विनोद डंगोल

मनाङसँगको गोलपोस्ट साइनो

काठमाडौं । हरेक खेलाडीको चाहना नै हुन्छ राष्ट्रिय टोलीको जर्सीमा प्रतिस्पर्धा गर्ने । यद्यपि, त्यो अवसर कमैले प्राप्त गर्छन् । अथक मिहिनतले मात्र हरेक खेलाडीको त्यो लक्ष्य पूरा हुनेमा दुईमत छैन । तर, कोहीले जीवनभर संघर्ष गरे पनि त्यो अवसर पाउँदैनन् ।

त्यसैले भनिन्छ एकाध कुरा भाग्यमा निर्भर रहन्छ । मनाङ मर्स्याङ्दी क्लबका पूर्व गोलकिपर विनोद डंगोल पनि त्यस्तै पात्रमध्ये एक उदाहरण हुन् । एक समय उनी मनाङको गोलपोस्टको पर्खालजस्तै थिए । अझ भनौं मनाङको ड्रिम टिमका एक सदस्य । नेपालको घरेलु लिग फुटबल सहिद स्मारक ‘ए’ डिभिजनमा मनाङको वर्चस्व रहँदाका महत्वपूर्ण सदस्यमध्ये एक हुन् विनोद ।

२०६० को दशकपछि मनाङको जस्तो बलियो टोली बिरलै देख्न पाइन्छ । त्यो समयको मनाङ निकै बलियो थियो । त्यो उत्कृष्ट टिम मानिन्थ्यो । नहोस् पनि किन ? त्यतिबेला उम्दा खेलाडी सबैजसो मनाङमै थिए । उनीहरूको व्यक्तिगत प्रदर्शन गजबको थियो । टिमसेट पनि थियो ।

टोलीमा थिए वसन्त गौचन, कुमार थापा, नवीन न्यौपाने, राजेश शाही, प्रकाश सुब्बा, नारायण मानन्धर, अनिल सुब्बा, नीराजन रायमाझी, दीपक लामा, उर्जेन श्रेष्ठ र राजेन्द्र तामाङ । त्यस समयमा यी खेलाडीको प्रभाव नेपाली फुटबलमा राम्रै थियो । यसै टोलीमा पोस्टको जिम्मेवारी निभाउने खेलाडी थिए विनोद । सरल रूपमा भन्नुपर्दा उनी गोलकिपर । 

२०६० सालमा मनाङको प्रदर्शन उम्दा रह्यो । त्यही वर्ष नै विनोदको प्रदर्शनले पनि घरेलु फुटबलमा सनसनी नै मच्चायो । अझ भनौं उनको प्रदर्शन लोभलाग्दो थियो । मनाङले १२ औं खेलमा गएर मात्र गोल खायो । यसक्रममा एक हजार मिनेटभन्दा बढी कुनै पनि खेलाडीले विनोदलाई पार गर्न सकेनन् ।

हरेक लागि उनी पर्खालजस्तै भए । यद्यपि उनी यो सफलताको श्रेय आफू मात्र लिन चाहँदैनन् । त्यो समयको मनाङ उत्कृष्ट थियो, त्यो उत्कृष्ट टोलीको साथमा आफूले पनि त्यो सफलता प्राप्त गरेको उनको बुझाइ छ । टिमका हरेक सदस्यले एकअर्कालाई राम्रोसँग बुझ्ने भएकाले पनि त्यो सफलता प्राप्त गरेको उनी सुनाउँछन् ।

‘त्यतिबेला हाम्रो टोली निकै मजबुत थियो । हरेक पोजिसनका खेलाडी नेपाली फुटबलका लागि व्यक्तिगतमा उत्कृष्ट थिए । साथै टिमसेट पनि थियो,’ गोलकिपर विनोदले भने, ‘त्यो टिममा एकअर्काप्रतिको बुझाइ राम्रो थियो । तथापि त्यो मेरो जीवनकै अविस्मरणीय क्षण हो ।’

उनमा मनाङसँगको लगाव बेजोड छ । मनाङबाटै उनले प्रशिक्षण सुरु गरेका थिए । खेलाडी जीवन सकिना साथ उनले त्यहींबाट प्रशिक्षण गर्न सुरु गरे । त्यसैले क्लबप्रतिको माया उनमा छ । त्यसैले मनाङसँगको सहयात्रा लामै भइसक्यो । ‘यहाँबाट मैले प्रशिक्षक प्रशिक्षण गरेको थिएँ । प्रशिक्षण पनि मनाङमा सुरु गरें । मनाङप्रति लगाव बढ्दै गयो,’ उनी भन्छन् ।

६० सालको केही वर्षपछि पनि मनाङ सबै टोलीका लागि चुनौती नै बन्न गयो । यद्यपि अहिले पनि मनाङ बलियो नभएको चाहिँ होइन । अझै पनि लिगमा मनाङको रवाफ उस्तै छ । लिग अगाडि मनाङलाई कमजोर टोली रूपमा हेरिन्थ्यो । तर, सुरु भएपछि मनाङले ती सब पक्षलाई झुटा साबित गरिदिएको छ । यही बलियो टोलीका गोलकिपर प्रशिक्षक हुन् विनोद ।

