नेपाली खेलक्षेत्रमा योगदान गरेवापत खेलकर्मीहरू विभूषित हुन थालेको सबैभन्दा प्रतिष्ठित स्पोर्ट्स अवार्डले आउँदो मंगलबार २५ औं वर्ष (रजत वर्ष) पूरा गर्दै छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेलाडी, प्रशिक्षक र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको यो अवार्डले २५ वर्षको लामो यात्रामा थुप्रै घुम्ती, उकालो–ओरालो र चौतारीहरूको सम्झना साँच्न भ्याइसकेको छ । क्यालेन्डर २५ पटक परिवर्तन भए पनि बीचमा केही वर्ष अवार्डले निरन्तरता पाउन सकेन । त्यही कारण मंगलबार प्रज्ञा भवनमा हुने स्पोर्टस अवार्ड १८औं हो ।
२०५२ सालमा स्थापित मञ्चले दुई वर्षपछि सुरु गरेको अवार्ड २०६० सालयता मात्र निरन्तर रूपमा हुन थालेको हो । यस कालखण्डमा पनि एकपल्ट अवार्ड हुन सकेन । २०७२ सालमा गएको शक्तिशाली महाभूकम्पका कारण देश र खेलक्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो । जहाँ नेपाली खेलकुदका संरचनामा मात्र ध्वस्त भएनन्, खेलाडी र खेल पत्रकारले पनि ज्यान गुमाए । देशमा यस्तो विपत्ति आइपर्दा पत्रकार मञ्चले भव्य समारोहबीच अवार्डको उत्सव मनाउनु आवश्यक देखेन । र, त्यो वर्ष अवार्ड नगर्ने निर्णय गर्यो ।
|
अवार्ड १८औं संस्करणको यात्रामा आइपुग्दा यसले थुप्रै नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई आपनो राष्ट्रप्रति गरेको योगदानमा आत्मसन्तुष्टि लिने अवसर जुराइदिएको छ ।
पहिलो संस्करणमा वर्ष पुरुष, महिला, प्रशिक्षक र लाइफटाइम एचिभमेन्ट विधामा सम्मानित गरिएको थियो । त्यो वर्ष पुरुषमा फुटबलका देवनारायण चौधरी र महिलामा तेक्वान्दोकी संगीना वैद्य सम्मानित भए । प्रशिक्षकमा भने भारोत्तोलनका पार्थ सारथी सेन गुप्तले त्यो अवार्ड पाए । नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई भने लाइफटाइम एचिभमेन्ट अवार्डबाट विभूषित गरियो । यो विधामा अहिले पनि सम्मानित गरिँदै आएको छ ।
२०६० को दशकमा मार्सल आट्र्सले नेपाली खेलकुदमा वर्चस्व जमाएको थियो । २०६० सालमा पुनः स्पोर्ट्स अवार्ड फर्किंदा पनि तेक्वान्दोकी संगीना वैद्य नै वर्षको उत्कृष्ट महिला खेलाडी चयन भइन् । पुरुषमा भने एथलेटिक्सका राजेन्द्र भण्डारी उत्कृष्ट भए ।
अर्को वर्ष पनि राजेन्द्रले नै त्यो अवार्ड जित्दा महिलामा भने ब्याडमिन्टनका पूजा श्रेष्ठ र सुमिना श्रेष्ठको जोडीले सफलता पाएको थियो । यस वर्ष नयाँ विधाको रुपमा युवा वर्ष खेलाडी थपियो । फुटबलका प्रदीप महर्जन युवामा उत्कृष्ट चुनिए ।
२०६२ सालदेखि नै स्पोटर््स अवार्डले प्रायोजक भित्र्यायो र एलजी स्पोर्ट्स अवार्डको नामबाट अवार्ड हुन थाल्यो । त्यो वर्ष अवार्ड नै क्रिकेटमय बन्यो । वर्ष खेलाडीमा विनोद दास र प्रशिक्षकमा क्रिकेटकै प्रशिक्षक रोय लुक डायसले अवार्ड जित्दा युवामा पनि क्रिकेटकै कनिष्क चौगाईंले बाजी मारे । महिला भने एथलेटिक्सकी निर्मला भारतीले अवार्ड जितिन् । यसै वर्षदेखि लाइफटाइम एचिभमेन्ट अवार्डलाई फेरि निरन्तरता दिइयो । एथलेटिक्सका गजराज जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
तीन संस्करण चौधरी गु्रपको एलजीले साथ दियो । यसले गर्दा यो अवार्डले थप उडान भर्ने अवसर पायो ।
२०६३ सालदेखि महिला, पुरुष, प्रशिक्षक र युवामा ५–५ जनाको नाम मनोनयन गरेर एकलाई विजेता घोषणा गर्ने परम्परा सुरु भयो । पुरुषमा दीपक विष्ट, महिलामा मनिता साही, प्रशिक्षकमा क्वान हुक जुकले अवार्ड जित्दा यस वर्ष तेक्वान्दोको वर्चस्व कायम भयो । युवा विधामा पनि तेक्वान्दोकै आयशा शाक्यले अवार्ड जितेकी थिइन् । दीपक विष्टले अर्को वर्ष पनि अवार्ड जित्दा महिलामा क्रिकेटकी नेरी थापा र प्रशिक्षकमा फुटबलका विराटकृष्ण श्रेष्ठले सफलता पाए । २०६५ सालको संस्करणदेखि अवार्डले नेपालको ठूलो व्यावसायिक घरना गोल्छा अर्गनाइजेसनको साथ पायो । जसका कारण पुरुष र महिला विजेताले पल्सर मोटरबाइक पुरस्कार पाउन थाले ।
