संगीता बस्याल

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका सदस्य संगीता बस्याल दुई वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता खेलाडी हुन् । 

सन् २०१९ मा २० वर्षपछि घर फर्किएको सागमा नेपाली तेक्वान्दोले आशातीत नतिजा हासिल गरेको थियो । तथापि, तेक्वान्दोबाट पदक आशा गरेका केही खेलाडी चुके । 

पाएका अवसरमा भने उनी खरो उत्रिएको यथार्थ पनि लुकेको छैन । 

संगीताले भने अवसर सदुपयोग गरिन् । साग अघि कमैले मात्र संगीताबाट स्वर्ण पदक अपेक्षा गरेका थिए । तर, उनले सबैको अनुमान गलत सावित गरिदिइन् । राष्ट्रिय टोलीबाट लगातार सात वर्ष संघर्ष गरेपछि उनले त्यो सफलता पाएकी हुन् । उनको करियरमा कमै मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा छन्, त्यसका कारण राम्रो नतिजा पनि कम हुनु स्वाभाविक नै रहन्छ । 

लामो समयसम्म राष्ट्रिय टोलीबाट खेले पनि सिमित अवसर र एक्सपोजरका कारण उनले खासै सफलता आफ्नो नाममा लेखाउन सकेकी छैनन् । तर, पाएका अवसरमा भने उनी खरो उत्रिएको यथार्थ पनि लुकेको छैन । 

साग अघि कमैले मात्र उनलाई स्वर्ण पदकको दाबेदार मानिरहँदा संगीता स्वयम भने विश्वस्त थिइन । स्वर्ण पदक जित्नेमा आत्मविश्वासी उनलाई गुरुहरुको विश्वास पनि जित्नु थियो । किनकी होचो कदका कारण यसै पनि उनले अन्यको दाँजोमा कममात्र अवसर पाउने गरेकी थिइन ।

संगीताको तौल समूहमा देशभित्र निक्कै कडा प्रतिस्पर्धा हुने गर्छ । तेक्वान्दो खेलमा उचाईको ठूलो महत्व हुन्छ । तर, संगीता भने होचो कदकी थिइन् । त्यसैले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा उनले कमै मात्र अवसर पाउँथिन् ।

‘उचाईका कारणले अन्तर्राष्ट्रिय प्रतियोगितामा कमै मात्र अवसर पाउथेँ । तर पाएका अवसरमा शतप्रतिशत दिने प्रयास गरेँ । सागमा जितेको स्वर्ण त्यसैको परिणाम हो,’ संगीताले खेलाडीसँग भनिन् । 

लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन । त्यसमाथि पनि सागमा स्वर्ण जित्ने त परैको कुरा रह्यो । तर, पछि उनका उद्देश्यहरु फेरिए । समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइन् ।

संगीताले ६२ केजी तौल समूहमा भारतीय खेलाडीलाई हराउँदै सागमा स्वर्ण पदक जितेकी थिइन् । फाइनलमा उनले भारतीय प्रतिद्वन्द्वी गगनजोट गिललाई १९-८ को नतिजामा पछि पार्दै स्वर्ण पदकसँगै घरेलु समर्थकको मन पनि जितिन् । 

खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन । त्यसमाथि पनि सागमा स्वर्ण जित्ने त परैको कुरा रह्यो । तर, पछि उनका उद्देश्यहरु फेरिए । समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइन् ।

शरीरले साथ दिएसम्म देशका लागि खेल्दै पदक जित्ने उनको अठोट छ । सुरुमा उनले मनोरञ्जनका लागि मार्सल आर्ट्स खेलिन्, जुन अहिले उनको दिनचर्या बनिसकेको छ । पछिल्लो समय कोभिड १९ महामारीका कारण कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भएका छैनन् । तत्कालै हुने अवस्था पनि छैन । तर, पनि उनी नियमित अभ्यास गर्छिन् । 

‘म मेरो विभाग एपिएफमा नियमित अभ्यास गरिरहेको छु । नजिकै कुनै प्रतियोगिता त छैन । तर, राष्ट्रिय खेलाडी भइसकेपछि फिट हुनुपर्छ,’ संगीताले भनिन्, ‘आफूलाई जुनसुकै बेला पनि तयार त राख्नुपर्छ नी । त्यसैले अभ्यास गरिरहेको छु ।’

