सनिश श्रेष्ठ

‘देशका लागि खेल्ने’ सनिशको सपना

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करण चलिरहेको हुन्थ्यो, यदि कुनै प्रश्न र विवाद उठ्दैन थिए भने । तर, प्रतियोगिता मुखैमा आइपुग्दा एनएसएलको अस्तित्व र खेलाडीको विषय मौलाउँदै जाँदा ‘गोल्डकप शैली’ भनिएपछि आयोजकले हात झिक्यो । र, प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भयो । चैत २६ गतेदेखि सुरु हुने तय भएको एनएसएलका लािग अक्सनमार्फत सहभागी सबै १० क्लबले प्रारम्भिक टिम बनाइसकेका थिए ।

गत वर्षको वैशाखमै भएको पहिलो संस्करणमा एपिएफका युवा रक्षक सनिश श्रेष्ठको नाम पनि थिएन । यसपालि ‘ए’ श्रेणीमा परेका उनी उच्चतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा बिक्री भएका थिए, उनी । दुई क्लबले सनिशका लागि उच्चतम मूल्यसम्म ‘बोली’ लगाउँदा गोलाप्रथामा ललितपुर सिटी एफसीले बाजी मार्यो । सनिशलाई भित्र्याउने धनगढीको प्रयास सफल भएको थिएन ।

अघिल्लो वर्षसम्म सयौं खेलाडीको सूचीमा नपरेका सनिश १२ महिनाभन्दा कम समयमा कसरी यस्तो आकर्षणको केन्द्रमा पुगे होलान् ?

जवाफ सहज छ । सनिशले लिगमा गरेको प्रदर्शन ।

हो, लिगमा आमसमर्थकको आँखामा नपरे पनि रक्षापंक्तिका सबै पोजिसनका साथै मिडफिल्डबाट पनि उस्तै खेल्न सक्ने यी खेलाडीको प्रदर्शन साँच्चै लोभलाग्दो थियो ।

लगातार तीन खेलमा हार भोगेपछि सशस्त्र प्रहरी बलको एपिएफ अंकतालिकाको पुछारमा थियो । टिम निकै दबाबमा रह्यो । अफिसियलहरू तनाबमा थिए । खेलाडीको मनोबल गिर्दै गएको थियो । तर प्रशिक्षक कुमार थापासँगै युवा रक्षक सनिशले आफ्नो धैर्य कायम राखे । दृढताका साथ आफ्नो भूमिका निर्वाह गरे ।

२०६३ सालमा सिधै ‘वाइल्ड कार्ड’ मार्फत शीर्ष डिभिजन लिग खेल्न आएको थियो एपिएफ क्लब । शीर्ष डिभिजनको लिगमा सहभागिता जनाएको अधिकांश अवसरमा एपिएफले रेलिगेसनबाट जोगिन संघर्षमै बिताउनुपरेको इतिहास छ । तर, टोलीले यसपालि जति संघर्ष यसअघि कहिल्यै गर्नुपरेको थिएन ।

उनले मिहिनेत गरेका थिए । त्यसैले त प्रतिफल पनि मिल्यो । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफको गुम्नै लागेको हैसियत कायम रह्यो । फुटबल टिम खेल हो । यसअर्थमा एक खेलाडीलाई सबै जस/अपजसको भागीदार मान्नु सही नहोला । तर कहिलेकाहिँ कुनै एक खेलाडीको प्रेरणा भने सफलताका लागि द्योतक बन्ने गर्छ । २१ वर्षका सनिशले रक्षापंक्तिमा गरेको जब्बर र परिपक्व प्रदर्शन पनि एपिएफको हैसियत रक्षाको लडाइँमा त्यस्तै प्रेरणादायी रह्यो ।

२०६३ सालमा सिधै ‘वाइल्ड कार्ड’ मार्फत शीर्ष डिभिजन लिग खेल्न आएको थियो एपिएफ क्लब । शीर्ष डिभिजनको लिगमा सहभागिता जनाएको अधिकांश अवसरमा एपिएफले रेलिगेसनबाट जोगिन संघर्षमै बिताउनुपरेको इतिहास छ । तर, टोलीले यसपालि जति संघर्ष यसअघि कहिल्यै गर्नुपरेको थिएन ।

लिग सुरु नहुँदै प्रशिक्षक थापाले भनेका थिए, ‘हामीसँग खासै ठूला नामका खेलाडी छैनन् । हाम्रो लक्ष्य भनेको सके शीर्ष चारसम्म आउने नसके आठौं स्थानसम्म रहने हो ।’

