ब्राजिल र अर्जेन्टिना विजयी 

ब्युनस आयर्स, (खेलाडी)- कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना र ब्राजिले विश्वकप २०२२ को छनोटअन्तर्गत दक्षिण अमेरिकी प्रतियोगितामा शुक्रबार विहान जित हासिल गरेका छन् ।


अर्जेन्टिनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको भेनेजुएलामाथि ३-१ को जित हासिल गर्दा ब्राजिलले चिलीलाई १-० को नतिजामा हरायो । 

ब्राजिललाई सतप्रतिसत नतिजा यात्रा कायम राख्नका लागि शुक्रबार विहान एभर्टन रिबेइरोले ६४औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो ।  

भेनेजुएला भ्रमणमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज, जोवाक्किन कोरिया र एन्जेल कोरियाले गोल गरेका थिए । भेनेजुएलाका येफेर्सनन सोटेल्डोले इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई सान्त्वना गोलमा परिणत गरे । 

खेलको ३२औं मिनेटमा भेनेजुएलाका लुइस मार्टीनेज रातो कार्ड सामना गर्दै मैदान छोडेका थिए ।
 
पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । मार्टिनेजले जियोभानी लोसेल्सोको पासलाई पोस्टको दिशा दिएका थिए । 

मध्यान्तरसम्म १-० को अग्रतामा चित्त बुझाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । अर्जेन्टिनाको लागि दोस्रो गोल जोआक्विन कोरीयाले खेलको ७१औं मिनेटमा गरे । कोरीयाले मार्टीनेजको पास गोल गरेका थिए । 

त्यसको तीन मिनेटपछि एन्जेल कोरीयाले अर्जेन्टिनाका लागि तेस्रो गोल गरे । 

शुक्रबार विहानका नतिजापछि विश्वकपको दक्षिण अमेरिकी छनोट तालिकामा सात खेल सकिँदा २१ अंकका साथ ब्राजिल शीर्ष स्थानमा रहँदा १५ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ । 

त्यस्तै १२ अंकका साथ इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक जोडेका उरुग्वे र कोलम्बिया चौथो तथा पाँचौं स्थानमा छन् । विश्वकपमा दक्षिण अमेरिकाबाट पाँच टोली छानिन्छन् । 

यसैगरी पाराग्वे सात अंकका साथ छैटौं स्थानमा रहँदा समान ६ अंक जोडेका चिली र बोलिभिया सातौं र आठौं स्थानमा छन् । पाँच अंकका साथ पेरु नवौं स्थानमा रहँदा भेनेजुएला १०औं स्थानमा सिमित छ । 

विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार विहानै भएका अन्य खेलमा इक्वेडरले पाराग्वेमाथि २-० को जित हासिल गर्‍यो भने बोलिभिया र कोलम्बिया तथा पेरु र उरुग्वेले १-१ को बराबरी नतिजा निकाले ।