युवा पुस्तामा आकर्षण कम

टोकियो, साउन २० (एएफपी)– युवा पुस्तालाई थप आकर्षित पार्न टोकियो ओलम्पिक २०२० मा स्केटबोर्डिङ, सर्फिङ र स्पोर्ट क्लाइम्बिङलाई समावेश गरियो, तर त्यतिले मात्र पनि जापानी युवा पुस्तालाई यी खेलहरूप्रति आकर्षित भने गर्न सकेन ।

गत साता स्केटबोर्डिङतर्फ २२ वर्षीय युतो होरुगोमीले जापानका लागि यस खेलमा पहिलो स्वर्ण जित्दा १३ वर्षीया मोमिजी निसाहियाले पनि जापानका लागि स्वर्ण जितिन् । उनी जापानबाट ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा कान्छी खेलाडीसमेत भइन् । बुधबारबाट स्केटबोर्डिङका खेलहरू पुन सुचारु भए,जहाँ जापानले अर्को एक स्वर्ण र एक रजत पदक जित्यो । साकुरा योसोजुमीले स्वर्ण जित्दा होकोना हेराकीले रजत पदक जितिन् ।

तर जापानको निशेधाज्ञामा टेलिभिजन हेर्दै समय बिताइरहेका इमिया अजिसाका र उनका अन्य साथीहरूका लागि ओलम्पिक नै  प्राथमिकतामा पर्न सकिरहेको छैन ।

‘कसैले पनि मेरो अगाडि ओलम्पिक खेलको बारेमा कुरा गरेका छैनन्,’ १३ वर्षे इमियाले भने, ‘म युट्युब हेर्दै, भिडियो गेम खेल्दै समय बिताइरहेको छु । म टेलिभिजनमा साथीहरूसँग ओलम्पिकअन्तर्गतको फुटबल फाइनल हेर्ने योजनामा छु । ओलम्पिकभन्दा विश्वकप नै मज्जा लाग्छ ।’

जापानले टोकियो ओलम्पिक २०२० अन्तर्गत सर्फिङमा रजत र कांस्य पदक जित्यो । तर हालैका दिनमा गरिएको सर्वेक्षणले सर्फिङ खेलप्रति पनि युवाको कम आकर्षण देखाएको छ ।

‘मलाई ओलम्पिक मन नपर्ने भन्ने होइन तर मेरा लागि ओलम्पिक त्यति धैरै प्राथमिकता होइन । घरेलु मैदानमा भइरहेको ओलम्पिक खेल हेर्न म इच्छुक छैन,’ २४ वर्षे रेयो कावासाकीले भने, ‘म बिदामा हुँदा साथीभाइसँग घुमघाममा रमाइरहेको हुन्छु । त्यसबाट पनि बचेको समयमा मात्र म ओलम्पिकका खेल हेर्छु ।’

घरेलु मैदानमा भएको ओलम्पिकमा घरेलु युवा समर्थकको कम आकर्षणको मुख्य कारण कोभिड १९ महामारी भएको ओसाका युनिभर्सिटी अफ हेल्थ एन्ड स्पोर्ट्स साइन्सका अध्यक्ष मुनेहेकु हारडाको बुझाइ छ ।

कोभिड १९ महामारीकै कारण टोकियो ओलम्पिक २०२० एक वर्ष पछि धकेलिएको थियो । ओलम्पिक निर्धारित मितिभन्दा पछि सरेको यो नै पहिलो पटक थियो । कोभिड १९ संक्रमणकै कारण अधिकांश खेलस्थलमा दर्शक प्रवेशमा निशेध गरिएको छ । त्यसैले पनि युवा पुस्तामा ओलम्पिकप्रति आकर्षण कम भएको अनुमानसमेत गरिएको छ ।

घरेलु मैदानमा भएको ओलम्पिकमा घरेलु युवा समर्थकको कम आकर्षणको मुख्य कारण कोभिड १९ महामारी भएको विज्ञहरूको बुझाइ छ ।