कोभिड–१९ को प्रकोपले करिब दुई वर्ष थलिएको नेपाली खेलकुदले बितेको एक वर्षमा पूर्ववत लय समाउने पूर्ण जमर्को गर्यो । त्यसो त वर्षको सुरुमा कोभिडका कारण चलायमान बन्न नसके पनि पछिल्लो करिब ७/८ महिना भ्याइनभ्याई नै रह्यो । पुरुषको तुलनामा महिला खेलकुद कम हुने चलन यसपालि पनि कायमै रह्यो । तर, सीमित प्रतियोगितामा आफ्नो खेलकौशल देखाउने मौका पाएर आफूलाई अब्बल साबित गरेका पाँच उत्कृष्ट महिला खेलाडीलाई खेलाडी डटकमले यसरी सूचीकृत गरेको छ ।
शान्ति थारु (भलिबल)
नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ खेलमै उत्कृष्ट प्रदर्शन गरेकी शान्ति थारु बितेको वर्ष २०७८ मा आफ्नो विशेष छाप छोड्न सफल भइन् ।
नेपालले एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता जित्दाको टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् शान्ति । पहिलो पटक नेपालको जर्सीमा उत्रिएकी शान्तिले श्रीलंकाविरुद्ध उत्कृष्ट पुनरागमन जनाउँदै प्राप्त गरेको जितको प्रदर्शनले पनि उनलाई चर्चाको शिखरमा पुर्यायो ।
सोही खेलमार्फत उत्कृष्ट लय समातेको नेपाली टोलीले त्यसपछि एक सेट पनि नगुमाई फाइनलसम्म यात्रा तय गरेको थियो । कोभिड–१९ महामारीका कारण दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो ।
यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेर अन्तिम टोलीमा स्थान बनाउन नसकेकी शान्तिले यसपालि मौकाको फाइदा गजबसँग उठाइन् । पहिलो खेलमा प्रशावशाली प्रदर्शन गरेकी शान्ति प्रतियोगिता अगाडि बढ्दै जाँदा टोलीकी महत्त्वपूर्ण सदस्यको रूपमा स्थापित भइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभए पनि शान्ति घरेलु प्रतियोगितामा जमेकी खेलाडी थिइन् । ओपन स्पाइकरको भूमिकाबाट खेल्ने शान्ति आर्मीकी महत्त्वपूर्ण खेलाडी हुन् । केही वर्षदेखि घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी आर्मीका लागि शान्ति धेरै अंक जोड्ने खेलाडीमध्ये एक हुन् ।
अरुणा शाही (भलिबल)
तुलनात्मक रूपमा पुरुषको भन्दा धेरै महिलाका प्रतियोगिता हुने खेल हो, भलिबल । कोभिडले स्वतस्फूर्त रूपमा चल्ने मौका नपाए पनि नेपाली भलिबल अन्तर्राष्ट्रिय सफलतासहित करिब वर्षभरी नै घरेलु प्रतियोगितामा व्यस्त रह्यो ।
सोही क्रममा नेपालले अरुणाकै कप्तानीमा पहिलो पटक सन् २०१९ मा बंगलादेशमा आयोजित एभिसी सेन्ट्रल जोनमा जितेको ऐतिहासिक स्वर्ण पदक यसपालि पनि रक्षा गर्न सफल भयो । बितेको वर्ष बंगलादेशमा नै आयोजना भएको यही प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रलाई पुनः स्वर्ण पदक दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
नेपालकी सर्वाधिक सफल कप्तानसमेत रहेकी अरुणाले नेपाली महिला भलिबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउने कप्तानको जस पनि पाइसकेकी छन् ।
