मेसीले बार्सिलोना छोड्दा ला लिगालाई घाटा

मड्रिड, (खेलाडी) – अर्जेन्टिनी कप्तान लियोनल मेसीले बार्सिलोना छोडेसँगै उनको नयाँ गन्तव्यका बारेमा चर्चा चुलिएको छ । अधिकांशले मेसीले छोडेसँगै बार्सिलोनाको भविष्य नै संकटमा परेको बताएका छन् तर केहीले भने  बार्सिलोनाबाट मेसीको बहिर्गमनले समग्र ला लिगाको स्तर नै घट्ने बताएका छन् ।

केही समयअघिसम्म स्पेनिस ला लिगा विश्वका चर्चित खेलाडीको पहिलो रोजाइ हुने गर्दथ्यो । तर अहिले खेलाडीको रोजाइसमेत परिवर्तन भइरहेको छ । नेइमारले सन् २०१७ मा बार्सिलोना छोड्दै पेरिस सेन्ट जर्मन (पिएसजी) रोजे भने रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो त्यसको एक वर्षपछि युभेन्ट्समा आबद्ध भए । त्यस्तै गत महिनामा मात्र रियाल मड्रिडका सफल कप्तान सर्जियो रामोस पनि ला लिगालाई बिट मार्दै पिएसजीमा अनुबन्धित भए ।

बिहीबार बार्सिलोनाले ला लिगाको आर्थिक नियमका कारण मेसीसँग चाहना हुँदाहुँदै पनि सम्झौता अन्त्य गर्नुपर्ने बाध्यतामा परेको दाबी गरेको थियो । यद्यपि, मेसीले गत सिजनै क्लबमा बस्न इच्छुक नभएको बताएका थिए ।

१७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका मेसीले १७ वर्षपछि क्याम्प नोउबाट बिदा लिएका हुन् । लिग वान क्लब पिएसजीले मेसीलाई अनुबन्धित गर्ने प्रयास भइरहेको बताएको छ । स्पेनका फुटबल विश्लेषकहरूले मेसीको बर्हिगमन बार्सिलोनाका लागि मात्र नभई समग्र ला लिगाकै लागि खराब भएको बताए ।

‘यो ठूलो घाटा हो,’ युनिभर्सिटी अफ ओभिडोका प्राध्यापक पाल्सिडो रोर्डग्वेज गुइरेरोले भने, ‘यसको प्रत्यक्ष असर सबै क्षेत्रमा पर्नेछ । यसले क्लबको र ला लिगाको प्रायोजनमा समेत विशेष अर्थ राख्नेछ ।’

बार्सिलाना र रियाल मड्रिडले सन् २०१४ देखि २०१८ सम्म गरी समग्रमा ५ पटक च्याम्पियन्स लिग जितेका छन् । तर अहिले यी दुवै क्लबले च्याम्पियन्स लिगमा आफ्नो दरिलो उपस्थिति जनाउन सकिरहेका छैनन् ।

‘नाम चलेका खेलाडीमाध्ये मेसी मात्र अहिले ला लिगामा बाँकी थिए र यसो गरी अन्य केही चर्चित खेलाडीले क्लब छा्ड्दै जाने हो भने ला लिगाको भविष्य नै अन्योलमा पर्नेछ । ला लिगाप्रति समर्थकको आकर्षण घट्नेछ,’ बार्सिलोनाका आर्थिक तथा सञ्चार विज्ञ मार्स सेरियाले हालैको अन्तर्वार्तामा भनेका थिए ।

बार्सिलोना र रियाल मड्रिडबीचको ला लिगा भिडन्त एल क्लासिको विश्वका धेरै समर्थकका लागि आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ । करिब एक दशक एल क्लासिको मेसी र रोनाल्डोबीचको भिडन्तका रूपमा समेत रह्यो ।

यसअघि ला लिगाका केही साना क्लबले समेत ला लिगाको गरिमा राखिराख्न पनि बार्सिलोनाले मेसीलाई अन्यत्र पठाउन नहुने सुझाव दिँदै आएका थिए ।

‘ला लिगाले मेसीलाई गुमाउनु हुँदैनथ्यो,’ गेटाफेका अध्यक्ष एन्जेल टोरेसले भने, ‘यो एउटा यस्तो गल्ती हो, जसबाट हामी सबै पछुताउनेछौं । ला लिगाले विश्वकै स्टार खेलाडीलाई गुमाउनुपर्‍यो ।’

१७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका मेसीले १७ वर्षपछि क्याम्प नोउबाट बिदा लिएका हुन् । लिग वान क्लब पिएसजीले मेसीलाई अनुबन्धित गर्ने प्रयास भइरहेको बताएको छ ।