नरेन्द्र श्रेष्ठ

‘ट्रयु जेन्टलम्यान’ नरेन दाइ

  • सरगत

ढोका ढकढक्याउनु र खोल्नु एकैपल्ट परेर मात्र हो । ‘नत्र त म ‘माथि’ पुगिसकेको हुन्थें, कहाँ यहाँ हुन्थें र ?’ लगत्तै एउटा उन्मुक्त हाँसो । माथि अर्थात परलोक । नरेन्द्र दाइ आफ्नै जीवनबारे यति धेरै मजाको पाराले भन्न किञ्चित गाह्रो मान्दैनन् । यी नरेन्द्र दाइ अरू कोही होइनन्, तिनै अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष हुन् । सबैका लागि भने उनी नरेन्द्र दाइमात्रै । अझ यो लेखकका लागि त झन ‘नरेन दाइ’ मात्रै ।

केही महिनाअगाडि त्रिपुरेश्वरस्थित एनआरटी भवनमा एउटा कुनै कार्यक्रम चलिरहेको थियो । नरेन दाइलाई एकाएक असजिलो महसुस भयो । कहींकतै साह्रै दुखेको महसुस गरे । पूरा शरीरमा खलखली पसिना बगेको थियो । आँखाअगाडि तुरुन्तै अँध्यारो छाइहाल्यो । अनि केही सेकेन्ड त उनी अज्ञात स्थानतिरै प्रस्थान गरे । धन्न, उनको अगाडि आफ्नै क्लब एनआरटीका साथीभाइ थिए । तुरुन्तै गंगालाल अस्पताल पुर्याइयो । हृदयघातका बेला हुने यस्तै हो ।

तुरुन्तै आवश्यक सबै उपचारको काम जोडतोडले भइहाल्यो । राम्रोसँग होस खुलेपछि नरेन दाइलाई यही सुनाइएको थियो, ‘ढोका ढकढक्याउनु र खोल्नु एकैपल्ट परेर मात्र हो, नत्र त तिमी पनि ‘माथि’ पुगिसक्थ्यौं ।’ 

त्यसै पनि उनी नेपाली फुटबलका ‘ट्र्यु जेन्टलम्यान’ हुन् । अचेल उनको जीवन आफैंमा खुबै ‘सादगी’ छाएको छ । यस्तोमा झन पो खरो ‘जेन्टलम्यान’ भएका छन् । नत्र उनी खुबै रमाइलो गर्नुपर्ने खालका छन् । खाने र खुवाउने, पिउने र पिलाउने भनेपछि एक पाइला अगाडि सारिहाल्ने । अब त सबै बन्द । अचेल यस्तो भन्न थालेका छन्, ‘म त अहिले बोनसको जीवन बिताइरहेको छु । यो त मेरो दोस्रो जीवन पो हो । त्यस दिन साँच्चै केही भइदिएको भए त म यहाँ पक्कै हुने थिइनँ ।’

यो लेखकले उनलाई अस्पतालमा भेट्ने अवसर पनि पाएको थियो । उनको अनुहार हेर्दा लागिरहेको थियो, केही भएकै छैन । यी बुढा किन पो अस्पताल आएका होलान् भन्ने लागेको थियो । उनी आफै के कम ? भन्दै थिए, ‘मलाई केही भएकै छैन । कसले भन्छ, केही भयो भनेर ?’

त्यसै पनि उनी नेपाली फुटबलका ‘ट्रयु जेन्टलम्यान’ हुन् । अचेल उनको जीवन आफैंमा खुबै ‘सादगी’ छाएको छ । यस्तोमा झन पो खरो ‘जेन्टलम्यान’ भएका छन् । नत्र उनी खुबै रमाइलो गर्नुपर्ने खालका छन् । खाने र खुवाउने, पिउने र पिलाउने भनेपछि एक पाइला अगाडि सारिहाल्ने । अब त सबै बन्द । अचेल यस्तो भन्न थालेका छन्, ‘म त अहिले बोनसको जीवन बिताइरहेको छु । यो त मेरो दोस्रो जीवन पो हो । त्यस दिन साँच्चै केही भइदिएको भए त म यहाँ पक्कै हुने थिइनँ ।’

...

