मातृत्वको मिठासमा नविता

काठमाडौं । मातृत्वको अनुभव सबै महिलाका लागि एउटा मीठो क्षण हुने गर्छ । त्यही अनुभवको आनन्द लिइरहेकी छन्, आठपल्टकी राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ ।

माघ २८ उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन र क्षणमा पर्दछ । जुन दिन उनले त्रिुपेरश्वरस्थित ब्लुक्रस अस्पतालमा आफ्नो पहिलो सन्तानको रूपमा छोरा (रायन) लाई जन्म दिइन् । त्यतिबेला उनको शल्यक्रिया गर्ने तय भएको थियो ।

अस्पताल जाँदा सामान्य भएर जान तयार नवितालाई अस्पतालमा के-के सामान लैजानुपर्छ र के कस्तो बन्दोबस्त गर्नुपर्छ भनेर ज्ञान थिएन । तर उनीसँग प्रसूति अवस्थाका क्रममा अस्पतालमा भएको रमाइलो क्षण ताजै छ ।

नविता हाँस्दै सुनाउँछिन्, ‘रमाइलो भयो । बिहान ७ बजे सर्जरी गर्न अस्पताल पुग्यौं । सर्जरी हुन लाग्दा मनमा केही डर थिएन ।  तर, त्यसबीचमा असाध्यै निद्रा लाग्यो । डाक्टरलाई निद्रा लाग्यो म सुुत्छु भनेर सोधें । डाक्टरले हुन्छ भनेपछि एकछिन सुतें । त्यसपछि उठेर हेर्दा बच्चा जन्मिइसकेको रहेछ ।’

निद्राबाट ब्युँझिएपछि बच्चाको पहिलो दृश्यले आफूलाई छुट्टै संसारमा पुगेको अनुभव गराएको उनी बताउँछिन् ।

‘उसलाई नुहाइरहेको, सफा गरिरहेको, छोरा रोएको देखेर छुट्टै किसिमको अनुभव भयो । छुट्टै संसारमा पुगेको महसुस गरायो । एकदमै खुसी भएको थिएँ,’ उनले त्यो बेलाको क्षण सम्झिँदै भनिन् ।

बिहानदेखि बेलुकासम्म टेबलटेनिसको प्रशिक्षण र प्रतियोगितामा समय बिताउने नविताका लागि बच्चा सम्हाल्न सहज थिएन । खेल तथा पढाइमा हरेक चुनौतीलाई सजिलै सामना गरेकी उनका लागि आमा बन्नु भने जिन्दगीको सबैभन्दा ठूलो चुनौती रह्यो ।

‘मेरो जिन्दगी नै परिवर्तन भयो । अहिले बिहानदेखि राति र त्यसबीचसम्म पनि बाबु–बाबु मात्र हुन्छ । एकदमै राम्रो र रमाइलो अनुभव भइरहेको छ,’ उनले भनिन्, ‘बच्चाका स-साना कुरा पनि केही थाहा थिएन । दिदीबहिनीलाई सोधें, युट्युबमा हेरेर बाबुलाई सम्हालिरहेकी छु । अहिले अलि थाहा भइसक्यो ।’

नविताले आफू गर्भवती भएको आठ महिनासम्म पनि प्रशिक्षण गराइरहेकी थिइन् । छोरा ६ महिनाको हुँदा उनी प्रशिक्षणमा फर्किसकेकी थिइन् । तर, खेल्न नसकेपछि आराममा रहिन् ।

नविताले सिनावर्ता युनिर्भसिटीबाट एमबीए गरेकी छन् । पढाइ र खेललाई व्यवस्थापन गर्दै आएकी उनले खेल करियर र बच्चाको रेखेदख एवं लालनपालनमा भने सोचेजस्तो सहज नहुने अनुभव सुनाइन् ।

‘सोचजस्तो नहुने रहेछ । गर्न सक्छु भन्ने आत्मविश्वास छ तर व्यवस्थापन गर्न धेरै गाह्रो हुँदोरहेछ । तल प्रशिक्षण गराइरहेको हुन्छु, उता बाबु रोएको आवाज आउँदा के भयो भनेर मन शान्त हुँदैन । राति राम्रोसँग सुत्न पाइँदैन । उसलाई समय-समयमा खुवाउनुपर्छ । अलिकति गाह्रै भइरहेछ,’ बच्चा सम्हाल्दाको अनुभव उनले यसरी साटिन् । 

नेपालकी नम्बर एक टेबलटेनिस खेलाडी नविता घरेलु भूमिमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) यता प्रतिस्पर्धामा छैनन् । सागमा मिक्स डबल्सतर्फ नविताले स्यान्टु श्रेष्ठसँग मिलेर कांस्य पदक जितेकी थिइन् ।

विश्वभर कोभिड-१९ का कारण लकडाउन भएपछि खेलकुद पनि ठप्प भएको थियो । जसका कारण नवितालाई भने फाइदा नै भयो । यहीं समयमा उनको बच्चा जन्मियो र हुर्किंदै छ । यो समय खेलमा प्रतिस्पर्धा गर्नु नपरेपछि उनले एउटी आमाका लागि चाहिने जति आराम पाएकी छन् ।

टेबलटेनिसका स्टार स्यान्टु श्रेष्ठ पनि नविताको प्रशिक्षणमा उदाएका खेलाडी हुन् । स्यान्टुजस्तै धेरै खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ नविताले नयाँबजारको खुसिँबुमा २०७७ माघ १९ देखि ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ सञ्चालनमा ल्याएकी छन् ।

‘मेरो लक्ष्य स्यान्टुजस्तै अरू खेलाडी उत्पादन गर्ने हो । त्यसैले खेलाडीको संख्यामा भन्दा पनि उनीहरूको क्षमतामा ध्यान दिएको छु । एकेडेमीमा सीमित खेलाडीलाई मात्र लिएको छु । जसको धेरै खेल्ने इच्छा छ र पछिसम्म खेल्ने लक्ष्य राखेको छ, त्यस्तालाई मात्र प्रशिक्षण गराइरहेको छु । तीन–चार खेलाडीलाई सिकाउँछु तर उत्कृष्ट बनाउँछु भन्ने छ,’ उनले व्यावसायिक लक्ष्य सुनाइन् ।

घरसँगै जोडिएको एकेडेमीमा उनले बिहान र बेलुका दुई समय प्रशिक्षण दिन्छिन् । छात्रभन्दा छात्रा खेलाडी राम्रो भइरहेको उनको बुझाइ छ ।

दुई वर्षदेखि आराममा रहेकी नविताले केही समयपछि खेलमा पुनरागमन गर्ने सोच बनाएकी छन् । नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेलिरहेकी नविताले छोरा एक वर्षको भएपछि प्रशिक्षणको सुरुआत गर्ने सुनाइन् ।

‘म शतप्रतिशत खेलमा कमब्याक हुन्छु । पुलिसको जिम्मेवारी छ । यत्तिकै छोड्दिनँ । निरन्तरता दिन्छु । बाबु वर्षको भएपछि प्रशिक्षणमा फर्किन्छु,’ उनी भन्छिन् ।

भविष्यमा छोरालाई पनि टेबलटेनिस खेलाडी बनाउने लक्ष्य लिएकी नविताले १० महिना पुगेपछि छोरा रायनलाई एकेडेमी हलमा लगेर खेलाइसकेकी छन् । बेलामौकामा उनले छोरा रायनलाई टेबलटेनिसको भिडियोहरू देखाउने गर्छिन् । (तस्बिरहरु : कबिर महर्जन/खेलाडी)