भन्दा महत्वपूर्ण गोल हो,' थिलले भने, 'हामीे बलियो टोलीसँग डराएनौं ।  रियाल मड्र्रिडविरुद्ध गोेल गर्नु मेरो भाग्य हो । टोलीको एकता नै हाम्रो सफलताको सुत्र हो ।'

रियालमाथिको जितपछि सेरिफ ६ अंकका साथ शीर्ष स्थानमा छ । रियाल तीन अंक जाड्दै दोस्रो स्थानमा छ भने इन्टर मिलान र साख्तर डोनेश्क समान एक अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

सेरिफका कप्तान फ्र्यांक कास्टानेडाले रियालमाथिको जितलाई 'सपना साकार' भएकाे रुपमा बयान गर्दै आफूहरु नकआउट चरण प्रवेश गर्ने अभियानमा केन्द्रित रहेको बताए ।

'हाम्रो लक्ष्य भनेको अन्तिम १६ सम्मको यात्रा तय गर्नु हो', कास्टानेडाले भने ।

समूह 'डी' मा मंगलबार भएको अर्को खेलमा इन्टर मिलान र साख्तर डोनेश्कले गोलरहित बराबरी खेले ।