शृंखलामा श्रीलंकाको विजयी सुरुआत

कोलम्बो, (खेलाडी)- श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको सिमित ओभरको शृंखलामा जितका साथ सुरुआत गरेको छ ।

कोलम्बोमा बिहीबार भएको पहिलो एकदिवसीय दिवारात्री खेलमा भ्रमणकारी टोलीमाथि १४ रनको जित हासिल गर्दै श्रीलंकाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लियो । 

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनर अभिस्का फर्नान्डोले १ सय १८ तथा चारिथ एसालांकाले ७२ रनको योगदान गरेपछि टोली निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै ३ सय रनको योगफल बनाउन सफल भएको थियो । जवाफमा दक्षिण अफ्रिकालाई २ सय ८६ रनमा रोक्दै टोलीले जित हासिल गरेको हो ।

श्रीलंकाका लागि ओपनर फर्नान्डोले १ सय १५ बलमा दुई छक्का र १० चौका प्रहार गर्दा एसालांकाले ६२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । 

यसैगरी धनन्जय डी सिल्भाले ६२ बलमा पाँच चौकासहित ४४ तथा विकेटकिपर मिनोद भानुकाले ३९ बलमा तीन चौकासहित २७ रन जोडे । श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

दक्षिण अफ्रिकाका कागिसो रावाडा र केशव महाराजले दुई/दुई विकेट लिँदा एडेन मार्कम र टाबराइज शाम्सीले एक/एक विकेट लिए । 

जवाफमा ३ सय १ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाकालागि ओपनर मार्कमले ९६ तथा रेसी भान डर डुसेनले ५९ रनको योगदान गर्नाका बावजुद टोलीलाई जित दिलाउन त्यो पर्याप्त भएन । 

मार्कमले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गर्दा डुसेनले ५९ बलमा ६ चौका हानेका थिए । 

श्रीलंकाको इनिङमा कप्तान टेम्बा बाभुमाले ३८, विकेटकिपर हेनरिक क्लासेनले ३६, ओपनर जानेमन मालानले २३, कागिसो रावाडाले अविजित १३ र काइल भारानेले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

श्रीलंकाका अकिला धनन्जयाले दुई विकेट लिँदा चामिका करुणारत्ने, वानिन्दु हसरंगा र प्रविन जयाविक्रमाले एक/एक विकेट लिए ।

दक्षिण अफ्रिकाले श्रीलंका भ्रमणमा तीन एकदिवसीय तथा तीन ट्वान्टी २० खेलको शृंखला खेल्नेछ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।