भारतविरुद्ध श्रीलंकाको सान्त्वना जित

कोलम्बो, (खेलाडी)– अभिस्का फर्नान्डो र भानुका राजापाक्षेको अर्धशतक प्रेरणामा श्रीलंकाले वर्षाबाट प्रभावित तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतमाथि तीन विकेटको सान्त्वना जित निकालेको छ ।

घरेलु मैदानमा भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अन्तिम खेलमा डकवर्थ लुइस पद्दतिमा जित निकाल्दै श्रीलंकाले आपूmमाथिको दबाब कम गरेको छ । 

वर्षाका कारण ४७ ओभरमा घटाइएको खेलमा पाएको २ सय २७ रनको नयाँ लक्ष्य श्रीलंकाले ४८ बलअगावै सात विकेटको क्षतिमा पूरा गर्‍यो । फर्नान्डो (७६ रन) र राजापाक्षे (६५ रन) ले दोस्रो विकेटका लागि १ सय ९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । यद्यपि, हारका बावजुद भारत २–१ ले शृंखला आफ्नो बनाउन सफल भयो । 

यो जितबाट श्रीलंकाले विश्वकप २०२३ छनोट चरणअन्तर्गत सुपर लिगमा १० अंक बटुल्यो । श्रीलंकाले सन् २०१७ पछि पहिलो पटक भारतविरुद्धको एकदिवसीय खेलमा जित निकालेको हो । 
 
डेब्यु गरेका राहुल चहरले ३–५४ को प्रदर्शन गरेका थिए । त्यस क्रममा उनले फर्नान्डोको महŒवपूर्ण विकेट लिँदै श्रीलंकालाई दबाबमा पारे पनि रमेश मेन्डिसले अविजित १५ रन बटुल्दै आफ्नो टोलीलाई जित दिलाए । यता श्रीलंकाका स्पिनर अकिला धनञ्जय र डेब्युटेन्ट प्रवीण जयाविक्रमाले समान तीन विकेट लिँदै भारतलाई ४३.३ ओभरमा २ सय २५ रनमै रोके ।
त्यसपछि मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले पनि मध्यम सुरुआत गर्‍यो ।

ओपनर मिनोद भानुका ७ रनमा पहिलो विकेटका रूपमा पवेलियन फर्किंदा श्रीलंकाको खातामा ३५ रन थियो । तर, अर्का ओपनर फर्नान्डोले त्यसपछि ब्याटिङ गर्न आएका राजापाक्षेसँग उत्कृष्ट साझेदारी गर्दै जितनजिक पुर्‍याए । राजापाक्षेले ५६ बल खेल्दा १२ चौकासहित मेडन एकदिवसीय अर्धशतक हिर्काए । उनलाई भारतका डेब्युटेन्ट नै रहेका चेतन सकारियाले पवेलियन फर्काएका थिए । सकारियाले २–३४ को प्रदर्शन गरे । त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको भारतले राम्रो सुरुआत गरे पनि सय मिनेट वर्षाले खेल प्रभावित भएपछि  लय गुमायो ।

भारतका पृथ्वी शाँ ४९ रनमा आउट हुँदै अर्धशतकबाट चुके । त्यस्तै सन्जु सामसनले ४६ रन र सूर्यकुमार यादवले ४० रन बनाउनुबाहेक अन्यले खासै राम्रो ब्याटिङ गर्न सकेनन् । पुछारका ब्याट्सम्यान राहुल चाहरले १३ रन र नवदीप सैनीले १५ रन बनाएपछि भारत सम्मानजनक योगफल बनाउन सफल भएको थियो । यी टोलीबीच तीन खेलको ट्वान्टी–२० आगामी आइतबारदेखि सुरु हुनेछ ।