अहिले फुटबलको माहोल चलिरहेको छ । त्यो पनि एन्फा चुनावको । असार ६ गते साँझसम्म लगभग एन्फाले नयाँ अध्यक्ष पाइसकेको पनि हुनसक्ने छ । ती भनेका पंकज नेम्वाङ हुन् । होइन, यस्तो नहुन पनि सक्छ, कर्माछिरिङ शेर्पा फेरि अध्यक्षमै चुनिएको पनि हुनसक्ने छ । ‘बालेन प्रवृत्ति’ त पक्कै दोहोरिने छैन एन्फामा । नरेन दाइ भने खुलम खुल्ला एक पक्षमा ढल्किएका छन् । हाकाहाकी भन्छन्, ‘अध्यक्षमा आउने पर्ने पंकज हुन्, कर्मा दोहोरिनुहुन्न ।’

यस्तो सुन्नेबित्तिकै कोही कसैले दम्भ पालेर सोध्न सक्छ, ‘को हुन् यी नरेन्द्र श्रेष्ठ ?’ यसको पहिलो उत्तर हो, जसले यो प्रश्न सोध्छ, त्यसलाई नेपाली फुटबलबारे केही थाहै रहने छ । होइन भने थाहा पाएर पनि थाहा नपाए जस्तो गरिरहेको हुनुपर्छ । कोही कसैले मनमनै यो प्रश्न आफैंले आफैंलाई सोधेको छ र मुख खोलेर भन्न सकिरहेको छैन भने यसको उत्तर दिन कर लाग्छ । नेपाली फुटबलमा अहिले जे जति छन्, त्यसमध्ये सबैभन्दा ठूलो अभिभावक हुन्, नरेन दाइ ।

नरेन दाइले लगभग आफ्नो जीवन नेपाली खेलकुदका लागि दिइसके । अझ विशेषतः फुटबलका लागि । जीवनको सात दशकको यात्रामा छन् उनी । भर्खरै जन्मदिन पनि मनाए । ७१ वर्ष पुगें भनेर गनगन गरिरहेका थिए । कुनै समय उनी क्रिकेट पनि खेल्थे । यो खेलका राम्रै खेलाडी थिए । फुटबल पनि खेले, सायद औसतमात्रै थिए कि ? राष्ट्रिय टिममा परेनन् । त्यो समयमै उनलाई एकदिन के दिव्यज्ञान प्राप्त भयो भने खेलेर मात्र हुन्न, पढ्नु पनि पर्छ ।

ल्याबोलेटरी स्कुलबाट एसएलसी पास गरेका नरेन दाइले पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । नेपाली फुटबलमा उनी जत्तिको फरर अंग्रेजी बोल्नै कमै पाइन्छ । नत्र त अरू धेरै अंग्रेजीमा बोल्न भनेपछि भाग्ने खालका छन् । यो सामान्य मापनको एकमात्र अर्थ के भने नेपाली फुटबलमा शैक्षिक योग्यतामा धोका खाएका धेरै छन् । यसमा नरेन दाइ पर्दैनन् । उनी खेलाडी भएर पनि माथिल्लो दर्जाकै विद्यार्थी थिए । त्यसैले कहिलेकाहीं उनको संगत गर्नुपर्छ, उनको व्यक्तित्वको एक भाग प्राज्ञिक पारा प्रस्ट देखिन्छ ।

नेपाली फुटबलमा तीन दशकभन्दा लामो समय उनी कुनै न कुनै भूमिकामा निरन्तर सक्रिय रहे । त्यसको उत्कर्ष भनेको अध्यक्ष नै हो । गणेश थापाको बहिर्गमन र ललितकृष्ण श्रेष्ठको अवसानपछि एन्फा नेतृत्व उनकै काँधमा आइपुगेको थियो । उनको नेतृत्व लामो समय चलेन । भलै, उनी ‘ब्यालेट बक्स’ बाट निर्वाचित हुने पहिलो अध्यक्ष हुन् । सन् २०१९ मा जति नेपाली फुटबल अनिर्णयको बन्दीमा पुग्नै लागेको थियो । नरेन दाइले देखाइदिए पनि, आफ्नो मन कति ठूलो छ भनेर ।