 उनीसँगै ड्रिम टिममा रहेका राजेन्द्र तामाङ पनि मनाङमै छन् । यसै वर्ष राजेन्द्र मनाङ आएपछि ड्रिम टिमका दुई सदस्यको भेट भएको छ । त्यस समय मनाङमा रहेका केही खेलाडी अझै पनि फुटबलमै छन् । त्यसमध्येका नवीन न्यौपाने, कुमार थापा र उर्जेन श्रेष्ठ हुन् । यी तीनै जारी ‘ए’ डिभिजन लिगको प्रशिक्षकमा छन् ।

नवीन त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक हुन् भने कुमार एपिएफमा छन् । उर्जेनले भने ललितपुरे क्लब थ्रीस्टार सम्हालिरहेका छन् । ‘त्यो समयका केही सहकर्मी प्रशिक्षणमै छन् । त्यो देख्दा खुसी लाग्छ । किनकि त्यो समयका धेरै सहकर्मी प्रशिक्षणमै छन् । केहीमात्र फुटबलबाट टाढिए,’ उनी बताउँछन् । एकअर्काप्रति आफ्नो समयमा जस्तो बुझाइको कमी अहिलेका खेलाडीमा देखिएको उनको बुझाइ छ । त्यो समय कमै मात्र मोफसलका प्रतियोगिता हुन्थ्यो । त्यसैले लिगको प्रदर्शन नै राष्ट्रिय टोलीको माध्यम बन्थ्यो । लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि ती खेलाडीका लागि राष्ट्रिय टोलीको ढोका खुल्थ्यो ।

तर, विनोदले राष्ट्रिय टोलीबाट कहिले पनि खेल्ने अवसर पाएनन् । त्यस समयका उत्कृष्ट गोलकिपर उपेन्द्रमान सिंहको छायाँमा उनी परे । त्यो समय उत्कृष्ट गोलकिपरहरू थिए । राष्ट्रिय टोलीमा पर्न निकै संघर्ष नै गर्नुपथ्र्यो । अधिकांश अनुभवी गोलकिपर रहेकाले पनि उनले अवसर पाएनन् । 

‘प्रत्येक खेलाडीको चाहना देशका राष्ट्रिय झण्डा छातीमा राखेर खेल्ने हुन्छ । त्यो अवसर कमैले मात्र पाउँछन् । तर, जीवनभर खेलमा लागेर त्यो अवसर नपाउनु दुःखको क्षण हो । मेरो जीवनमा पनि राष्ट्रिय जर्सी खेल्न नपाउनु खड्किरहेको छ,’ विनोदको एउटै गुनासो छ । यद्यपि, आफ्नो पालामा उपेन्द्रमान सिंहलगायत कयौं राम्रा खेलाडी रहेकाले आफू टोलीमा नपर्नु स्वाभाविक रहेको ठान्दै चित्त बुझाउँछन् उनी ।

‘त्यो समय नेपालमा सिनियर गोलकिपर धेरै थिए । सिनियर दाइहरू धेरै हुनुहुन्थ्यो । अहिले पो धेरै प्रतियोगिता हुन्छन् । एक दुई प्रतियोगितामा राम्रो प्रदर्शन गर्ना साथ अवसर पाइन्छ,’ विनोदले सुनाए, ‘त्यो समय अनुभवी गोलकिपर खोजिन्थ्यो । खेल्ने पाए पो अनुभव हुन्छ । खेल्ने नपाएपछि कहाँबाट अनुभवी ? बेन्च बसेर अनुभव प्राप्त हुँदैन । त्यसैले राष्ट्रिय टोलीमा परे पनि खेल्न पाइनँ ।’

त्यतिबेला प्रशिक्षकहरूमा जोखिम मोल्ने क्षमताको पनि कमी भएको उनी बताउँछन् । नयाँ खेलाडीलाई अवसर दिएको भए आफूजस्तै धेरै खेलाडीले देशको जर्सी लगाउन पाउने उनको भनाइ छ ।

उनका अनुसार म्याच एक्सपोजरका कारण देशलाई राम्रो ब्याकअप पनि प्राप्त हुन सकेन । ‘जति नै उत्कृष्ट भए पनि म्याच एक्सपोजरबिना केही हुँदैन । बेन्चमा बसेर मात्र अनुभवी होइँदैन । प्रशिक्षकले खेलाडीलाई विश्वास गर्नुपर्छ । मैत्रीपूर्ण खेलमा खेलाडीलाई प्रयोग गर्नुपर्छ । २०/२५ मिनेटमा भए पनि प्रयोग गर्दै जाने हो भने टोलीमा ब्याकअप मिल्छ,’ विनोदले त्यतिबेलाको पीडा सुनाए ।

वर्तमान नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग खेलाडी प्रयोग गर्ने राम्रो क्षमता राम्रो रहेको उनले माने । ‘अलमुताइरीले विशाल श्रेष्ठजस्तो करिब एक दशक बेन्चमा खुम्चाइएका खेलाडीलाई प्रयोग गर्नुका साथै अन्यलाई पनि अवसर दिइरहेका छन्,’ विनोदले भने, ‘त्यसले खेलाडीको मनोबल उच्च हुन्छ र राम्रो प्रदर्शन दिन सक्छ । सधैं बेन्चमा थन्क्याइँदा भएको क्षमता पनि ह्रास हुन्छ ।’