मेसीको पिएसजी सरुवाले एमबाप्पेलाई रियाल ल्याउन सक्छ : क्रुस

मड्रिड, (खेलाडी)- रियाल मड्रिडका स्टार टोनी क्रुसले लियोनेल मेसी पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवा भएपछि त्यहाँबाट किलियन एमबाप्पे रियाल आउने सम्भावना बलियो बनेको बताएका छन् । 

पछिल्लो दुई वर्षदेखि नै एमबाप्पे आकर्षक सरुवा रकममा रियालसँग अनुबन्धित हुने सम्भावनाको चर्चा चल्दै आएको थियो । फ्रान्सेली अन्तर्राष्‍ट्रिय स्ट्राइकर एमबाप्पेको पिएसजीमा सम्झौता यही सिजनसम्मका लागि छ । पिएसजीमै उनले सम्झौता नवीकरण गर्ने संकेत पनि पछिल्लो समय देखिएको छैन । 

समर्थकहरुका प्रिय स्टार एमबाप्पेलाई बेच्‍न पिएसजी आफै इच्छुक छैन । मेसीको आगमनपछि पनि सिजनको पहिलो खेलमा शनिबार स्ट्रासबर्गमाथि ४-२ को जित हासिल गर्दा गरेको प्रभावशाली प्रदर्शनपछि झन समर्थकको माझ एमबाप्पेको लोकप्रियता झनै चुलिएको छ । उक्त खेलमा मेसी र हालैमात्र अनुबन्ध गरिएका अर्का स्टार सर्जियो रामोसका साथै नेइमारलाई पनि आराम दिइएको थियो । 

छ पटक बालन डी अर जितेका बार्सिलोनाका हस्ती मेसी पिएसजीमा आइसकेको अवस्थामा चाँही एमबाप्पेले पेरिस छोड्ने सम्भावना बढेको क्रुसको बुझाई छ ।

‘मेसी पिएसजी पुगेपछि अरु कुराहरु कसरी विकसित हुदै जान्छन्, त्यो हेर्न बाँकी छ,’ क्रुसले भने, ‘सायद मेसीको सरुवा हाम्रो लागि चाँही राम्रो हो । किनभने हाम्रो सबभन्दा ठूलो प्रतिद्वन्द्वीले उसको सबभन्दा राम्रा खेलाडी गुमाएको छ । परिस्थितीले हाम्रा लागि अरु पनि सुखद समाचार ल्याउन सक्छ । सायद पिएसजीबाट कोही स्टार खेलाडी हामीकहाँ आउन सक्छ ।’

स्ट्रासबर्गविरुद्धको खेलपछि फ्रान्सका विश्‍वकप विजेता स्टार एमबाप्पेले लिग वानका लगातार सात खेलमा गोल वा गोलको अवसर सिर्जना गर्ने क्रमलाई निरन्तरता दिए । पछिल्ला सात खेलमा उनले आठ गोल गर्नुका साथै चार गोलको अवसर मिलाएका थिए । 

त्यो एमबाप्पेको १ सय ५०औं लिग खेल थियो । यसबीचमा उनले १ सय ८ गोल गरेका छन् । लिग वानको पछिल्लो ४० वर्षको इतिहासमा ज्लाटान इब्राहिमोभिचले मात्र पहिलो १ सय ५० खेलमा एमबाप्पेभन्दा बढि गोल गरेका छन् । इब्राहिमोभिचले पहिलो १ सय ५० खेलमा १ सय १३ गोल गरेका थिए ।