साकिबलाई बंगलादेशको केन्द्रिय सम्झौता 

ढाका, (खेलाडी)- बंगलादेशका अलराउन्डर साकिब अल हसनलाई राष्ट्रिय टोलीको केन्द्रिय सम्झौतामा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)बाट सन् २०१९ को अक्टोबरमा प्रतिबन्धित भएपछि साकिब सन् २०२० मा बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीको केन्द्रिय सम्झौताबाट बाहिरिएका थिए । 

बंगलादेश क्रिकेटले सबै स्वरुपका खेलका लागि केन्द्रिय सम्झौता गरेका ५ खेलाडीमध्ये साकिब एक हुन् । साकिबवाहेक मुस्फिकर रहिम, लिट्टोन दास, तास्किन अहमद र सोरिफुल इस्लामसँग बंगलादेश क्रिकेट बोर्डले सबै स्वरुपका लागि सम्झौता गरेको छ । 

बंगलादेश क्रिकेटले ब्याट्सम्यान तमिम इकबालसँग टेस्ट र एकदिवसीयमा मात्रै सम्झौता गरेको छ भने मोहम्मद महमुदुल्लाहसँग एकदिवसीय र ट्वान्टी २० मा मात्रै सम्झौता गरको छ । 

बंगलादेश क्रिकेट संघ (बिसिबी) को बुधबार बसेको बैठकले २४ खेलाडीसँगको केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ । सम्झौता यो वर्षको मे देखि डिसेम्बरसम्मका लागि गरिएको हो । बिसिबीले सबै स्वरुपको सम्झौता रकम भने खुलाएको छैन् ।