Breaking News
गृहपृष्ठ/ भलिबल
Image
Image
Image
Image
- खेलाडी

खेलकुद माथि उकास्ने हाम्रो उद्देश्य हो

नेपाली खेलकुदमा आश्रेयता कार्की चौधरीको नाम सुनिन थालेको धेरै भएको छैन । नेपाली क्यालेन्डर वर्षको सुरूआतमा भएको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितासँगै आश्रेयताको अनुहार खेलकुदमा देखिन थालेको थियो । पाँच महिनाको छोटो अवधिमै अहिले उनी नेपाली खेलकुदमा चर्चित पात्रका रूपमा स्थापित भइसकेकी छन् । 

नेपाली फुटबलमा पहिलो फ्रेन्चाइज प्रतियोगिता गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष आश्रेयताको नेतृत्वमा अर्को त्यस्तै लिग हुँदै छ भलिबलमा । नेपालको राष्ट्रिय खेल हुनाका बावजुद व्यावसायिक प्रतिष्ठानहरूको खासै रोजाइमा नपरेको भलिबललाई आश्रेता नेतृत्वको कम्पनीले रोजेको छ । अझ क्रिकेट र बास्केटबलमा पनि भव्य फ्रेन्चाइज प्रतियोगिता गर्ने योजना अघि राखेको छ । 

देशकै सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीकी पत्नी आश्रेयताको खेलकुदमा आक्रामक प्रवेशले खेलकर्मीमा बेग्लै उत्साह सिर्जना गरेको छ । आश्रेयताको आगमनलाई खेलक्षेत्रले चौधरी ग्रुपको आगमनका रूपमा पनि अथ्र्याउने गरेको छ । तर आफै पनि बास्केटबलको खेलाडी रहिसकेकी आश्रेयता यस्तो मान्न तयार छैनन् । आफैंमा रहेको खेलाडी मन, स्क्वास खेलाडी पति निर्वाणको साथ तथा क्रिकेटका पुराना खेलाडी सुदीप शर्मा र टेनिस खेलाडी श्रीयान्ससहितको गठजोडबाट नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको सोच विकास भएको उनी बताउँछिन् । एनएसएल, हालै घोषित एनएसएल भलिबल लिग तथा योजनामा रहेका अन्य प्रतियोगिताहरूबारे आश्रेयतासँग खेलाडीका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश: 

नेपाली खेलकुदमा तपाईं नयाँ अनुहार हुनुहुन्छ । तर, चाँडै चर्चित हुनुभयो नि ?

- यो सकारात्मक कुरा हो । म महिला, नेपालमा खेलकुद एकदमै पुरूषको प्रभावमा छ । जहाँसम्म मेरो नामको ‘हाइप’को कुरा छ, मैले त त्यस्तो अपेक्षा गरेको थिइनँ । तर त्यो अपेक्षा गरेको पनि होइन । हाम्रो मुख्य लक्ष्य त खेलकुदको माध्यमबाट युवा विकास गरौं भन्ने हो ।

हामीले यो सुरू गर्दा सुदीपजी क्रिकेटबाट, श्रीयान्सजी टेनिस खेलाडी, मेरो पति निर्माणजी स्क्वास खेलाडी, म बास्केटबल खेलाडी थियौं । हामी सबै खेलकुदमा रूचि भएका मानिस हौं । 

हामी सबैलाई नेपालमा खेलकुद र खेलाडीहरू व्यावसायिक रूपमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा विकास हुन नसकेको लाग्यो । त्यो हुनाले खेलकुद क्षेत्रमा केही गरौं भनेर हामीले सोचेका हौं । 

छलफल गर्दा सबैले ‘तपाईं लिड गर्नुस्’ भन्नुभयो । सुरूमा आत्मविश्वास थिएन । गर्दै आएपछि किन नहुने भनेर आत्मविश्वास आयो । यसरी पहिलो एनएसएल फुटबलका लागि हामी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पासँग भेटेर निर्णय गर्‍यौं । 

सुरुमा तीन वर्षअघि कर्माजीले हामीलाई ‘अप्रोच’ गर्नुभएको थियो । त्यो बेला हामीले केही गर्छांै भनेका थियौं । त्यही भएर लिग गरौं न त भनेर सोच्यौं । 

तपाईंले बास्केटबल कहाँबाट कुन स्तरमा खेल्नुभयो ?

