अनन्त तामाङ

असीमित क्षमताका अनन्त

आधुनिक फुटबलमा रक्षकको भूमिका आफ्नो क्षेत्रको रक्षा गर्नु मात्र हुँदैन । विपक्षीको क्षेत्रमा पुगेर ‘फिनिसिङ’मा पनि रक्षकहरू अचेल पोख्त हुन्छन् । विशेषतः रक्षकहरूको गोल गर्ने क्षमता सेट पिसमा बढी देखिने गर्छ ।

आधुनिक फुटबलको एउटा परिपक्व र प्रभावकारी रक्षकमा देखिने यस्तै गुन नेपाली राष्ट्रिय टोलीका स्टार अनन्त तामाङमा भेटिन्छ । नेपालका अभिन्न अंग अनन्तले यसै महिना चोनबुरी क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पाए । मध्यम कदका अनन्त त्यही क्षमताका कारण छिमेकी मुलुक भारतमा ठूलै गर्जनका साथ स्थापित हुँदै गरेको इन्डियन सुपर लिग (आइएसएल)खेल्ने पहिलो खेलाडी बने ।

स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत आगामी चार खेलका लागि अनन्तको गन्तव्य भारतीय फुटबलको महारथी इस्ट बंगाल बनेको छ । इस्ट बंगालको जर्सीमा मैदानमा बेङ्गलुरुविरुद्ध मैदानमा उत्रिएसँगै एसियाली फुटबलमै ‘बज’ सिर्जना गरिरहेको आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने ।

यसअघि पुरानो संरचनाको भारतीय फुटबलमा इस्ट बंगालबाट नेपालका पूर्वकप्तान गणेश थापा र रक्षक देवनारायण चौधरीले खेलेका थिए । तर त्यतिबेलाको तुलनामा अहिलेको भारतीय फुटबल संरचनाले विश्व फुटबलकै ध्यान तानिरहेका कारण अनन्तको अनुबन्धलाई महत्त्वपूर्णरूपमा लिइएको छ ।

एउटा देशमा एकमात्र लिग हुनुपर्ने फिफाको प्रावधानअनुसार आगामी केही वर्षमा दोस्रो डिभिजनमा रूपान्तरण गर्न लागिएको इन्डियन आइ–लिगमा भने नेपाली खेलाडीको उपस्थिति हुने गरेको थियो । आइएसएल भने भारतीय फुटबल संघले ठूलो महत्त्वाकांक्षाका साथ सुरु गरेको लिग हो । जसमा युरोप, अफ्रिका र दक्षिण अमेरिकाबाट थुप्रै विश्वस्तरीय खेलाडीको उपस्थिति रहेकाले नेपाली फुटबलका लागि अनन्तको अनुबन्धन उत्साहजनक बनेको छ ।

एन्फा एकेडेमीमा लामो समय अनन्तलाई प्रशिक्षित गरेका बालगोपाल महर्जन अनन्तको आइएसएल अनुबन्धन नेपाली फुटबलको व्यावसायिक यात्रामा महत्त्वपूर्ण मोड मान्छन् । भन्छन्, ‘यो नेपाली खेलाडीका लागि राम्रो सुरुआत हो । अनन्तले राम्रो प्रभाव छोड्न सक्यो भने अरू नेपाली खेलाडीका लागि पनि अवसरको ढोका खुल्छ । हाम्रो पालामा पनि भारतमा खेल्ने चलन थियो । तर त्यो बेला आइ लिगमात्रै थियो । आइएसएलको मिडियामा धेरै राम्रो चर्चा छ । यो ठूलो प्लेटफर्म हो ।’

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका कप्तान कप्तान किरणकुमार लिम्बुले अघिल्लो सिजनमात्रै पन्जाब एफसीबाट आइ लिग खेले । यस्तै रोहित चन्दले पनि केही समय खेलेका थिए । युवा स्टार अभिषेक रिजालले मोहम्मडन एससीबाट छनोट खेले भने एजवाल एफसीबाट लिग नै खेले । यसवाहेक उपेन्द्रमान सिंह, हरि खड्का, बालगोपाल महर्जन, अनिल गुरुङलगायतका थुप्रै खेलाडीले भारतबाट खेलेको इतिहास छ ।

