आशिष लामा

‘बेन्च हिटर’ आशिषको कथा

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब सधैं संघर्ष गरिरहने टोली हो । २०६३ सालमा सोझै शीर्ष डिभिजनको लिग खेल्ने मौका पाएयता रेलिगेसनको दबाबविना एपिएफले पूरा सिजन बिताएको अवसर दुर्लभ छ ।

कान्छो सुरक्षा निकाय खेलकुदका अन्य विधामा जस्तो पुरुष फुटबलमा आक्रामक रूपमा प्रस्तुत नहुँदा टोली प्रत्येक लिगमा रेलिगेसन दाबेदारमा सिजन सुरु गर्न अभिशप्त छ । टोलीको सूची हेर्दा कुनै पनि समय, कुनै न कुनै स्टार खेलाडीको नाम भेटिन्छ । तर त्यसअनुसार बाँकी पूरा टोली कहिल्यै तयार भएको देखिन्न ।

पछिल्लो समय एपिएफले पाएको स्टार नाम हो, आशिष लामा । पछिल्लो पटक दुई वर्षअघि टोलीले रेलिगेसनको खतराबाट जीवनदान पाउँदा सबैभन्दा महत्वपूर्ण भूमिका कसैको थियो भने त्यो आशिष लामाकै थियो ।

१४ क्लब सहभागी लिगबाट पुछारका दुई क्लब रेलिगेसनमा पर्दा एपिएफ मुस्किलले १२औं स्थानमा रहँदै शीर्ष डिभिजनको हैसियत जोगाउन सफल भएको थियो । त्यतिबेला संघर्षरत टोलीबाट आशिषले ९ गोल गर्दै लिगको उच्च गोलकर्ता पुरस्कार पनि जिते ।

उच्च गोलकर्ताको पुरस्कार जिते पनि राष्ट्रिय टोलीमा लिगमा गरेको प्रदर्शनको मूल्यांकन भएन । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सिविरमा रहेका आशिष अन्तिम टोली छानिँदा अटाएनन् । लिगमा प्रभाव जमाउनुअघि २०७५ चैतमा नै आशिषले कुवेतविरुद्धको शृंखलामार्फत राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका थिए ।

आशिषका लागि राष्ट्रिय टोलीको यात्रा सरल रेखामा कहिल्यै बगेन । बडो मुस्किलसँग उनले नेपालको जर्सीमा डेब्यु गर्नुपरेको छ । लगत्तै विश्वकप छनोटअन्तर्गत घोषित टोलीबाट उनी हटाइए । तर हरेस खाएनन् ।

‘राम्रो लयमा थिएँ । मैले राम्रो गरें जस्तो पनि लाग्छ । तर राष्ट्रिय टिममा परिनँ । मलाई त्यसले निराशभन्दा पनि अझै समय बाँकी छ, तिमीले आफ्नो क्षमता अझै देखाएको छैन भनेर आफ्नै मनोबल बढाएर अगाडि बढिरहें,’ उनले आफूले आफैंलाई सान्त्वना दिए ।

फुटबलमा नभएपछि उनले फुटसलमा प्रयास गरे । इरानमा भएको एएफसी फुटसल च्याम्पियनसिप छनोट–२०२० पनि खेले ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको नेतृत्व लिएयता भने आशिषले राष्ट्रिय टोलीमा नियमित स्थान बनाइरहेका छन् । तथापि मैदानमा अत्यन्तै कम समय बिताउने मौका पाएका आशिष अर्को महिना दशरथ रंगशालामा मोरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि घोषित ३४ सदस्यीय प्रारम्भिक टोलीमा छन् । शृंखला खेल्ने २३ सदस्यीय अन्तिम टोलीको टुंगो लाग्न बाँकी छ ।

जारी लिगमा एपिएफ रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ । तथापि आशिषको गोल गर्ने फर्म भने तारिफयोग्य छ । यसपालि पनि उच्च गोलकर्ताको दौडमा रहेका आशिष सात खेलमा ४ गोल गर्दै अग्रस्थानमा छन् । त्यसैले राष्ट्रिय टोलीमा पर्ने आशाका लागि उनी हकदार पक्कै छन् ।

दुई महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलसम्म यात्रा गर्दा उनी टोलीका सदस्य थिए । तर माल्दिभ्स, श्रीलंका र भारतविरुद्ध बेञ्चमै सीमित उनले बंगलादेशविरुद्धको निर्णायक खेलमा ८५ मिनेटपछि मात्रै मौका पाए । उनको भाग्य यस्तो थियो कि फाइनलमा फेरि बेन्चमै सीमित रहनुपर्यो ।

मैदानमा पर्याप्त समय बिताउन नपाए पनि आशिषका लागि माल्दिभ्समा पाएको त्यो अवसर र उपलब्धि खेलजीवनकै उत्कृष्ट क्षण बनेको छ । इतिहासको पानामा उनको नाम पनि अंकित भइसकेको छ ।

‘साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु मेरो जीवनको ‘वेस्ट मुभमेन्ट’ हो । यो नेपालको इतिहास हो । लामो तयारी गरेका थियौं । धेरै मिहिनेत गरेका थियौं, त्यसको फल पायौं,’ २६ वर्षीय आशिष भन्छन्, ‘फाइनलमा पनि राम्रो हुन्छ भन्ने थियो । तर कारणवश सोचेजस्तो नतिजा आएन । कार्डका कारण फाइनलमा प्रशिक्षक प्रतिबन्धमा हुनुहुन्थ्यो । त्यसले पनि हामीलाई घाटा भयो ।’

