हैदराबादमाथि चेन्नईको जित

सारजहाँ, (खेलाडी)- ओपनिङ जोडी ऋतुराज गाइकवार्ड र फाफ डु प्लेसीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेपछि चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको खेलमा बिहीबार सनराइजर्स हैदराबादमाथि ६ विकेटको जित हासिल गरेको छ ।

ओपनिङ जोडीले बनाएको आधारमा मोइन अली, अम्बाती राइडु र कप्तान महेन्द्रसिंह धोनीले राम्रो ब्याटिङको साथ दिएपछि चेन्नईले एक सय ३५ रनको लक्ष्य निर्धारित २० ओभरको दुई बल बाँकी रहँदै चार विकेटको क्षतिमा एक सय ३९ रन बनाएर पूरा गर्यो । 

जेसन होल्डरको बलमा केन विलियम्सनबाट क्याच हुनुअघि गाइकवार्डले चेन्नईका लागि ४५ रन बनाएका थिए । ३८ बल सामना गरेका गाइकवार्डले चार चौका र दुई छक्का प्रहार गरेका थिए । उनले ११औं ओभरको पहिलो बलमा आउट हुनुअघि डु प्लेसीसँग ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको जितको आधार बनाएका थिए ।

डु प्लेसीले ३६ बलमा तीन चौका र दुई छक्कासहित ४१ रन बनाए । यसैगरी मोइन अली र अम्बाती राइडुले समान १७ रनको योगदान गर्दा कप्तान महेन्द्रसिंह धोनीले १४ रन जोडे । अलीले १७ बलमा दुई चौका प्रहार गर्दा अविजित रहेका राइडुले १३ बलमा एक चौका र एक छक्का प्रहार गरे । अविजित रहेका अर्का ब्याटर धोनीले ११ बलमा एक चौका र एक छक्का प्रहार गरे । 

हैदराबादका होल्डरले तीन विकेट लिए भने रासिद खानले एक विकेटमा नाम लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३४ रनको योगफल तयार गरेको थियो । 

हैदराबादका लागि ओपनर ऋदिमन शाहले बनाएको ४४ रन सवभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । शाहले ४६ बल सामना गर्दै एक चौका र दुई छक्काको मद्दतमा टोलीलाई सानो स्कोरमा सीमित हुनबाट जोगाएका थिए । 

अभिषेक शर्मा र अब्दुल सामादले समान १८ रनको योगदान गर्दा रासिद खानले अविजित १७ रन बनाए भने कप्तान केन विलियम्सनले ११ रन जोडे । हैदराबादका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

चेन्नईक जोस हाज्लेउडले तीन विकेट लिए भने ड्वायन ब्राभोले दुई तथा सार्दुल ठाकुर र रविन्द्र जडेजाले एकएक विकेटमा नाम लेखाए ।