लहैलहैमा खेल्न सुरु गर्दा संगीतामा खेलप्रति पूर्ण ज्ञान पनि थिएन । तर अहिले यही खेल नै जीवनयापनको माध्यम भएको छ । हरेक मानिसको जीवनमा कैयौं पटक अपत्यारिला क्षण आइरहन्छन् । संगीताका लागि पनि लामो समयदेखि तेक्वान्दो खेलिरहनु कल्पनाभन्दा बाहिरको थियो । 

किशोरावस्थाको त्यो रहर मारेनन्, बरु घरमा संघर्ष गरेर भए पनि खेल्न थाले । परिवारसँग गरेको त्यही हठले १३औं सागमा स्वर्ण पदक प्राप्त गर्ने आधार बनिदियो । 

बाफलमा रहेको ज्ञानोदय माविमा पढ्ने क्रममा विद्यालय आवतजावत गर्दा संगीताले सदैव बाटो छेउमा मार्सल आर्ट्स खेलेको देख्थिन् । कक्षा पाँच पढ्दाको ताका संगीताकी साथी सबी बस्याललाई पनि उक्त मार्सल आर्ट्स खुबै मन पर्थ्यो । हक्की स्वाभावकी संगीता र सबी दुवैलाई यो खेल खेल्ने रहर जाग्न थाल्यो । 

दुवै जनाले उक्त खेलको प्रारम्भ गरे । तर, खेल्नका लागि घरबाट स्वीकृति लिनुपथ्र्यो । घरबाट ‘किन खेल्नुपर्‍यो’ भन्ने जवाफ आयो । तर पनि उनीहरूले किशोरावस्थाको त्यो रहर मारेनन्, बरु घरमा संघर्ष गरेर भए पनि खेल्न थाले । परिवारसँग गरेको त्यही हठले १३औं सागमा स्वर्ण पदक प्राप्त गर्ने आधार बनिदियो । 

संगीताले २०६४ सालमा बाफलमा रहेको काठमाडौं तेक्वान्दो डोजाङबाट करियर सुरु गरेकी थिइन । खेल सुरु गर्दा संगीताले कराते होला भन्ठानेकी थिइन् । मार्सल आटर््समा सेता लुगा लगाउने वित्तिकै कराते हो भन्ठान्ने आम मानिसभन्दा संगीता फरक थिइनन । उनी आफैले पनि घरमा कराते खेल्नका लागि अनुमति मागेकी थिइन् । धेरै पछि मात्र थाहा भयो उनको खेल ‘तेक्वान्दो’ रहेछ । पढाइसँगै उनले खेल करियरलाई पनि अगाडि बढाइरहिन् । सुरुआति दिनमा प्रतियोगिताहरू खेल्दा उनले धेरै पटक निराश हुनुपर्‍यो । हारेको देखेपछि घरबाट किन खेल्नुपर्‍यो ? भन्ने प्रश्न आइरहन्थ्यो ।

‘हजुरआमाले भने खेल्नुपर्छ, एकदिन राम्रो भइन्छ भनेर हौसला दिनुहन्थ्यो,’ संगीता सम्झिन्छिन्, ‘तर पछि अनुभव बढ्दै गएपछि पदक पनि जित्न थालेँ । घरमा सबै जना खुसी हुन थाल्नुभयो । अहिले सबैको साथ छ । त्यसैले होला, यतिका समयसम्म खेल्न पाइरहेको छु ।’ 

बिहान तेक्वान्दो प्रशिक्षण गर्छु । बेलुका चाहिँ जिम्न्यास्टिको पनि अभ्यास गरिरहेको छु । यसले मेरो प्रदर्शनमा सुधार ल्याउँछ

अहिले सफल हुँदा सबै तिरबाट वाहवाही पाउन थाले पनि सुरुआति दिनका असफलता उनले विर्सेकी छैनन् । त्यसैले त उनी आम खेलाडीभन्दा बढि मेहनत गरिरहेकी हुन्छिन् । प्रदर्शनमा सुधार ल्याउनका लागि दैनिक बेलुका जिम्न्यास्टिकको अभ्यास गर्छिन । 

‘बिहान तेक्वान्दो प्रशिक्षण गर्छु । बेलुका चाहिँ जिम्न्यास्टिको पनि अभ्यास गरिरहेको छु । यसले मेरो प्रदर्शनमा सुधार ल्याउँछ,’ धैर्यसाथ निरन्तर मेहनत गरे सफलता हात लाग्ने सत्य आफैले भोगिसकेकी उनको अनुभव छ, ‘सुरुआति दिनमा धेरैजसो नतिजामा हार भए पनि हरेक खेलमा मानसिक रूपमा भने म जितिरहेको हुन्थें । खेल्दै जाँदा बिस्तारै आत्मबल बढ्ने रहेछ ।’ 