अस्ट्रेलिया ओहोरदोहोर गरिरहनुपर्ने नरेन दाइलाई त्यतिबेलाको चुनावको मुखमै देश छोड्नुपरेको थियो । एक पक्षले उनलाई दबाब दिएको थियो, अस्ट्रेलियामै बस्नु, नेपाल नफर्कनु । सकेसम्म चुनाव पछाडि सार्नु । एक पक्षलाई डर थियो, कतै नरेन दाइ साँच्चै नेपाल नफर्कने त होइनन् ? त्यस्तो केही भएन । उनी नेपाल फर्के, समयमै चुनाव पनि गरे । अनि नेपाली फुटबललाई एउटा ठूलो दुर्घटनाबाट जोगाए । यसको श्रेय उनलाई जति दिए पनि पुग्दैन । उनले गराएको यही चुनावबाटै त हो अहिलेका अध्यक्ष शेर्पा चुनिएको ।

...

नरेन दाइको एउटा बानी छ । त्यसलाई राम्रो भने पनि हुन्छ, नराम्रो भने पनि हुन्छ । मनमा जे आयो, त्यही बोल्ने । अझ शूर चढेको हुनुपथ्र्यो, अगाडि जोसुकै भए पनि उनका लागि सबै ‘तँ’ हुन्थ्यो । तर, यसमा माया हुन्थ्यो, आदर पनि हुन्थ्यो । अहिले शूर चढाउने काम त रोकिसके, तर मनको कुरा मुखमा ल्याउन पटक्कै कन्ज्युस्याइँ गर्दैनन् । भन्छन्, ‘अहिलेका अध्यक्ष शेर्पाले काम गर्न सकेकै छैनन् । उनको काम गर्ने क्षमता पनि छैन । खालि झुटो दाबी गर्छन् ।’

‘विदेशी प्रायोजक पहिलोपल्ट ल्याएँ पनि भने । यो पनि गलत हो । अरू कोरोना महामारीलाई दोष दिन्छन् । म त अझ के भन्छु भने कोरोनाकै कारण उहाँको कार्यकाल लम्बिएको हो, अन्यथा दुई वर्षमै समस्यामा पर्नुहुन्थ्यो । रौतहटमा भएको महिला फुटबल एकेडेमीमा पनि उस्तै समस्या भयो । मैले नै रौतहटमा एकेडेमी बनाउनुपर्छ भनेको थिएँ, तर जंगलभित्र बनाउनुपर्छ त भनेको थिइनँ । अनि ग्रासरुटको कार्यक्रम पनि मैले नै सुरु गरें भन्नुहुन्छ, के पहिले त्यस्तो कार्यक्रम थिएनन् र ? जत्ति पनि थियो ।’

उनी भन्छन्, ‘म तटस्थ बसकै थिएँ । नेपाली फुटबलमा जे जति छन्, सबै मेरा साथीभाइ नै हुन् । नेपाली फुटबलमा के भइरहेको छ भने त्यसलाई सुक्ष्म ढंगले हेरिरहेको भने थिएँ । कर्माको सबैभन्दा ठूलो खराबी भनेको सबै कामको श्रेय आफैंले लिने हो । त्यसमै मलाई चित्त बुझेन । मैले अध्यक्षको कार्यकाल टुंगिने बेला साढे १७ करोड रुपैयाँ ल्याएर छाडेको थिएँ । यसैले कर्माको पालामा काम भयो, तर उहाँ यसबारे फरक दाबी गर्छन् । उहाँ अहिले पनि पहिलो विदेशी प्राविधिक निर्देशक मैले ल्याएको थिएँ भन्नुहुन्छ, किन यस्तो झुटो बोल्नुपर्ने ?’

