अब्दुल्लाह अल्मुताइरी (फुटबल, राष्ट्रिय टोली)
चर्चामा आफू कसरी छाउनुपर्छ । त्यो कसैबाट राम्रो ढंगले सिक्न सकिन्छ भने त्यो अब्दुल्लाह अल्मुताइरीबाटै हो । यी राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक निरन्तर चर्चामा छाइरहे । कारण जस्तै होस् । राम्रो वा नराम्रो । सायद उनी आफैं पनि ‘टक अफ द टाउन’ हुन रूचाउने खालका छन् ।
त्यसैले त होला, उनी सामाजिक सञ्जालमा पनि उक्तिकै सत्रिय छन्, अनि लोकप्रिय पनि । मैदानमै पनि उनी धेरैहदसम्म चम्किए । उनकै नेतृत्वमा त हो, नेपाल पहिलोपल्ट साफ च्याम्पियनसपको फाइनल पुगेको । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा आयोजक देश र बंगलादेश जस्ता टिमलाई पन्छाएर नेपाल फाइनल पुगेको थियो । यो नेपाली फुटबलका लागि आफैंमा उल्लेखनीय पक्ष हो ।
प्रवेश कुटवाल (फुटबल, मछिन्द्र क्लब)
भन्नेहरू भन्छन्, प्रवेश कटुवाल अझै पनि माथिल्लो डिभिजनमा फुटबल खेल्न सक्षम छन् । उनी यति फुर्तिला छन् कि । तर जतिबेला उनले वास्तवमै फुटबल खेल्थे, कहिल्यै पनि राष्ट्रिय टिमबाट खेल्न पाएनन् । उनको मनमा यसलाई लिएर कसै चिसो पक्कै छ । प्रशिक्षकका रूपमा भने उनी उम्दा निस्किएका छन् । दुई वर्षअगाडि उनकै नेतृत्वमा मछिन्द्रले पहिलोपल्ट सहिद स्मारक लिग ‘ए’ डिभिजन जितेको थियो, यसपल्ट पनि उनकै प्रशिक्षणमा मछिन्द्रले यो सफलता दोहोर्याएको छ । उनलाई प्रायः प्रश्न गरिन्छ, कसरी मछिन्द्रका स्टार खेलाडीलाई एउटै टिममा मिलाएर राख्न सकिएको ? उनको खुबी नै यही देखिएको छ । भनौं, मछिन्द्रको रथलाई उनले मज्जाले हाँकेका छन् ।
बालगोपाल महर्जन (फुटबल, काठमाडौं रेजर्स)
नेपाली फुटबलका पक्कापक्की लिजेन्ड हुन्, बालगोपाल महर्जन । उनी खेल्दा उम्दा थिए, प्रशिक्षक हुँदा पनि । यसमा कसैको दुईमत हुन सक्ला, तर तथ्यांकले त झुटो बोल्दैन । त्यसैले त केही उनी जत्तिको भाग्यमानी अरू कोही छैनन् पनि भन्छन् । उनको नेतृत्वमा नेपालले एएफसी यू–२३ छनोट खेलेको थियो । तर, त्यसको नतिजा भने राम्रो रहेन । उनकै नेतृत्वमा काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) जित्यो । घरेलु फुटबलमा अहिलेसम्मकै सबैभन्दा अब्बल दर्जाको प्रतियोगितामा पर्छ यो पहिलो संस्करण । यसमै उनले काठमाडौंलाई उतारचढावबीच च्याम्पियन बनाए ।
पुबुदु दासानायके (क्रिकेट, राष्ट्रिय टोली)
श्रीलंकाली मूलका क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेको हातमा फेरि एकपल्ट नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी यही वर्ष आइपरेको छ । यसअघि पनि उनले नेपाली टिम हेरिसकेका थिए । त्यही बेला त हो, उनले नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराएको । यसपल्ट उनले यही काम भने गर्न सकेनन् । नेपाल छनोट नजिक पुगेर पनि बाहिरियो । तर, उनी आएयता टिममा केही न केही परिवर्तन देखिएको छ । सबैभन्दा ठूलो पुबुदु आएयता नेपाली राष्ट्रिय टिम आफैं परिवर्तनबाट गुज्रिइरहेको छ । अझभन्दा पुस्ता हस्तान्तरण भइरहेको छ । उनको मुख्य काम यही परिवर्तन सुमधुर बनाउनु हुनेछ ।जगदीश भट्ट (भलिबल, राष्ट्रिय टोली)
०७८ मा नेपाली खेलकुदले हात पारेको सबैभन्दा ठूलो सफलता भलिबलको रह्यो । त्यो पनि महिला भलिबल टिमको । जगदीश भट्टको प्रशिक्षणमा नेपाली महिला टिमले बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन मेन्स एन्ड वुमेन्स भलिबल च्यालेन्ज कपमा पहिलो स्थान हात पारेको थियो । फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएको थियो । त्यो पनि कडा पाँच सेटको प्रतिस्पर्धामा । यो कठिन जित थियो । तर त्यत्तिकै मीठो जित रह्यो । यस्तै खेलबाट निस्कने त हो वास्तविक विजेता । नेपाल पूरा प्रतियोगिता अपराजित रहेर उपाधि जितेको थियो । त्यसमाथि नेपालले उपाधि जितेको यो दोस्रोपल्ट थियो, यसको राम्रै श्रेय प्रशिक्षक भट्टलाई जानुपर्छ ।