अर्थात् विगतका संस्करणहरूमा जस्तै यसपालि पनि एपिएफले उपाधिको लक्ष्य भन्न त्यस्तै टिम बनाउन सकेको थिएन । कम्तीमा प्रशिक्षक थापालाई हैसियत जोगाउनै गाह्रो पर्ने सुरुमै थाहा थियो । तर, विदेशी खेलाडी भित्र्याउने पहिलो विभागीय टोलीको इतिहास बनाएर भए पनि एपिएफले शीर्ष डिभिजनको हैसियत जोगाइछाड्यो ।

एपिएफको शीर्ष डिभिजन हैसियत जोगाउने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विदेशीमात्र थिएनन् । केही नेपाली खेलाडीको पनि योगदान असाधारण थियो । त्यस्ता नेपाली खेलाडीको नाम लिँदा निर्धक्कसँग भन्न सकिन्छ, सनिश श्रेष्ठ ।

प्रशिक्षक थापाले गरेको विश्वासलाई पूर्ण रुपमा रूपमा न्याय गरेका सनिशले पछिल्लो लिगका सबै १३ खेलमा पूरा समय मैदानमा बिताए । लिगका कुल ९१ खेलमा १४ टोलीका ४ सय ४२ खेलाडी सहभागी भएकामा यस्तो अनुपम सफलता हासिल गर्ने सात खेलाडीमध्ये एक थिए, सनिश । यसपालिको लिगमा सनिशले गरेको उच्च प्रदर्शनको प्रमाण हो यो । र, एनएसएल अक्सनमा उच्च मूल्यमा उनलाई किन्न क्लबहरूबीच भएको हानथापको कारण पनि ।

‘लगातारको हारले तनावपूर्ण स्थिति थियो । खेलमा मात्र ध्यान दिएको थिएँ । मिहिनेत गरेका थियौं । तर मैले पूरा समय खेलेको रहेछु भन्ने नोटिस गरेको थिइनँ,’ सनिश लिगमा पूरा खेलेको सुनाउँदा रोमाञ्चित भए ।

तनहँुमा जन्मिए पनि ६ वर्षकै उमेरका बुबा प्रविन श्रेष्ठसँग काठमाडौं आएर हात्तीवनस्थित एलए स्कुलमा पढ्न थालेपछि सनिशको फुटबल यात्रा सुरु भएको थियो । एलएको टोलीबाट फुटबल खेल्ने सनिशले २०७४ सालमा पहिलो पटक ब्रिगेड ब्वाइज क्लबबाट ठूलो प्रतियोगिताका रूपमा ललित स्मृति यू–१८ प्रतियोगिता खेलेका थिए ।

दोस्रो संस्करण फ्रेन्ड्स क्लबबाट खेले । ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताका दुवै संस्करणमा सनिशको प्रदर्शन औसत थियो । तथापि २०७५ सालमा कुपन्डोलको टोली फ्रेन्ड्सले सनिशलाई सिनियर टोलीबाटै लिग खेलायो । दुई वर्ष फ्रेन्ड्समा बिताएपछि उनले पनि कोभिड–१९ महामारीका कारण विश्व फुटबलसँगै विश्राम लिए ।

महामारीका कारण प्रतियोगिता भइरहेका थिएनन् । तर विराटनगरमा भएको विराट गोल्डकपका लागि एपिएफले उनलाई बोलायो । प्रवीण स्याङतानमार्फत मिलेको त्यो अवसरलाई सनिशले छोप्ने निधो गरे । विराटनगरमा सेन्टर रक्षकको भूमिकामा उनी पहिलो रोजाइबाटै एपिएफको जर्सीमा मैदान उत्रिए ।

दुई वर्षअघि सुरु गरेको सनिशको उडानले अहिले निकै उचाइ लिइसकेको छ । भर्खरै सम्पन्न लिगमा नवौं चरणका खेल सकिएपछि फिफा डे का लागि विश्राम दिइएको थियो । एन्फाले त्यही समयमा मोफसलका प्रतियोगिता पनि गराउने व्यवस्था मिलाएको थियो । मुस्किलले रेलिगेसन क्षेत्रबाट केही मात्र माथि उठेको एपिएफले त्यसको भरपूर फाइदा उठायो ।

रक्षापंक्तिबाट खेल्ने भए पनि प्रतियोगितामा सनिशले एक गोल गरे । उनको नयाँ टिम विराट गोल्डकप च्याम्पियन भयो । ‘डेब्यु’ जनाएको प्रतियोगितामा एपिएफले उपाधि जित्यो भने सनिशले उत्कृष्ट रक्षकको पुरस्कार थापे । लगत्तै मोरङमै सम्पन्न बेलबारी कपमा सनिशसहितको एपिएफ उपविजेता बन्यो । त्यसपछि उनको करियरले उडान भर्न सुरु गर्यो ।

