दक्षिण कोरियाको अपराजित यात्रा कायम

सियोल, (खेलाडी)- सन ह्युङ-मिनको निर्णायक गोलमा कोरियाले कतार विश्वकप २०२२ को एसियाली छनोटमा अपराजित यात्रालाई कायम राखेको छ । 

एसियाली छनोट अन्तर्गत बिहीबार दक्षिण कोरियाले सिरियामाथि २-१ को जित हात पारेको छ ।

४८औं मिनेटमा वाङ इन बेओमले दक्षिण कोरियाका लागी पहिलो गोल गरेका थिए । ८४औं मिनेटमा ओमर खिब्रिनले सिरियालाई खेलमा फर्काए ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सनले गरेको गोलमा दक्षिण कोरियाले अपराजित यात्रा कायम राखेको थियो ।

छनोट चरणका तीन खेलमा  दुई जित र एक बराबरीको नतिजापछि दक्षिण कोरिया सात अंकसहित दोस्रो स्थानमा छ । जुन तीन खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा बसेको इरान भन्दा दुई अंक कम हो । सिरिया भने एक बराबरी र दुई हारपछि एक अंक बटुल्दै अन्तिम स्थानमा छ ।