मेसी नायक बन्दा अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज

रियो दी जेनेरियो, (खेलाडी)- लियोनेल मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेपछि आइतबार विहान अर्जेन्टिनाले १० खेलाडीमा सिमित इक्‍वेडरमाथि क्‍वार्टरफाइनलमा ३-० को जित हासिल गर्दै २८ वर्षमा पहिलो कोपा अमेरिका उपाधि जित्‍ने आशा जीवित राखेको छ ।

खेलको सुरुमै मेसीको प्रहार पोष्‍टमा लागेर फर्किँदा अर्जेन्टिना निराश भएको थियो । तर मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा मेसीकै पासमा रोडरिगो डी पाउलले पहिलो अन्तर्राष्‍ट्रिय गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

समय सकिन ६ मिनेट बाँकी रहँदा मेसीकै पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जहाँ इन्जुरी समयको तेस्रो मिनेटमा मेसीले फ्रिकिकमा उत्कृष्‍ट गोल गर्दै अर्जेन्टिनाको प्रभावशाली जित पक्का गरे । 

मेसीले गोल गर्नुभन्दा एक मिनेट अगाडि पिइरो हिन्कापीले रातो कार्ड सामना गरेपछि इक्‍वेडर १० खेलाडीमा सिमित भएको थियो । 

मंगलबार हुने सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ । कोलम्बियाले आइतबार विहानै भएको क्‍वार्टरफाइनलमा उरुग्वेमाथि पेनाल्टी सुटआउटसम्म प्रतिस्पर्धा गर्दै ४-२ को जित हासिल गरेको थियो ।