अझ थप्छन्, ‘विदेशी प्रायोजक पहिलोपल्ट ल्याएँ पनि भने । यो पनि गलत हो । अरू कोरोना महामारीलाई दोष दिन्छन् । म त अझ के भन्छु भने कोरोनाकै कारण उहाँको कार्यकाल लम्बिएको हो, अन्यथा दुई वर्षमै समस्यामा पर्नुहुन्थ्यो । रौतहटमा भएको महिला फुटबल एकेडेमीमा पनि उस्तै समस्या भयो । मैले नै रौतहटमा एकेडेमी बनाउनुपर्छ भनेको थिएँ, तर जंगलभित्र बनाउनुपर्छ त भनेको थिइनँ । अनि ग्रासरुटको कार्यक्रम पनि मैले नै सुरु गरें भन्नुहुन्छ, के पहिले त्यस्तो कार्यक्रम थिएनन् र ? जत्ति पनि थियो ।’

कर्माको विरोध किन आवश्यक छ त ? यसमा नरेन दाइको उत्तर अझ कडा छ । उनी भन्छन्, ‘फेरि कर्मा नै अध्यक्षमा दोहोरिन्छ भने नेपाली फुटबल अझ तल झर्नेछ, बिग्रिने छ । उहाँले कुनै पनि मुद्दामा जवाफ दिन सक्नुभएको छैन । एनएसएलको मुद्दा भन्ने कि खेलाडी प्रशिक्षकको मुद्दा, सबैमा उहाँ चुक्नुभयो । अध्यक्षले त सबै क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्छ । नेपाली फुटबलमा जे जस्ता समस्या छन्, ती केही पनि समाधान भएका छैनन् ।’

खेलाडीले बन्द प्रशिक्षण नै छाड्नुपरेको घटनालाई नरेन दाइ निकै ठूलो मुद्दा मान्छन् । निकै गम्भीर पनि । तर यसमै अध्यक्ष शेर्पा चुकेको उनी मान्छन् । उनको दाबी छ, ‘या त कर्मामा अध्यक्ष हुने क्षमता छैन, होइन भने यसमा रूचि छैन । मलाई अहिलेको स्थिति हेर्दा छक्क लाग्छ ।’ उनी अध्यक्ष शेर्पा अहिलेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दबाबमा पर्ने गरेको आरोप पनि लगाउँछन् । प्रश्न गर्छन्, ‘एन्फा प्रशिक्षकले चलाउने हो कि अध्यक्षले ?’  
...

चुनावकै मुखमा आएर नेपाली फुटबलको शक्ति समीकरण पनि ठ्याक्कै परिवर्तन भएको छ । पहिला ‘चेन्ज एन्फा’ भन्नेहरू अहिले विभाजित भएका छन् । त्यसमध्ये एक समय त पुरानै शक्तिको नजिक पुगेका छन् । त्यो भनेको गणेश थापा नै भयो । यसबारे नरेन दाइलाई के भन्नु छ त ? उनको सफा उत्तर छ, ‘त्यो बेला उनीहरूले अति नै गरेका हुन् । अहिले एउटा समूहले के महसुस गरेको छ भने त्यतिबेला ‘चेन्ज एन्फा’ का नाममा जे जति भए, ती सबै ठीक थिएनन् ।’

नरेन दाइ भन्छन्, ‘स्वयं कर्माजीले पनि एन्फाको कार्यकारी बैठकमै यो तथ्य मानेका छन् । अहिले पनि ५८ करोड रुपैयाँको भ्रष्टाचार भएको भनिन्छ, जबकि त्यतिबेला यति रकम बराबरको हाम्रो बजेट नै थिएन । गणेश थापामाथि फिफाले लगाएको आरोप र त्यसै क्रममा लागेको प्रतिबन्ध फेरि बेग्लै हो । गोल प्रोजेक्ट कसरी चल्छ भनेर थाहा नपाएकाले गलत आरोप लगाएका छन् । फिफाबाट एन्फामा आएको जति पनि रकम छ, त्यसमा एक प्रतिशत पनि तलमाथि भएको छैन ।’

उनी गणेश थापाप्रति अझै पनि ‘सफ्ट कर्नर’ राख्छन् । ‘म विश्वासघात गर्ने मान्छे पनि होइन,’ थापासँगको आफ्नो सम्बन्धलाई लिएर उनी भन्छन् । उनले यस विषयमा थप खुलेर भने, ‘मेरो विचारमा गणेश थापा आफैं असफल भएका होइनन् । म त अझै भन्छु, गणेश थापा नै अहिलेसम्मका सबैभन्दा सफल अध्यक्ष हुन् ।’ उनी के मान्छन् भने गणेश थापा धेरै हदसम्म अभाग्यशाली रहे, भाग्यले ठग्यो । थप्छन्, ‘उहाँले सायद ठीक समयमा एन्फाको जिम्मेवारी छोड्न सक्नुभएन । उहाँमात्र होइन, उहाँको समूह नै सिध्याइएको हो ।’


...