तर पछिल्लो आधा दशकमा विश्व फुटबलमै नयाँ आकार लिएको आइएसएल खेल्ने अनन्त पहिलो खेलाडी रहे । त्यो स्तरको लिग खेल्न नेपाली खेलाडीको सपना रहँदै आएको थियो । जारी सुपर लिगमा इस्ट बंगालको प्रदर्शन कमजोर रह्यो । ११ टोली सहभागी लिगमा इस्ट बंगाल पुछारमा सीमित भयो ।

सिजनका चार खेल बाँकी रहँदा अनुबन्धित अनन्तले कोभिड १९ का कारण धेरै खेल खेल्न पाएनन् । इस्ट बंगालका तीन विदेशी खेलाडीलाई हेर्ने हो भने उनीहरूमा अनुभवको कमी थियो । जसका कारण अनन्तले मौका पाए ।

२४ वर्षीय यी खेलाडी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबमा अनुबन्धित थिए । दुई वर्षका लागि सम्झौता गरे पनि थ्री स्टारले आइएसएलका लागि अनन्तलाई रिलिज गरेको थियो । अहिले उनी आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका छन् ।

सेन्टर ब्याक अनन्त एन्फा एकेडेमीका उत्पादन हुन् । २०६८ सालमा १४ वर्षकै उमेरमा एकेडेमी प्रवेश गरेका अनन्तले स्पेनको मेराबेला एफसीमा अभ्यास गर्ने मौका पाएका थिए । एन्फा एकेडेमीका सहकर्मी अञ्जन विष्टसँगै स्पेनमा अभ्यासबाट थप निखारिएका अनन्तले आइएसएलमा राम्रो अनुभव बटुलेको उनका प्रशिक्षक बालगोपाल महर्जन आशावादी छन् ।

‘मैले बच्चाबाट नै उसलाई एन्फा एकेडेमीमा हेरेको हो । उसको राष्ट्रिय टोलीसम्मको १० वर्षे यात्रामा मैले नै हेर्ने अवसर पाएँ । अनन्त एकदमै परिपक्व, प्राविधिक रूपमा अब्बल, प्रतिबद्ध र नेतृत्वदायी क्षमताका खेलाडी हुन् । मैले सोचेअनुसार नै प्रगति गरेको छ । यो मात्रै हैन । भारतभन्दा पनि माथिल्लो स्तरको लिग खेल्न ऊ सक्षम छ,’ महर्जनले अनन्तको क्षमता बेलीविस्तार लगाए, ‘विमल घर्तीमगर, अञ्जन विष्ट र अनन्त मैले बाहिर खेल्ने आशा गरेका खेलाडी हुन् । एन्फा एकेडेमीको यो ब्याचलाई मैले बेल्जियम पनि लगेको हो । यो ब्याचमा अनन्त र अञ्जन स्तरका अरू पनि खेलाडी छन् ।’

राष्ट्रिय टोलीका नियमित स्टारहरू स्ट्राइकर विमल, तेज तामाङ, सुनील बल, दिनेश राजवंशी, अञ्जन र अनन्त एकेडेमीको एउटै ब्याचका हुन् ।

एन्फा एकेडेमीमै रहँदा अनन्तले कार्यबाहक कप्तान रहँदै नेपाललाई घरेलु मैदानमा भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए । नेपालले फाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै पहिलो संस्करणको उपाधि घरमै राखेको थियो ।

एन्फा एकेडेमीबाट दीक्षित भएर बाहिरिएपछि राष्ट्रिय लिग–२०७२ मा सुदूरपश्चिम टिमबाट खेलेका अनन्त त्यसयता लगातार थ्री स्टारको रक्षापंक्तिलाई नेतृत्व गरिरहेका छन् । तथापि शीर्ष डिभिजनको लिगमा भने अनन्तले दुई वर्षअघिमात्र डेब्यु मौका पाए । अघिल्लो वर्ष २०७५ मा थ्री स्टार र मनाङ मर्स्याङ्दी गरी दुवै क्लबसँग सम्झौता गरेका कारण उनले लिग खेल्नै पाएका थिएनन् ।