- म राजस्थानमा बोर्डिङ स्कुलमा पढ्थें । नेपालीहरू खेलकुदमा धेरैजसो राम्रो नै हुन्छन् । हाम्रो स्कुलको बास्केटबल टिममा धेरैजना नेपाली थियौं । मैले स्कुलको त्यो टिमबाट जिल्ला र राज्यस्तरका दुवै प्रतियोगिताहरू खेलें । 

राष्ट्रिय प्रतियोगिताका लागि पनि छानिएको थिएँ । तर म नेपाली भएकाले उनीहरूको राष्ट्रिय खेल्न मिलेन र खेलिनँ । स्कुल सकिएपछि म लन्डन पढन गएँ । त्यसपछि बास्केटबललाई निरन्तरता दिन सम्भव भएन । अहिले मनोरञ्जनका लागि कहिलेकाहिँ हामी बास्केटबल खेल्छौं, तर करिअरकै रूपमा अघि बढेन । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक घरानाको मान्छे तपाईं, अरू व्यावसायिक प्रतिष्ठानसँग डिल गर्दा तपाईं वा उनीहरूलाई प्रतिस्पर्धाको भावना आउँदैन ?

- म एउटा कुरा फेरि प्रस्ट्याउँछु । यो नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी चौधरी ग्रुपको होइन । म चौधरी ग्रुपको हो, तर कम्पनी होइन । जे भए पनि चौधरी ग्रुपको भएर हामीले मान्छेहरू चिन्दा सहयोग पुगेको छ । व्यावसायिक रूपमा अगाडि बढाउन ‘कनेक्सन’ त चाहियो नि । 

कसैलाई ‘अप्रोच’ गर्दा मलाई वा उहाँहरूलाई प्रतिस्पर्धाको भावना भएजस्तो लागेन । धेरै जनाले आफैं पनि ‘इन्ट्रेस्ट’ देखाउनुभयो । एनएसएलको पहिलो संस्करणमा हामीले टिम घोषणा गरिसकेपछि धेरै बिजनेस घरानाले हामीकहाँ आएर ‘टिम बढाउनुस्, हामीलाई टिम दिनुस्’ भनेर भन्नुभयो । हामीले ‘यो वर्ष घोषणा भइसक्यो, मिलेन’ भनेपछि अर्को वर्ष दिनुस् भन्नुभएको छ । 

धेरैजनाले इच्छा देखाउनुभएकाले हामीले अर्को संस्करणमा टिम बढाउँछौं भनेका छौं । धेरै व्यावसायिक घरानाबाट माग आयो । 

भनेपछि अर्को वर्ष एनएसएलमा टिम बढ्ने भयो त ?

- हो, धेरै त होइन । तर कम्तीमा दुईवटा टिम चाहिँ बढाउँछौं । 

फुटबलपछि अर्को फ्रेन्चाइज प्रतियोगितामा हात हालिरहनुभएको छ । कहाँबाट आयो यो उर्जा ?

- युवा विकासका लागि खेलकुद भन्ने हाम्रो उद्देश्य हो । तर एउटामात्र खेलमा विकास गरेर युवा विकास गर्छु भन्न मिलेन नि । सबै खेलको विकास गर्नुपर्‍यो नि । त्यसैले नेपालमा लोकप्रिय खेलहरू के के छन् भन्ने पहिचान गरेर त्यसलाई माथिल्लो स्तरमा लैजाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

नेपालका राष्ट्रिय टिमहरूलाई पनि ठूलो संख्याका खेलाडीको पुल दिन सकौं । हरेक कुरामा हाम्रो एनएसएलले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको वरीयता अलिकतिमात्र माथि गयो भने मलाई त असाध्यै खुसी लाग्छ । हाम्रो मिहिनेतले गर्दा दुई वा पाँच स्थान माथि पुग्यो भने केही गर्‍यौं भन्ने हुन्छ । 

नेपालमा खेलाडीहरूमा प्रतिभा नभएको होइन, तर उहाँहरूले सही अवसर नपाएजस्तो मलाई लाग्छ । यहाँ कति बच्चाहरू सानैदेखि खेलकुदमा राम्रा हुन्छन् । तर आमाबाबुले खेलकुदमा करिअर छैन, पैसा कमाउँदैन के गर्छौ भनेर प्रोत्साहन गर्दैनन् । 

विदेशतिर हेर्ने हो भने देशको सबैभन्दा ठूलो सुपर हिरो खेलाडी हुन्छन् । खेलाडीहरूले उदाहरण बनेरै देशका सामाजिक अभियानलाई नेतृत्व गरिरहेका हुन्छन् । उहाँहरू एकदमै भ्यालुड हुनुहुन्छ । यहाँ एक-दुई जनाबाहेक खेलाडीको महत्व भएको छैन । क्रिकेटमा एक-दुई जनाबाहेक केही छैन । महिलाको त झनै छैन । 
त्यसैले एनएसएल सुरु गर्दा मलाई महिलाको पनि गर्छु भन्ने थियो । त्यसैले भलिबलमा महिला लिग घोषणा गर्दा मलाई सबैभन्दा ठूलो खुसी भएको थियो । 

एनएसएल फुटबलमा घाटा भयो भन्ने छ । फेरि भलिबलमा आउनुभयो नि ?

