बेयरिस्टो, ओक्स र मालनले आइपिएलबाट नाम फिर्ता लिए

लन्डन, (खेलाडी)- ट्वान्टी २० विश्वकप क्रिकेटको तयारीमा केन्द्रित रहने भन्दै  इङल्यान्डका जोनी बेयरिस्टो, क्रिस ओक्स र डेविड मालनले सेप्टेम्बर १९ बाट पुनः सुरु लागेको इन्डियन प्रिमियर लिग (आइपिएल) बाट नाम फिर्ता लिएका छन् ।

मे मा भारतमा कोभिड १९ संक्रमणको दोस्रो लहरले भयावह रुप लिएसँगै रोकिएको आइपिएल अर्को साताबाट युएईमा सुरु हुँदै छ ।

यसअघि इङल्यान्डका जस बटलर, बेन स्टोक्स र जोफ्रा आर्चरले पनि आइपिएलबाट नाम फिर्ता लिएका थिए । इङल्यान्डका ट्वान्टी २० र एक दिवसीय कप्तान इयोन मोर्गानसहित ९ खेलाडी भने आइपिएलमा सहभागी हुनेछन् ।

बेयरस्टो, ओक्स र मालन भारतविरुद्धको पाँचौ टेस्टका लागि इङल्यान्ड टोलीका सदस्य थिए । सो टेस्ट शुक्रबार रद्द भएको थियो । उनीहरु तीनै जना ओमान र युएईले अक्टोबर १७ देखी नोभेम्बर १४ सम्म संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि घोषित इङल्यान्ड टोलीमा अटाएका छन् ।

आइपिएलमा बेयरिस्टो सनसाइजर्स हैदराबाद, ओक्स दिल्ली क्पापिटल्स र मालन पन्जाब किंग्सबाट खेल्ने तय थियो ।

आइपिएलको फाइनल अक्टोबर १५ मा हुने तालिका छ । इङल्यान्डले अक्टोबर २३ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै ट्वान्टी २० विश्वकप क्रिकेटको यात्रा थाल्ने छ ।