Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

पुनरागमनमा ज्लाटानको गोल

मिलान, (खेलाडी)- ज्लाटान इब्राहिमोभिचले घुँडाको चोटबाट मुक्त हुँदै गोलका साथ पुनरागमन गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’को खेलमा गए राति लाजियोमाथि २-० को जित हासिल गरेको छ ।

घरेलु सान सिएरो मैदानमा सहज जितका साथ नयाँ सिजनमा सतप्रतिसत यात्रालाई निरन्तरता दिने क्रममा टोलीका लागि अर्को गोल राफेल लियोले गरेका थिए ।

पहिलो दुई खेलमा साम्पडोरिया र काग्लियारीमाथि जित हासिल गरेको टोलीले अघिल्लो सिजनमा पनि पहिलो तीन खेलमा जित हासिल गरेको थियो । लगातारको सिजनमा मिलानले घरेलु लिगका पहिलो तीन खेल जितेको यो पहिलो पटक हो । लाजियोले पनि नयाँ सिजनका अघिल्ला दुई खेलमा जित हासिल गरेको थियो । 

लियोले जारी सिजनमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको अन्तिम मिनेटमा मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचले ६७औं मिनेटमा अर्को गोल गर्दै मिलानको जित पक्का गरे । मिलानका दुवै गोलमा अवसर एन्टे रेबिचले जुटाएका थिए ।

स्टेफानो पियोलीको टोलीले खेलमा गोलका लागि थप अवसर पाएको थियो । तर तिनको उपयोग गर्न नसक्दा टोली जितअन्तर फराकिलो पार्ने मौकाबाट चुक्यो । पहिलो हाफको इन्जुरी समयमा फ्रयांक केसीले प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेर खेर जाँदा मिलान अग्रता दोब्बर पार्ने मौकामा चुकेको थियो । 

इटालियन सिरी ‘ए’मा गए राति नै भएको अर्को खेलमा एएस रोमाले घरेलु मैदानमा सासौलोमाथि २-१ को विजयी नतिजा निकाल्यो । 

ब्रायन क्रिस्टान्टेको गोलमा रोमाले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । जसलाई सासौलोका फिलिप जुरिसिचले ५७औं मिनेटमा बराबरीमा ल्याए । तर स्टेफन अल शारावीले इन्जुरी समयमा गोल गर्दै रोमालाई तीन अंक दिलाए । 

गए रातिका नतिजापछि इटालियन सिरी ‘ए’ अंकतालिकामा समान नौं अंकका साथ रोमा र मिलान शीर्ष दुई स्थानमा छन् । तीन खेलसम्म सतप्रतिसत नतिजा निकालेको अर्को टोली नेपोली समान नौं अंकका साथ तेस्रो स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस

\