पूरा भयो लुकाकुको सपना

लन्डन, (खेलाडी)- एस्टन भिल्लाविरुद्ध सहज जित हात पारेको खेलमा दुई गोल गरेका चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले स्टामफोर्ड ब्रिजमा गोल गर्ने आफ्नो बच्चा देखिको सपना साकार भएको बताएका छन् ।

इङलिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शनिबार राति एस्टन भिल्लालाई ३-० ले हराएको थियो । यस खेलसँगै लुकाकुले चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आफ्नो गोल खाता खोलेका थिए ।

प्रिमियर लिगको नयाँ सिजनमा अपराजित यात्रालाई निरन्तरता दिएको थोमस टचेलको टोली दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको चेल्सीले चार खेलमा १० अंक जोडेको छ । शीर्ष टोली म्यानचेस्टर युनाइटेडको पनि समान १० अंक छ । साविक विजेता म्यानचेस्टर सिटी ९ अंकका साथ तेस्रो स्थानमा छ ।

‘११ वर्षको उमेर देखि नै चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गोल गर्ने मेरो सपना थियो’, लुकाकुले भने, ‘मैले यो उपलब्धि हासिल गर्न धेरै मेहनत गरेको छु । मेरो खेल जीवनमा धेरै उतारचढाव आयो । तर मैले अहिले आफ्नो स्वभाविक प्रदर्शनलाई निरन्तरता दिइरहेको छु । यो राम्रो सुरुआत हो । तर हामीले अझ मेहनत गर्न आवश्यक छ । यो वर्ष प्रियिमर लिग धेरै प्रतिस्पर्धात्मक छ । उपाधिका दाबेदार टोलीको संख्या विगत भन्दा धेरै छ ।’

लुकाकु यसै सिजन इन्टर मिलानबाट चेल्सीमा अनुबन्ध भएका थिए । सन् २०११ मा पहिलो पटक चेल्सी भित्रिएका लुकाकुले १० खेल खेले पनि घरेलु मैदान स्टामफोर्ड ब्रिजमो गोल गर्न सकेका थिएनन् ।

सन् २०१४ मा चेल्सीबाट एभर्टन गएका लुकाकु सन् २०१७ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए । सन् २०१९ मा युनाइटेडबाट इन्टर मिलानमा अनुबन्ध भएका लुकाकु यसै सिजन पूर्व क्लब चेल्सी फर्किएका थिए ।