२०६५ सालमा पहिलोपल्ट फुटबलरले पुरुषतर्फ अवार्ड जित्दा जुमनु राईले त्यो सफलता पाए । पौडीकी करिश्मा कार्कीले महिलामा र एथलेटिक्सका प्रशिक्षक सुशील नरसिंह राणा उत्कृष्ट भए । ०६४ सालकै संस्करणदेखिको अवार्ड नियाल्ने हो भने क्रिकेटका पारस खड्काले कुनै न कुनै समय अवार्डमा आफ्नो नाम लेखाए । त्यस वर्ष पहिलोपल्ट युवामा अवार्ड जितेका पारस २०६६, २०६९, ०७० र ०७४ सालमा वर्षको उत्कृष्ट पुरुष खेलाडी भएका छन् । यसबीच ०६७ सालमा बक्सिङका दीपक महर्जन र ०६८ सालमा गल्फका शिवराम श्रेष्ठ वर्ष खेलाडी चुनिए । एसियाडमा कांस्य पदक जितेपछि दीपकले त्यो सफलता पाएका थिए ।
|
०६७ मा महिलातर्फ फुटबलकी जमुना गुरुङ र प्रशिक्षकमा प्रचण्ड शर्माले सफलता पाए । करातेकी गंगादेवी अधिकारीले पनि ०६६ र ०६९ सालमा गरी दुई पटक अवार्ड जितेकी छन् । २०६८ देखि ७० सम्म तीन वर्ष क्रिकेटका प्रशिक्षक हाबी भए । जगत टमाटाले पहिलो पटक जित्दा श्रीलंकाली क्रिकेट प्रशिक्षक पुबुदु दसानायकेले लगातार दुई वर्ष जिते । ०६८ सालमा भारोत्तोलनकी तारादेवी पुन र ०७० मा जुडोकी सुनीता बोहरा महिलातर्पm उत्कृष्ट खेलाडी भए । २०७२ सालमा भूकम्पका कारण २०७१ को प्रदर्शनका लागि दिइने अवार्ड नै प्रभावित हुन पुग्यो ।
तर, त्यसको अर्को वर्ष भने पुरुषमा फुटबलका नवयुग श्रेष्ठ, महिलामा जुडोकी फुपुल्हामु खत्री र प्रशिक्षकमा फुटबलकै बालगोपाल महर्जनले अवार्ड जितेका थिए । त्यो वर्ष फुटबल र फुपुल्हामुले १२औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । युवामा पनि फुटबलकै अञ्जन विष्टले बाजी मारेका थिए ।
२०७३ सालको संस्करणमा पनि फुटबलकै किरणकुमार लिम्बुले पुरुषतर्फ मुख्य अवार्ड जिते । महिलामा ब्याडमिन्टनकी नङ्सलदेवी तामाङ उत्कृष्ट भइन् । वर्ष प्रशिक्षकमा एथलेटिक्सका पुष्पराज ओझा चुनिए । युवामा जुडोकी मनिता श्रेष्ठ प्रधान उत्कृष्ट भइन् ।महिलामा पनि २०७४ सालमा ब्याडमिन्टनले नै बाजी मार्दा शोभा गौचन उत्कृष्ट भइन् । क्रिकेटको दबदबा रहेको यस वर्ष पुरुषमा पारस र प्रशिक्षकमा जगत टमाटाले बाजी मारेका थिए ।
२०७५ सालमा भने प्याराग्लाइडिङको वर्चस्व रह्यो । एसियाडमा रजत पदक दिलाएको प्याराग्लाइडिङ टोलीको योगदान अवार्डमा देखियो । नेपाललाई २० वर्षपछि एसियाडमा पदक दिलाएका प्याराग्लाइडिङ टोलीका खेलाडी युकेश गुरुङ वर्ष खेलाडी हुँदा प्रशिक्षकमा योगेश भट्टराई उत्कृष्ट भए । महिलामा भने फुटबलकी सावित्रा भण्डारी वर्षकी उत्कृष्ट महिला खेलाडी भइन् ।
हरेक वर्ष मञ्चले अवार्डलाई समयसापेक्ष नयाँ प्रविधिको प्रयोगमा स्तरीय बनाउँदै आइरहेको छ । जसले गर्दा खेलाडीको प्रदर्शनलाई थप जोश भर्ने काम अवार्डले गरेको छ ।
विश्वभर कोरोना महामारीका कारण कयौं स्तरीय समारोह अवरुद्ध भए । तर, मञ्चले भने अवार्डलाई निरन्तरता दियो । गत वर्ष सेमी भर्चुअल माध्यमबाट अवार्ड सञ्चालन भयो । त्यो अवार्ड पूर्ण रूपमा सामाजिक दूरी कायम राखेर गरिएको थियो । त्यतिबेला अवार्डले निरन्तरता पाउँदा १३औं सागमा देशका लागि उत्कृष्ट नतिजा दिलाएका खेलाडीको योगदानले पनि कदर पायो । जहाँ पुरुषमा करातेका मन्डेकाजी श्रेष्ठ, महिलामा गौरिका सिंह र प्रशिक्षकमा तेक्वान्दोका नवीनकुमार श्रेष्ठ उत्कृष्ट भए । सागमा मन्डेकाजीले दुई र गौरिकाले चार स्वर्ण जितेका थिए । तेक्वान्दोबाट नेपाललाई १२ स्वर्ण दिलाएका प्रशिक्षक नवीन पनि अवार्ड जित्न सफल भए ।