बराबरीका साथ भान हालको पुनरागमन

ओस्लो, (खेलाडी)- इर्लिङ हल्यान्डले नर्वेका लागि गोल गरेपछि लुइस भान हालले नेदरल्यान्ड्सको प्रशिक्षकका रुपमा पुनरागमन जनाउँदा १-१ को बराबरीमा चित्त बुझाए । 

अर्को वर्ष कतारमा हुने विश्वकपअन्तर्गत नर्वेको छनोट यात्रामा आफ्नो पहिलो गोल गर्दै हल्यान्डले २०औं मिनेटमा नर्वेलाई अग्रता दिलाएका थिए । स्टेफन स्ट्रानबर्गको पासलाई गोलमा परिणत गर्दै उनले उलेभाल रंगशालामा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । 

तर नेदरल्यान्ड्सले पहिलो हाफमै खेलमा पुनरागमन जनायो । भ्रमणकारी टोलीका लागि जर्जिनियो विज्नाल्डमको पासमा डेभी क्लासेनले गोल गर्दै मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा भान हालको टोलीलाई बराबरीमा ल्याएका थिए । 

नेदरल्यान्ड्सको टोलीमा भान हालको यो तेस्रो कार्यकालमा पहिलो खेल थियो । 

बराबरीपछि समूह ‘जी’मा नेदरल्यान्ड्स र नर्वे दुवै टोली शीर्ष स्थानको टर्कीभन्दा एक अंकले पछि परेका छन् । 

गए राति घरेलु मैदानमा मोन्टनेग्रोसँग २-२ को बराबरीमा सिमित हुनाका बावजुद टर्की चार खेलको समाप्तीमा आठ अंकसहित समूहको शीर्ष स्थानमा कायम छ । 

समान सात अंकका साथ नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वेले शीर्ष टोलीलाई पछ्याइरहेका छन् । चार खेलमा चार अंक जोडेको लाट्भिया पाँचौं स्थानमा छ भने अहिलेसम्म अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ ।

गए रातिनै सम्पन्न समूहको अर्को खेलमा लाट्भियाले जिब्रल्टारमाथि ३-१ को जित हासिल गरेको थियो ।