बार्सिलोनामाथि बायर्नको सहज जित

म्युनिख, (खेलाडी)- रोबर्ट लेवान्डोवस्कीको दुई तथा थोमस मुलरको एक गोलमा बायर्न म्युनिखले मंगलबार च्याम्पियन्स लिगमा बार्सिलोनामाथि सहज जित हात पारेको छ ।

समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा जर्मन बुन्डेसलिगाको महारथी बायर्नले बार्सिलोनालाई ३-० को नतिजामा हरायो ।
 
३४औं मिनेटमा मुलरले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो ।  बार्सिलोनाविरुद्ध मुलरको यो सातौं गोल हो । ५६औं मिनेटमा लेवान्डोवस्कीले बललाई जाली चुमाउदै बायर्नको अग्रता दोब्बर पारेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गरेसँगै बायर्नले सहज जित पक्का गरेको थियो । च्याम्पियन्स लिगमा लेवान्डोवस्कीको ७५औं गोल हो ।

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको बर्हिगमनपछिको पहिलो च्याम्पियन्स लिग भिडन्तमा बार्सिलोना बायर्न सामु निरिह देखिएको थियो । बायर्नविरुद्ध बार्सिलोनाले एउटा पनि पोस्ट आक्रमण गर्न सकेन । 

सोही समूहको अर्को खेलमा गाए राति डिनामो किभ र बेन्फिकाले गोलरहित बराबरी नतिजा निकाले ।