साविक विजेता एट्लेटिको मड्रिडको अर्को गोलरहित बराबरी

मड्रिड, (खेलाडी)- जोआओ फेलिक्सले रातो कार्ड सामना गरेको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले आक्रमणमा धार देखाउन नसक्दा गए राति वान्डा मेट्रोपोलिटानोमा एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

फेलिक्सले ७८औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि एट्लेटिको मड्रिड १० खेलाडीमा सिमित भएको थियो । 

मध्यसातामा च्याम्पियन्स लिगअन्तर्गतको खेलमा एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकिएको डिएगो सिमोनीको टोली घरेलु समर्थकमाझ अर्को निराशाजनक बराबरीमा सीमित भयो । 

साविक विजेताले गोलरहित बराबरीमा चित्त बुझाएको दिन स्पेनिस ला लिगामा इल्चेले लेभान्टेसँग १-१ को बराबरी खेल्यो भने डेर्पोटिभो आल्भेसले ओसासुनालाई २-० को नतिजा सुम्पियो । 

इल्चेले घरेलु मैदानमा पहिलो हाफमा लुकास पेरेजको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफ सुरु भएको १० मिनेट नबित्दै जोसे लुइस मोरालेसले लेभान्टेका लागि बराबरी गोल गरे । 

डेर्पोटिभो आल्भेसका लागि घरेलु मैदानमा भएको खेल अत्यन्तै निराशाजनक भयो । भ्रमणकारी ओसासुनाले पहिलो हाफमै दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो । 

रुबेन गार्सियाको पासमा गोल गर्दै २२औं मिनेटमा डेविड गार्सियाले ओसासुनालाई अग्रता दिलाए । त्यसको सात मिनेटपछि प्राप्त पेनाल्टीलाई रोबर्टो टोरेसले गोलमा परिणत गरेर ओसासुनाको जित पक्का गरे ।