राष्ट्रिय टिममा परेर देशका लागि खेल्नका लागि अरुणाले देखेको सपना २०७१ सालमा पूरा भएको थियो । नेपालमै भएको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताका लागि खुला छनोटबाट राष्ट्रिय टिममा स्थान सुरक्षित गर्न सफल अरुणाले माल्दिभ्ससँग खेल्दै नेपालको जर्सीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यो प्रतियोगितामा नेपाल उपविजेता भएको थियो । सन् २०१८ मा आएर राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी अरुणाको नेतृत्वमा नेपालको प्रदर्शन उकासिँदै गएको भन्न अप्ठेरो मान्नुपर्दैन ।
स्वभावले शान्त भए पनि आक्रामक खेल प्रस्तुत गर्ने अरुणा वर्षकी उत्कृष्ट महिला खेलाडीमध्ये एक हुन् । यसमा कुनै दुविधा छैन ।
ज्योति पाण्डे (क्रिकेट)
नेपाली क्रिकेटमा महिलाका प्रतियोगिता कमै हुन्छन् । र, ती सीमित प्रतियोगितामा असीमित प्रस्तुति दिएर आफूलाई प्रमाणित गर्ने चुनौती नेपाली महिला खेलाडीले सधैं खेप्नुपरेको छ ।
यस्ता सीमित प्रतियोगितामा पनि आफूलाई अब्बल साबित गर्ने प्रभावशाली खेलाडी हुन् क्रिकेटर ज्योति पाण्डे । राष्ट्रिय टिमकी नियमित सदस्य रहँदै आएकी ज्योति घरेलु क्रिकेटमा एपिएफ क्लबको प्रतिनिधित्व गर्छिन् ।
ओपनर ब्याटर र विकेटकिपिङमा उनको उपस्थितिले कान्छो विधाको एपिएफलाई परिपक्व टिम बनाउँछ । र, यसको उदाहरण यो वर्ष पनि ज्योतिले देखाइन्, जब एपिएफले सुदूरपश्चिमलाई हराउँदै ललितपुर उपमेयर कप महिला क्रिकेट च्याम्पियनसिप जित्यो । त्यो फाइनलमा उनी प्लेयर अफ द फाइनल चुनिइन् । सँगै प्रतियोगिताभर गरेको प्रभावशाली प्रदर्शनका आधारमा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटरको हकलाग्दो पुरस्कारबाट पनि विभूषित भइन् ।
खेलकुद व्यावसायिक भइनसकेको नेपालजस्तो देशमा सामान्यतया प्रतियोगिताको वरिपरी खेलाडीहरू जुर्मुराउने गर्छन् । तर केही यस्ता खेलाडी पनि हुन्छन्, जो क्यालेन्डर नहेरी सधैंभरि आफूलाई फिट राखिरहन्छन् । जुनसुकै बेला मैदान उत्रनका लागि आफूलाई तयार राखिरहन्छन् । ज्योति त्यस्तै खेलाडी हुन् ।
कोभिड महामारीको बीचमा पनि एक्लै व्यायाम तथा अभ्यासमा रहने गरेकै कारण अहिले उनलाई फाइदा पुगेको छ । कोभिड महामारी नियन्त्रणमा आउन थालेसँगै बढ्न थालेका प्रतियोगितामा ज्योतिको प्रभाव मैदानमा देखियो । घरेलु प्रतियोगितामा चलेको उनको ब्याट र विकेटकिपिङको जादु त्यसको नमुना हो ।
अनुषा मल्ल (बास्केटबल)
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न लामा टेण्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित अनुषा मल्ल बितेको वर्ष नेपाली खेलकुद आकाशमा चम्किएकी नक्षत्र हुन् । जति धेरै प्रतियोगिता, त्यति धेरै प्रतिभा प्रस्फुटनको अवसर हुन्छ ।