दुई वर्षअघि सुरु गरेको सनिशको उडानले अहिले निकै उचाइ लिइसकेको छ । भर्खरै सम्पन्न लिगमा नवौं चरणका खेल सकिएपछि फिफा डे का लागि विश्राम दिइएको थियो । एन्फाले त्यही समयमा मोफसलका प्रतियोगिता पनि गराउने व्यवस्था मिलाएको थियो । मुस्किलले रेलिगेसन क्षेत्रबाट केही मात्र माथि उठेको एपिएफले त्यसको भरपूर फाइदा उठायो ।

लिगमा रेलिगेसनको दबाब कायम रहे पनि एपिएफले नेपाली फुटबलको अत्यन्तै प्रतिष्ठित आहा–रारा गोल्डकपमा अप्रत्याशित रूपमा उपाधि जित्यो । एपिएफको त्यो सफलता यात्रामा सनिशको भूमिका पनि उल्लेख्य थियो । लिगको शीर्ष टोली (हालको च्याम्पियन) मछिन्द्र फुटबल क्लबमाथि एपिएफले ३–१ को जित हासिल गर्दा सनिशले नै पहिलो गोल गरेका थिए ।

‘लिगमा रेलिगेसनको डर हटेको थिएन । तर पोखरामा उपाधि जित्यौं । त्यो ठूलो उपलब्धि थियो । त्यसले लिगमा पनि बाँकी खेलमा राम्रो नतिजा निकाल्न प्रेरणा मिल्यो,’ ५ फिट १० इन्च उचाइका सनिशको अनुहार उज्यालियो ।

लिगको सफलताले महत्त्वाकांक्षी युवा फुटबलरको मन भरिएको छैन । उनी अझै ठूलो अवसर र जिम्मेवारीको प्रतीक्षामा मिहिनेत गरिरहेका छन् । राष्ट्रिय टोलीको ढोका ढकढक्याउन चाहन्छन् । नेपालको जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रन चाहन्छन् । तर त्यसका लागि धेरै मिहिनेत गर्नुपर्ने उनलाई थाहा छ ।

नेपालले चैत १० मा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि थाइल्यान्ड भ्रमण गर्यो । र, नेपाली राष्ट्रिय टोलीले थाई लिग टोली चोनबोरी क्लबसँग अर्को खेल खेल्यो । यसका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले च्याम्पियन मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै २५ सदस्यीय टोली छनोट गरेका थिए । त्यसमा सनिशको नाम भने छैन । सनिश आफैंलाई पनि अहिले बेला भइनसकेको लागेको छ ।

‘अहिले नै आत्तिनुपर्दैन । आफूले अझै देखाउँन बाँकी छ । मिहिनेत गर्दै जान्छु । बाँकी हुँदै जान्छ,’ सनिश आशावादी छन्, ‘पहिलो सिजन अक्सनमा नपरेको म दोस्रो संस्करण ‘ए’ श्रेणीमै परें । ‘ए’ मा परेपछि बिक्री हुन्न कि भन्ने लागेको थियो । अक्सन प्रत्यक्ष प्रसारण हेरिरहेको थिएँ । तर मेरा लागि गोलाबाट निर्णय भएको देख्दा निकै खुसी लाग्यो । राष्ट्रिय टोलीबाट खेल्ने र देशलाई जिताउने सपना पनि पूरा हुन्छ । धैर्यसाथ मिहिनेत गरिरहन्छु ।’

नेपालले चैत १० मा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि थाइल्यान्ड भ्रमण गर्यो । र, नेपाली राष्ट्रिय टोलीले थाई लिग टोली चोनबोरी क्लबसँग अर्को खेल खेल्यो  । यसका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले च्याम्पियन मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै २५ सदस्यीय टोली छनोट गरेका थिए । त्यसमा सनिशको नाम भने छैन । सनिश आफैंलाई पनि अहिले बेला भइनसकेको लागेको छ ।

एक पटकमा एउटा खेल भनेजस्तै सनिशको पूर्ण ध्यान एनएसएलमा थियो । र, ए डिभिजन लिगमा जस्तै प्रभाव एनएसएलमा पनि कायम गर्दै राष्ट्रिय टोलीको ढोका खोल्ने उनको लक्ष्य थियो । तर, एनएसएलको अनश्चिततासँगै उनको योजना पनि पछाडि धकेलिएको छ ।