- खेलकुदको एउटा इभेन्ट दर्शकविहीन गर्नुपरेपछि अब तपाईं नै सोच्नुस् । त्यो त भइहाल्छ । तैपनि हामीले इभेन्ट रद्द गरेनौं । 

हामीले मार्चमा लिग घोषणा गर्दा कोभिड-१९ का जम्मा ६५ केस थियो, तर एक महिनामा लकडाउन हुँदा ८ हजार केस पुग्यो । एकदमै चाँडो बढ्यो । सोच्नै नसकिने कुरा भयो । त्यो हाम्रो पहिलो इभेन्ट थियो, सोचेजस्तो गर्न सकिएन । एकदमै बोर भयो । 

त्यसमा मैले हाम्रो फ्रेन्चाइज टिम मालिकहरूलाई पनि धन्यवाद भन्नुपर्छ । उहाँहरूको साथ नभएको भए यो सम्भव थिएन । व्यावसायिक प्रतिष्ठानहरूको त्यो साथ अत्यन्तै महत्वपूर्ण छ । त्यसैले गर्दा ने हामीले गर्न सक्यौं । उहाँहरूले खेल्दैनौं भनेको भए हामीले मात्र सक्ने थिएनौं । 

एउटा लिग विकास गर्ने भनेको एकै वर्षमा हुँदैन । यसलाई लामो समय लाग्छ । त्यसैले हामीले भलिबलसँग पनि १० वर्षे सम्झौता गरेका हौं । खेलकुदलाई विकास गर्दा दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्छ । अल्पकालिन हाइप क्रिएट गर्न खोज्यो भने हुँदैन । दीर्घकालीन योजना हुनुपर्छ । 

फुटबल आयोजनामा एउटा स्तर सेट गरेपछि भलिबलमा आउनुभयो । अब क्रिकेट र बास्केटबलमा पनि आउँदै हुनुहुन्छ रे नि ? 

- क्रिकेट चाहिँ हामीलाई एकदमै रुचि भएको क्षेत्र हो । एउटा वर्षमा तीनवटा इभेन्ट गर्ने हाम्रो सोच हो । भलिबल अलि चाँडै गर्ने प्लान गरेका थियौं । तर त्यो बेला कोभिड केस धेरै थियो र नेपाल भलिबल संघको समय पनि नमिलेका कारण नोभेम्बरमा मात्र गर्नसक्ने भयौं । नोभेम्बर देखि डिसेम्बरसम्म भलिबल नै हुने भएकाले यो वर्ष क्रिकेट गर्न सकिएन । तर अर्को वर्ष चाहिँ क्रिकेट पक्कै गर्नेछौं । फुटबल र भलिबलले निरन्तरता पाउँछ ।  

बास्केटबल चाहिँ हल्लामात्र हो त ?

- बास्केटबल पनि गर्ने हाम्रो प्लान छ । संघसँग कुरा गर्दैछौं । संघसँग कुरा मिल्यो भने हामी बास्केटबल पनि गर्छौ । 

चौधरी ग्रुप आम्दानी नहुने (नकमाउने) ठाउँमा हात हाल्दैन भन्छन् । तपाईंहरू त आउनुभयो नि ?

- हाम्रो मेन मोटिभ यसमा आउनका लागि पैसा त हुँदै होइन । पैसा नहुने ठाउँमा चौधरी ग्रुप आउँदैन भन्ने तपाईंको भनाइसँग पनि मेरो सहमति छैन । 

हामीले चौधरी फाउन्डेसनमार्फत धेरै परोपकारी काम गरेका छौं । हामीले विभिन्न सामाजिक कामदेखि भुँइचालो गएका बेला राहत र पुनर्निर्माणमा धेरै काम गर्‍यौं । महिला सीप विकासदेखि हरेक क्षेत्रमा काम गरेका छौंं । 

खेलकुदलाई पनि मैले फाउन्डेसनको पार्टजस्तो लिएको छु । आफू घाटामा भए पनि मैले टिम मालिकलाई घाटामा लान मिल्दैन । टिम मालिकले चाहिँ पैसा कमाउनुपर्छ । 

फ्रेन्चाइज प्रतियोगिताहरू आयोजना गर्ने भनेकै कमाउनका लागि हो । तपाईंहरूले कमाउनुभएन भने व्यावसायिकता चाहिँ कसरी हुन्छ त ?