गत वर्ष त्यस्तै प्रभावशाली प्रदर्शन गर्ने अनुषा राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् । सन् २०१२ मा चीनको हायाङमा भएको तेस्रो एसियन बिच गेम्समा थाइल्यान्डविरुद्ध खेल्दै अनुषाले डेब्यु गरेकी थिइन् ।
कोभिडका कारण प्रभावित बनेको बास्केटबलको प्रतियोगिता लामा टेण्डी स्मृति बास्केटबलमा खेल्न पाउँदा उनको खुसीको सीमा थिएन । हो, धेरै खेलहरू यस्ता छन्, जसका नियमित प्रतियोगिता नहुँदा खेलाडी दिक्क हुन्छन् । र, उनीहरूको खेलप्रतिको लगाव नै डगमगाउँछ ।
तर, परिवारको साथ र हौसला पाएकी अनुषा बास्केटबलबाट खुसी र सन्तुष्ट खेलाडीको रूपमा आफूलाई प्रस्तुत गर्छिन् । प्रतियोगिता नहुँदा पनि आफूलाई फिट राख्न उनले विश्वभर कोभिड–१९ का कारण लकडाउन हुँदा पनि प्रशिक्षण गर्न छाडिनन् ।
अनुषाको त्यति बेलाको मिहिनेतले लामा टेण्डी स्मृतिमा उनलाई ‘पे–अफ गर्यो । नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी अनुशाको ‘बल ह्याडलिङ’को प्रशंसा धेरैले गर्छन् । त्यसो त उनलाई ‘ड्रिब्लिङ’ क्विनको उपमा पनि दिइन्छ ।
नेपाली बास्केटबलमा आफूलाई स्थापित गरिसकेकी अनुषाले बितेको वर्ष पनि आफ्नो प्रभावकारी प्रदर्शन कायम राखिन् ।
रसिला महर्जन (ब्याडमिन्टन)
वर्षौंदेखि करोडौं अबौ लगानी भइरहेका खेलहरूको अस्तित्व नेपाली खेलकुदमा खोज्नुपर्ने अवस्था आउँदा ब्याडमिन्टनले राष्ट्रयलाई पछिल्ला वर्षमा पुर्याएको योगदान अस्वाभाविक छ । नहोस् पनि कसरी जब त्यो खेलसँग पुरुषमा प्रिन्स दाहाल र महिलातर्फ रसिला महर्जन जस्ता खेलाडी छन् ।
यो वर्ष एक हिसाबले भन्ने हो भने नेपाली खेलकुद ब्याडमिन्टनको वर्ष रह्यो । पुरुषतर्फ विश्व वरीयताको शीर्षस्थानमा प्रिन्स पुग्दा महिलाको जुनियरतर्फ रसिलाले युगलतर्फ सातौं स्थान हासिल गरिन् ।
रसिलाले १३ वर्षकै उमेरमा नेपालको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन् । नेपाली ब्याडमिन्टनको चम्किलो तारा बनेकी रसिला घरेलु प्रतियोगितामा आर्मीको प्रतिनिधित्व गर्छिन् ।
सन् २०२४ मा हुने पेरिस ओलम्मिक प्रोजेक्टको छात्रवृत्तिमा परेकी रसिलाको लक्ष्य ओलम्पिक छनोट हुने छ । सानै उमेरमा धेरै अनुभव र उपलब्धि बटुलिसकेकी रसिलाले विश्व नम्बर सात बन्दै सनसनी मच्चाएकी थिइन् ।
बितेको वर्ष नै सिनियरतर्फ राष्ट्रियस्तरका प्रतियोगिता खेलेकी रसिलाले भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिपमा असामान्य खेल पस्किँदै सनसनीपूर्ण रूपमा स्वर्ण पदक चुमिन् ।
०७१ सालदेखि लगातार ब्याडमिन्टन खेल्दै आएकी रसिलाले दुई दर्जनभन्दा धेरै सफलता हात पारिसकेकी छन् । नेपाललाई ब्याडमिन्टनको माध्यमबाट विश्वमा चिनाउन सफल भइसकेकी रसिला बितेको एक वर्षमा नेपाली स्टार बनेर स्थापित भइन् ।