अस्ट्रेलियाले विश्वकप २०३० वा ३४ का लागि दाबेदारी गर्ने

सिड्नी, (खेलाडी) – अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ ।

अस्ट्रेलियाले न्युजिल्यान्डसँग संयुक्त रूपमा सन् २०२३ मा महिला विश्वकपको आयोजना गर्दैछ । यसअघि अस्ट्रेलियाले सन् २०२२ को विश्वकप आयोजनाको दाबी प्रस्तुत गरे पनि सफल भने हुन सकेन । सन् २०२२ को विश्वकप आयोजनाको अधिकार कतारले पाएको थियो ।

अस्ट्रेलियाले सन् २०२३ को महिला विश्वकप र सन् २०३२ को ब्रिस्बेन ओलम्पिकको आयोजना अधिकार पाइसकेकाले त्यो नै सन् २०३० र २०३४ मध्ये एउटा संस्करणको विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बलियो आधार भएको उनी बताउँछन् ।

‘हामी सन् २०२३ मा ठूलो प्रतियोगिता आयोजना गर्दै छौं,’ उनले भने, ‘आशा छ, हामीले अरू पनि ठूला ठूला प्रतियोगिता आयोजनाको अधिकार पाउँछौं । अहिले सबै राष्ट्रले कुनै न कुनै प्रतियोगिता आयोजनाको दाबी प्रस्तुत गरिरहेका छन् ।’

सन् २०१५ मा महिला विश्वकप फुटबलको आयोजना गरेको क्यानडाले ११ वर्षपछि अमेरिका र मेक्सिकोसँग संयुक्त रूपमा पुरुष विश्वकप फुटबलको आयोजना गर्दै छ । ब्राजिलले पनि सन् २०१४ को विश्वकप र सन् २०१६ को ओलम्पिक आयोजना गरेको थियो ।

जोन्सनले सन् २०३० को विश्वकप आयोजनाको अधिकार युरोप वा दक्षिण अमेरिकी राष्ट्रले प्राप्त गर्ने सम्भावना रहेको पनि उल्लेख गरे । सन् २०२२ को विश्वकप एसियामा हुनेछ भने सन् २०२६ को विश्वकप उत्तरी अमेरिकामा आयोजना हुनेछ । त्यसैले सन् २०३४ को विश्वकप आयोजनाको अधिकार पुनः एसियाली राष्ट्रले पाउने सम्भावना छ र त्यसका लागि दाबी गर्ने अस्ट्रेलियाको लक्ष्य छ ।

सन् २०२३ को महिला विश्वकप र सन् २०३२ को ब्रिस्बेन ओलम्पिकको आयोजना अधिकार पाइसकेकाले त्यो नै सन् २०३० र २०३४ मध्ये एउटा संस्करणको विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बलियो आधार भएको अस्ट्रेलियाको भनाइ छ ।