- कमाएन, घाटामा गयो भने त एकै संस्करणपछि रोकिइहाल्छ कि । यसको निरन्तरताका लागि पनि पैसा त बनाउनै पर्छ । तर हामी यहाँबाट कमाएको पैसा फेरि यसैमा हालेर खेलकुदलाई नै माथि उचाल्न उपयोग गर्छौं । हामी त्यही योजनाबाट आएका हौं । 

तपाईंहरूको सम्झौतामा भलिबल संघको अर्को क्लब प्रतियोगितामा प्रायोजन गर्ने भन्नुभएको छ । आफ्नै प्रतियोगितालाई सौता हाल्ने काम भएन र ?

- मलाई त्यस्तो लाग्दैन । त्यो हामीले चौधरी ग्रुपबाट एउटा प्रायोजन गरेर उहाँहरूलाई सपोर्ट गर्ने भनेका छौं । त्यतिमात्र हो । भलिबललाई सपोर्ट गरेको हो, भलिबल संघलाई सपोर्ट गरेको हो ।

फ्रेन्चाइज प्रतियोगिताले परम्परागत ढाँचाको क्लबहरूलाई अन्याय गरिरहेको छ भन्छन् नि ?

- मलाई चाहिँ त्यस्तो लाग्दैन । क्लबहरूलाई पनि यस्तो नलाग्नुपर्ने हो । हाम्रो टिममा पनि क्लबहरूकै खेलाडीले खेल्ने हो । त्यहाँ उहाँहरूको खेलाडी लाभान्वित हुन्छ, यसको मतलब क्लब पनि लाभान्वित हुन्छ । 

खेलाडीले यहाँ उच्चस्तरका अन्य विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दा राम्रो अनुभव पाउँछन् । त्यसको फाइदा क्लबहरूलाई नै पुग्ने हो । 

तैपनि हाम्रो आगमनले आफू छायाँमा परेको जस्तो लाग्छ भने उहाँहरूले नै आफ्नो खेलमा आफ्नो स्तर बढाउनुपर्छ । उहाँहरूले यत्रो वर्ष गरिसक्नुभएको छ । अब थप इफोर्ट लगाउनुपर्ने भएको हो कि । त्यसतर्फ सोच्नुपर्‍यो । 

भलिबल प्रतियोगितामा कति टिम हुन्छन् ?

- महिला र पुरुष दुवैतर्फ सात/सात टिम हुन्छन् । 

एनएसएलकै टिम हुन्छन् कि नयाँ हुन्छन् ?

- मालिकहरू नयाँ पनि हुन सक्छन्, कोही पुरानै पनि हुन सक्छन् । भर्खर प्रतियोगिता घोषणा गर्‍यौं । अब मालिकहरूलाई अप्रोच गर्छौं, त्यसपछि थाहा हुन्छ । 

महामारी उत्कर्षमा हुँदा पहिलो प्रतियोगिता नै भव्य गर्नुभयो । अहिले त महामारी ओरालोलाग्दो छ । तुलनात्मक रूपमा सहज समयमा गर्न लागेको भलिबल अझै माथिल्लो स्तरको हुन्छ भनेर आशा गर्न मिल्छ ?

- फुटबलका लागि एउटा राम्रो ठूलो रंगशाला थियो । भलिबलको कभर्डहल क्षमता धेरै सानो छ । दर्शकको हिसाबले हेर्ने हो भने भबिललमा नहोला । 

मैले सुनेअनुसार पोखरामा भलिबलको क्रेज राम्रो अनि कभर्डहल पनि राम्रो छ रे । 

सबै खेललाई अली ठूलो बनाउन भौतिक पूर्वाधार पनि चाहियो । त्यसैले हामीले केही वर्षपछि लिग जसरी विकास हुँदै जान्छ, त्यो अनुसार आफैंले केही पूर्वाधार बनाउनुपर्छ भन्ने योजना बनाएका छौं । भौतिक पूर्वाधार बनाउने हाम्रो एकदमै चाहना छ । खेलकुदलाई माथि लान पूर्वाधार पहिलो आवश्यकता हो । कसैले प्रतियोगिता गर्छु भने पनि पूर्वाधार भएन भने सक्दैन । 

