Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

चेन्नई आइपिएलको फाइनलमा

दुबई, (खेलाडी)- अन्तिम ओभरमा महेन्द्रसिंह धोनीले तीन चौका प्रहार गरेपछि चेन्नई सुपर किङग्सले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

धोनीले ६ बलमा १८ रन प्रहार गरेपछि चेन्नईले एक सय ७३ रनको लक्ष्य २०औं ओभरको चौथो बलमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । धोनीले अन्तिम समयमा क्रिजमा आएर तीन चौका र एक छक्का प्रहार गरे । 

टोलीका लागि ओपनर ऋतुराज गाइकवार्डले ५० बलमा पाँच चौका र दुई छक्कासहित ७० रन बनाएर जितका लागि बलियो आधार निर्माण गरेका थिए । जसमा रोबिन उथप्पाले ६३ रनको उच्च योगदान गरे । उथप्पाले ४४ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । 

चेन्नईका लागि मोइन अलीले १२ बलमा दुई चौकासहित १६ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

दिल्लीका टम करनले तीन विकेट लिँदा एन्रिक नर्टजी र अभेश खानले एक/एक विकेटमा नाम लेखाए । 

यसअघि ओपनर पृथ्वी शाँ र कप्तान ऋषव पन्तले अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो । 

पृथ्वीले ३४ बलमा सात चौका र तीन छक्कासहित ६० रनको योगदान गर्दा कप्तान ऋषवले ३५ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५१ रन जोडे । 

दिल्लीका लागि सिमरन हेटमायरले २४ बलमा तीन चौका र एक छक्कासहित ३७ रनको योगदान गर्दा अक्षर पटेलले १० रन जोडे । दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

चेन्नईका जोस हाज्लेउडले दुई विकेट लिए भने रविन्द्र जडेजा, मोइन अली र ड्वायन ब्राभोले एक/एक विकेटमा नाम लेखाए । 

विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको इलिमिनेटरमा सोमबार रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरको विजेताले बुधबार हुने दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । 

चेन्नईले भने शुक्रबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।  

प्रतिक्रिया दिनुहोस

\