म रमाइलो गर्नमात्र ओल्ड ट्राफोर्ड आएको होइन : रोनाल्डो

लन्डन, (खेलाडी)- पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रमाइलो गर्न मात्र ओल्ड ट्राफोर्ड नफर्किएको बताएका छन् ।

रोनाल्डोले प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्धको खेलसँगै युनाइटेडबाट पुनरागमन गर्ने सम्भावना छ । युनाइटेडबाट पहिलो पटक २००३ देखि २००९ सम्म खेल्ने क्रममा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । 

‘म क्षमतावान छु,’ रोनाल्डोले भने, ‘म सतप्रतिशत दिन तयार छु ।’ 

रोनाल्डोलाई युनाइटेडले इटालियन सिरी ‘ए’को क्लब युभेन्टसबाट भित्र्याएको हो । जुन यस सिजन सरुवा बजारकै सबै भन्दा आश्चर्यजनक सरुवा थियो । 

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डो आफूहरुसँगै रहनेमा प्रतिबद्ध रहेको बताएको केही दिन नबित्दै रोनाल्डो क्लब छोड्ने मनस्थितीमा रहेको खबर सार्वजनिक भएको थियो । म्यानचेस्टर सिटीले पनि रोनाल्डोको अनुबन्धनमा इच्छा देखाएको थियो । तर औपचारिक प्रस्ताव भने गरेको थिएन । 

रोनाल्डोले सन् २००९ मा युनाइटेड छोडेका थिए । युनाइटेडले पछिल्लो पटक सन् २०१२-२०१३ सिजनमा प्रिमियर लिग जितेको थियो । त्यसयता युनाइटेडले लिगमा आफ्नो सुखद उपस्थिती जनाउन सकेको छैन ।

‘म यहाँ रमाइलो गर्न मात्र आएको होइन । म पहिलो पटक युनाइटेडको जर्सीमा मैदान उत्रन लागेको होइन । मैले ओल्ड ट्राफोर्डमा एक पटक आफूलाई प्रमाणित गरिसकेँ । म पुनः जित्ने लक्ष्यका साथ युनाइटेड फर्किएको हुँ । मेरो लागि पनि यो विशेष अवसर हो,’ रोनाल्डोले भने ।