अहिले ठूलो कभर्डहल नभएका बेला कोभिडका कारण सामाजिक दुरी कायम गर्नुपर्दा त झन कति मानिस अटाउलान् । भलिबलका लागि पनि कभर्डहलहरू एकदमै साना छन् । अर्को वर्षदेखि हामी होम एन्ड अवे गर्ने योजनामा छौं । सुदीपजीले भनिसक्नुभएको छ । त्यसका लागि त झनै गाह्रो हुन्छ । किनकि काठमाडौंबाहिर त पोखराबाहेक अरू ठाउँमा झनै पूर्वाधारको समस्या छ ।  

भलिबलमा स्तरीय प्रतियोगिता गर्ने हो भने नेपालबाटै खेलाडी नपुग्ला, विदेशी खेलाडी ल्याउने तयारी कस्तो छ ? कस्ता विदेशी खेलाडी आउँछन् ?

- नेपाल भलिबल संघले प्राविधिक पार्टनरको रूपमा नेपाली तथा विदेशी खेलाडीहरू मिलाउने भन्नुभएको छ । उहाँहरूले पहल गर्ने सम्झौता भएको छ । 

टिम मालिकले एनएसएलमा जस्तै आफैं विदेशी खेलाडी ल्याउन चाहनुभयो भने आफै पनि गर्नुहुन्छ । नत्र भलिबल संघले सहयोग गर्ने भन्ने छ । 

भनेपछि एनएसएल टेलिभिजनमा हेरेर चित्त बुझाएकाहरूले भलिबलको मज्जा पनि कभर्डहलकै कारणमात्र लिन नपाउने भए त ?

- नोभेम्बरमा पानी पर्ने सिजन होइन । बाहिर पनि इभेन्ट गर्न मिल्छ । त्यसो भयो भने मागअनुसार बाहिर पनि गर्न सक्छौं । अहिले त भर्खर घोषणा गरेका छौं, भलिबल संघसँग सल्लाह गरेर बाहिर गर्ने विकल्प पनि खुला राख्छौं । कभर्डहलले थेग्नै नसक्ने गरी दर्शकको चाप भयो र सबथोक मिल्यो भने बाहिर पनि गर्न सकिन्छ । 

तपाईंहरूको आगमनबाट भलिबलको व्यावसायिकता उचाल्न सहयोग पुग्छ भनिएको छ । कसरी ?

- मैले सबैभन्दा ठूलो उदाहरण दिन सक्ने भनेको एनएसएल फुटबल नै हो । व्यावसायिक त भयो नि । सही मान्छेहरू जोडियो र सही मान्छेहरूले सहयोग गर्नुभयो भने त्यसरी नै व्यावसायिक हुने हो । 

खेललाई उच्च स्तरमा लानका लागि व्यावसायिक प्रतिष्ठानहरूले सहयोग गर्नुपर्‍यो । एनएसएल फुटबल हुँदा सहभागी चार टिम सोल्टी होटलमा बस्नुभएको थियो । टिम मालिकले दिनुभएको सुविधा राम्रो थियो । यसअघि नेपालमा त्यस्तो भएको मलाई थाहा थिएन । 

खेलाडीलाई ‘भ्यालुड’ पनि फिल गराउनुपर्छ । जुन हाम्रो खेलाडीको अक्सन भयो, त्यसमा बिडिङ भयो । त्यो पनि पहिला भएको थिएन नि । मैले कति खेलाडीसँग कुरा गर्दा उहाँहरू निकै खुसी हुनुहुन्थ्यो । 

त्यही कुरा भलिबलमा किन हुँदैन त ? हामी फुटबलमा जसरी नै भलिबलमा पनि अक्सन गर्छौं । खेलाडीले कमाउने बाटो बढ्यो नि । यसरी व्यावसायिक हुन्छ जस्तो मलाई लाग्छ । 

अन्तमा कसैलाई केही भन्न चाहनुहुन्छ ?

साथ दिनुस्, समर्थक भनेको धेरै महत्वपूर्ण हो, हरेक खेललाई । फुटबल दर्शकविहीन गर्नुपर्दा हामीलाई एकदमै नराम्रो लागेको थियो । तर, आआफ्नो ठाउँबाट सबै खेलप्रेमीले अलिकति पहल गर्नुभयो भने खेलकुदलाई माथिल्लो स्तरमा पुर्‍याउन सकिन्छ । म सबै पक्षलाई यही अनुरोध गर्न चाहन्छु । 

प्रतिक्रिया दिनुहोस

\