खेलाडीमा अर्काे साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने ईख छ । तर त्यसका लागि प्रशासनिक स्तरमा ठूलो परिवर्तन आवश्यक देख्छन् उनी । भारतको स्तर दक्षिण एसियामै धेरै माथि भए पनि नेपालसँग खेल्नसक्ने प्रतिभावान खेलाडी भएकाले सही नीति अवलम्बन गरेर अगाडि बढे जित्न सकिने उनको विश्वास छ ।

प्रतिवद्धताका साथ उनी भन्छन्, ‘सबै खेलाडी व्यावसायिक हुनु जरुरी छ । हरेक कुरा गर्दा फुटबलमात्रै सोच्न पाइयोस्, अरू कुनै चिन्ता लिनै नपरोस् । आर्थिक तथा व्यावसायिक सिस्टम होस्, खेलाडीलाई बाँच्ने आधार होस्, खेलिरहेका बेला परिवारलाई सम्झनु नपरोस् । फुटबलनै मेरो जिन्दगी हो, फुटबलमै गर्नुपर्छ भन्ने अवस्था सिर्जना होस् । हामी भारतलाई हराएर उपाधि जित्नेछौं ।’

नुवाकोट गेर्खुका स्थायी बासिन्दा आशिषका लागि राष्ट्रिय खेलाडी बन्नुपछाडि आफंैमा रोचक कथा छ । बुबा श्यामबहादुर नेपाल प्रहरीमा जागिरे भएपछि उनको परिवार काठमाडौं बस्न थालेको थियो । आशिष पनि काठमाडौंमै हुर्किए । ‘नेपाली फुटबलको घर’ दशरथ रंगशाला नजिकैको विश्व निकेतन स्कुलमा अध्ययन गर्ने क्रममा उनी स्कुलस्तरीय फुटबलमा रमाइरहेका थिए ।

त्रिपुरेश्वरको फुटबल माहोलले उनलाई व्यावसायिक करियरको बाटो देखायो । एसएलसी सकिनेबित्तिकै मासिक ८ हजार तलब पाउने गरी नजिकैको न्युरोड टिम (एनआरटी) ले उनलाई अनुबन्ध गर्यो । तर पारिवारिक दबाबका कारण उनले केही महिनामै फुटबल थाँती राखेर पढाइमा आफूलाई केन्द्रित गरे ।

१२ कक्षाको अध्ययन सक्दासम्म उनको परिवार कलंकी बसाइ सरेको थियो । स्थानीय नवज्योति युवा क्लबको प्रस्तावअनुसार उनले २०६९ सालको ‘सी’ डिभिजन लिग खेले । ‘सी’ डिभिजनमा गरेको राम्रो प्रदर्शनबाट प्रभावित भएर लगत्तैको वर्ष टुसाल युथ क्लबले उनलाई ‘बी’ डिभिजन लिगमा मौका थियो ।

‘बी’ डिभिजनमा राम्रो प्रदर्शन गरेपछि २०७१ सालमा उनले नेपाली फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबको ध्यान ताने । बलियो बनाउने उद्देश्यका साथ मनाङले टिममा समावेश गरेका उनै आशिषले राष्ट्रिय लिगमा चार गोल गरेर आफ्नो क्षमता प्रमाणित गरे ।

‘एक हिसाबले भन्दा मेरो करियर ट्र्याकमा आउँदै थियो । तर भुइँचालो र फुटबल राजनीतिका कारण त्यसपछि लामो समय लिग भएन । फुटबल गतिविधि ठप्पजस्तै भए । मनाङबाटै मोफसलका प्रतियोगिताहरू खेलें । हिमालयन शेर्पा र ब्वाइज युनियनबाट पनि केही प्रतियोगिता खेलें,’ आशिष विगत सम्झन्छन्, ‘त्यसले झन्डै मलाई नेपाली फुटबलबाट धेरै टाढा हुत्याइसकेको थियो । तर भाग्यवश म यहीं छु ।’

भएछ के भने, आशिष एउटा सामान्य आर्थिक अवस्थाको परिवारबाट आएका खेलाडी । मोफसलका प्रतियोगिता खेलेको भरमा गुजारा नचल्ने भयो । अनि केही सिनियर दाजुहरूको सल्लाहबमोजिम भारतीय सेनामा भर्ती हुने सोचका साथ उनी तीन महिना सिलोङ हानिएछन् । जहाँ विभिन्न चरणका परीक्षा दिएपछि अन्तिममा भारतीय सेना बन्ने उद्देश्य पूरा भएन । असफल भएर निराशाका साथ देश फर्किए ।

नेपाल फर्किएपछि जागिर खाने र फुटबल खेल्ने आशिषको दुवै इच्छा एपिएफले पूरा गरिदिने वातावरण मिल्यो । अन्य सामुदायिक क्लबबाट पनि प्रस्ताव नआएका होइनन् । तर आशिषले भविष्य हेरेर एपिएफ रोजे । आशिष एपिएफ पुगेपछि नयाँ निर्वाचनबाट आएको एन्फाको नेतृत्वले २०७५ सालमा रेलिगेसनविनाको लिग आयोजना गर्यो । जहाँ एपिएफको टोलीमा आशिषको भूमिका ‘हिटर’ को थियो ।

‘जागिर सँगसँगै खेल्छु भनेर आएँ । तर २३ मा स्थान बनाउनै गाह्रो भयो । त्यहाँ स्थान बनाएपछि प्लेइङ सेटमा मौका नै नपाउने,’ आशिष सम्झन्छन्, ‘पहिलो रोजाइको कोही खेलाडी घाइते भयो भने कसैले कार्डका कारण निलम्बन भोग्नुपर्यो भने मात्र मेरो मौका आउँथ्यो । वैकल्पिक खेलाडीकै रूपमा रहेर पनि मैले त्यो लिगमा तीन गोल गरें । आर्मीलाई दुई र मछिन्द्रविरुद्ध एक गोल गरेको थिएँ ।’