नेपाली खेलाडीका लागि साग व्यवहारिक रुपमा स्वर्ण पदक जित्न सक्ने सबभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल महोत्सव हो । त्यसैले त उनका सिनियरहरु भन्ने गर्थे, ‘हाम्रा लागि त ओलम्पिक भनेकै साग हो ।’

संगीता पनि यस्तै सुन्दै तेक्वान्दोमा हुर्किएकी खेलाडी हुन् । त्यसैले उनले आगामी सागमा स्वर्ण पदक रक्षा गर्ने लक्ष्य बनाएकी छिन् । यत्तिमै उनको महत्वाकांक्षामा पूर्णविराम लाग्दैन । ओलम्पिकका लागि छनोट हुने सपनालाई पनि उनी यथार्थमा बदल्न चाहन्छिन् । 

नेपालबाट अहिलेसम्म ओलम्पिकमा छनोट भएरै खेल्ने इतिहास उनकै खेलका दुई अग्रज संगिना वैद्य र दीपक विष्टले मात्र लेख्न सकेका छन् । संयोगले उनीहरु अहिले राष्ट्रिय टिममा संगीताका गुरु हुन् । आफ्ना दुई गुरुहरुको विरासत थाम्दै उनी तेक्वान्दो र समग्र नेपाली खेलकुदकै तेस्रो खेलाडीका रुपमा ओलम्पिक छनोटमा सफलता हासिल गर्न चाहन्छिन् ।

भन्छिन्, ‘एउटा साग जितेर मात्र लक्ष्य रोकिएका छैनन् । शरीरले साथ दिएसम्म खेल्नेछु । आगामी साग र ओलम्पिकलाई ध्यानमा राखेर अभ्यासलाई निरन्तरता दिइरहेको छु ।’ 

उनको लक्ष्यमा विभागीय टोली एपिएफको पनि साथ मिलेको छ । २०६९ सालदेखि एपिएफबाट खेल्न थालेपछि संगीताको तेक्वान्दो करियरले झनै उचाई लियो । त्यसको एक वर्षअगाडि मात्र संगीता राष्ट्रिय टोलीमा समावेश भएकी थिइन् । २०६८ सालको चौथो कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा संगीताले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर, फाइनलमा भने उनी एसियाली खेलकुदकी पदक विजेता मनिता साहीसँग पराजित हुन पुगिन् । नेपाल तेक्वान्दो संघले उक्त प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरेको थियो । 

त्यहाँदेखि उनी राष्ट्रिय टोलीको हिस्सा रहँदै आएकी छन् । तर, उनको तौलमा साग र एसियाली खेलकुदका पदकधारी खेलाडीको बर्चस्व रहँदा संगीताले कमै मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन पाउँथिन । पाएका सिमित अवसमार भने उनले राम्रै प्रदर्शन गरेकी छन् । 

१८औं एसियाली खेलकुदमा पनि तुलनात्मक रूपमा संगीताले आशालाग्दो प्रदर्शन गरेकी थिइन् । फिलिपिन्सकी खेलाडी डार्लिन अर्पोनलाई कडा चुनौती दिए पनि उनी २०-१७ स्कोरले स्तब्ध भइन् । ३६ सेकेन्ड बाँकी रहँदासम्म खेल १६-१६ को बराबरीमा थियो । तर अनुभवको कमीका कारण संगीताले अट्याकिङ खेल्दा अंक गुमाउन पुगिन् र दूर्भाग्यपूर्ण हारको सिकार हुनुपर्‍यो ।
 
स्वर्ण पदक जितेको सागमा पनि संगीताको सहभागिता अन्तिम समयमा टुंगो लागेको थियो । तर, एसियाली खेलकुदमा सिकेको पाठ १३औं सागमा उनले लागु गरिन । विपक्षीविरुद्ध चनाखो भएर खेल्दै करियरको स्वर्ण क्षणलाई चुम्ने अवसर पाइन् । घरेलु दर्शकका सामू देशका लागि स्वर्ण पदक जित्ने गौरवमय क्षण हासिल गरेरै छोडिन ।