फेरि चुनावकै कुरा । नरेन दाइ भन्छन्, ‘पंकजको समूहलाई मेरो नैतिक समर्थन छ । केहीले मलाई तटस्थ बसेको भए पनि हुन्थ्यो भनेका छन् । तटस्थको अर्थ के त ? नेपाली फुटबलमा नराम्रो भइरहेको छ भने पनि त्यसलाई हेरिरहने र नबोल्ने ? चित्त नबुझेको कुरा त बोल्नैपर्छ । पंकजले अध्यक्ष जित्नुभयो र पछि राम्रो गर्न सक्नुभएन भने उहाँको पनि विरोध गरिन्छ । उहाँहरू जतिबेलासम्म राम्रो काम गरिरहन्छ, त्यतिबेला मात्र मेरो समर्थन रहनेछ ।’

जस्तो, गणेश थापा अध्यक्ष हुँदा उनी एन्फामा आउनेबित्तिकै सुनसान हुन्थ्यो । सबै चुपचाप हुन्थे । तर नरेन दाइ अध्यक्ष हुँदा एन्फामा भए जत्ति उनको साथी जस्तो । थापा गाली गरेर काम लिन्थे, नरेन दाइ अँगालो मारेर काम लिन्थे । आखिरमा काम लिने नै त हो । तर अहिले यिनै नरेन दाइलाई एन्फा चुनावको मुखैमा किन एक पक्षको समर्थन गरेर अर्को पक्षको विरोध गर्नुपर्ने थियो त ? सायद जति बेला ‘ट्रयु जेन्टलम्यान’ को मन दुख्छ, असाध्यै चित्त बुझ्दैन, मनको कुरा आगोजस्तै बाहिर निस्कन्छ ।

नरेन दाइलाई फेरि दोहोर्याएर नेपाली फुटबलमा सक्रिय हुने इच्छा पनि छैन । प्रश्न गर्छन्, ‘अध्यक्ष भइसकेको मान्छे अब फेरि के बन्ने ? कसैले सल्लाह माग्छ भने सल्लाह दिने मात्रै हो ।’ र, फेरि नरेन दाइको व्यक्तिगत कुरा । उनलाई फुटबलमा लागेर कुनै अपसोच छैन । बरू अहिले जे जति राम्रो भएको छ, सबै फुटबलकै कारण भएको छ । कहिलेकाहीं नरेन दाइलाई आफू धेरै ‘जेन्टलम्यान’ भएकाले पनि गाह्रो भएको लाग्छ । तर भन्छन्, ‘म मान्छे नै यस्तै ।’

जस्तो, गणेश थापा अध्यक्ष हुँदा उनी एन्फामा आउनेबित्तिकै सुनसान हुन्थ्यो । सबै चुपचाप हुन्थे । तर नरेन दाइ अध्यक्ष हुँदा एन्फामा भए जत्ति उनको साथी जस्तो । थापा गाली गरेर काम लिन्थे, नरेन दाइ अँगालो मारेर काम लिन्थे । आखिरमा काम लिने नै त हो । तर अहिले यिनै नरेन दाइलाई एन्फा चुनावको मुखैमा किन एक पक्षको समर्थन गरेर अर्को पक्षको विरोध गर्नुपर्ने थियो त ? सायद जति बेला ‘ट्रयु जेन्टलम्यान’ को मन दुख्छ, असाध्यै चित्त बुझ्दैन, मनको कुरा आगोजस्तै बाहिर निस्कन्छ ।
...
जेहोस्, हाम्रा नरेन दाइ जे जस्ता छन्, मनले सफाका छन् । त्यसैले यत्तिको बोल्न पनि सक्छन् ।