Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

उल्फसबर्गको सतप्रतिसत नतिजा

म्युनिख, (खेलाडी)- उल्फसबर्गले जर्मन बुन्डेसलिगाको नयाँ सिजनमा सुखद सुरुआतलाई निरन्तरता दिने क्रममा शनिबार नवप्रवेशी ग्रेउथर फुर्थमाथि २-० को अवे जित हासिल गरेको छ ।

चार खेलको समाप्तीमा टोली १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा कायम छ । अवे मैदानमा उल्फसबर्गलाई जित दिलाउन शनिबार लुकास एनमेचा र वाउट वेघहर्सटले गोल गरे । वेघहर्सटको पासमा १०औं मिनेटमा एनमेचाले टोलीलाई अग्रता दिलाएका थिए । जहाँ वेघहर्सटले इन्जुरी समयमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । 

यसैगरी बोरुसिया डर्टमन्ड र मेइन्जले पनि नयाँ सिजनको सुखद सुरुआतलाई निरन्तरता दिने क्रममा शनिबार आआफ्ना खेलमा जित हासिल गरे । चार खेलको समाप्तीमा तीन/तीन जित हासिल गरेका डर्टमन्ड र मेइन्ज समान ९ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । 

गोलको वर्षा भएको खेलमा डर्टमन्डले बायर लेभरकुसनमाथि ४-३ को जित हासिल गर्यो भने मेइन्जले होफेनहेइममाथि २-० को नतिजा निकाल्यो । 

लेभरकुसनमा सुरुमै गोल खाए पनि डर्टमन्डले इर्लिङ ब्राउट हल्यान्डको दुई तथा जुलियन ब्रान्ड्ट र राफेल गुइरेरोले एक/एक गोल गरेका थिए । घरेलु टोलीका लागि फ्लोरियन विट्ज, प्याट्रिक सिक र मौसा डियाबीले एक/एक गोल गरे । 

यसैगरी होफेनहेइममा मेइन्जले जित हासिल गर्दा जोनाथन बुर्काट र मार्कुस इन्भार्टसेनले गोल गरेका थिए ।

जर्मन बुन्डेसलिगामा शनिबारै सम्पन्न अन्य खेलमा युनियन बर्लिनले औसबर्गसँग गोलरहित बराबरी नतिजा निकाल्दा फ्रेइबर्ग र एफसी कोलोग्नले १/१ को बराबरी खेले ।  

प्रतिक्रिया दिनुहोस

\