सरकार परिवर्तनसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नयाँ नेतृत्व पाउने परम्पराको निरन्तरतास्वरूप नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा नियुक्त भएका छन् । सरकारद्वारा बर्खास्तगीमा परेका निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले अदालतमा दायर गरेको मुद्दामा निर्णय आइसकेको छैन । नियमावली बन्न नसक्दा नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएको छैन, जसका कारण नेपाली खेलकुदको प्रशासनिक संरचना अन्यौलमा छ । नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने समय आइसकेको छ । कोभिड १९ महामारीले खेलकुद थङथिलो बनेको अवस्थामा कार्यकारी प्रमुखको रूपमा कार्यभार सम्हालेका सदस्यसचिव घिसिङसँग यिनै विषयमा खेलाडी डटकमका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश :
सदस्यसचिव भएर आएपछि बधाई र सम्मानमा कत्तिको व्यस्त हुनुहुन्छ ?
मैले त्यस्तो धेरै व्यस्तता अनुभूत गरेको छैन । भेटघाटलाई समय दिएको छु । ३ बजेपछि मात्र भेटघाटको समय छुुट्याएको छु । अरू समय मैले काममै दिएको छु । भेटघाट र सम्मानमा धेरै समय छैन ।
तपाईंले समय नदिएनुभएको कि, खेलजगतले नै नचाहेको हो ?
मैले अभोइट गर्ने कुरा पनि होइन, उहाँहरूले गरेका पनि होइनन् । कार्यतालिका बनाएर काम गर्दा राम्रो आउँछ भन्ने हो । स्वागतको कुरा गर्ने हो भने त पदभार ग्रहणको दिन नै सबैले देख्नुभयो नि, निकै भव्य स्वागत थियो, होइन र ? त्यसपछि पनि सधैं त्यत्तिकै छ । अहिले पनि स्वागत, बधाई र शुभकामनाका लागि निम्तोको ओइरो छ । सकेसम्म मैले सबैलाई समयचाहिँ दिन्छु, तर त्यसैमा मात्र म हराउन चाहन्न ।
सदस्यसचिवका रूपमा काम थालिसक्नुभयो, तर निवर्तमान सदस्यसचिवले अदालतमा हालेको मुद्दाको छिनोफानो भएकै छैन । कानुनी झमेला हुँदैन त ?
मलाई त केही समस्या फिल छैन । त्यो एउटा ऐनमा व्यवस्था भएअनुसार नेपाल सरकारबाट सबै प्रक्रिया पूरा गरेर नयाँ कोर्समा लगिएको म देख्दैछु । तर त्यो काम मेरो होइन । त्यो मन्त्रालयको काम हो, मन्त्रिपरिषदको काम हो ।
मन्त्रालय र मन्त्रिपरिषदले ऐनअनुसार छनोट समिति गठन गरेर, त्यसले सिफारिस गरेको सर्टलिस्टबाट मन्त्रिपरिषदमा पेस भएर त्यहाँबाट निर्णय भएर म यहाँ आएको छु । स्टेपछि आएको त होइन नि !
अदालतमा त त्यो विषयले प्रवेश नै पाएको छैन । अदालतमा त्यो विषयले प्रवेश पाउनुअघि नै मैले कार्यभार सम्हालिसकेको छु । त्यसकारण त्यस विषयमा मैले अर्को ढंगले सोच्न आवश्यक नै छैन । म नियमित क्रियाशील रहन्छु ।
खेलकुदमा पहिल्यैदेखि हुनुहुन्थ्यो, यस हिसाबले तपाईंसँग त आफ्नो कार्यकालका लागि योजना पनि होलान् नि ?
अवश्य, किन नहुनु । अहिलेको छनोट प्रक्रियाले नै कार्ययोजना माग गरेको छ । त्योमात्र होइन अहिलेको स्पोटर््स काउन्सिलको सर्ट एनालाइसिस पनि माग गरेको छ । मैले त्यो प्रस्तुत गरेको थिएँ ।
कार्ययोजनामात्र होइन, कार्ययोजनाको कार्यान्वयन खाकासमेत पेस गरेर एउटा हिसाबले भन्नुपर्दा प्रतिस्पर्धाकै बीचबाट आएकाले गर्दा मसँग कार्ययोजना छ । त्यही कार्ययोजनाका हिसाबमा मैले आफ्ना काम कारबाही सुरुआत गरेको छु ।
हामी अहिले सुरुआती दिनहरूमा छौं । सबै कुरा अहिल्यै देखिने हुँदैनन् । आगामी दिनहरूमा त्यसलाई एकपछि अर्को कार्यान्वयन गर्दै जाँदा सबथोक देखिन्छ नै ।
कार्यकालका तत्कालीन र दीर्घकालीन प्राथमिकता सूची कस्तो बनाउनुभएको छ ?
स्वाभाविक रूपले कामका थुप्रै शीर्षक छन् । पहिलो कुरा त खेलकुदमा नीतिगत कार्यान्वयन र ऐन कार्यान्वयनको कुरा मुख्य देख्छु । किनकि यसले सिंगो संरचनाभित्र रहेर सबैलाई कार्यसम्पादन गर्न जटिलता पैदा गरिरहेको छ ।
एक सय ८५ को हाराहारीमा राष्ट्रिय संघ छन्, तीमध्ये एक सय ५० भन्दा बढी संघको आवधिक साधारणसभा भएका छैनन् । ऐन जारी हुनुभन्दा अगाडि नै साधारणसभा गर्नुपर्ने संघहरूले पनि नगरिकन बसेको अवस्था छ । नयाँ ऐन जारी हुनुअघि उहाँहरूलाई साधारणसभा गर्ने बाटो खुला थियो ।
त्यस्ता संघहरूले पनि अहिले ऐन जारी भइसकेपछि नयाँ ऐनअनुसार नियमावली नआइकन हामीले गर्न नमिल्ने भयो भनेर अडेस लगाउन पाइराखेका छन् ।
नियमावली बनाउनका निम्ति विगतमा राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले जुन तदारुकता देखाउनुपर्ने थियो, त्यो नदेखाएकाले समस्याहरू छन् ।
तर नियमावलीलाई छिटै पूर्णता दिनका निम्ति खासगरी युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजज्यू आउनुभएपछि काम अगाडि बढाइसक्नुभएको छ । मैले पनि सदस्यसचिवको कार्यभार सम्हालेपछि त्यसको एउटा ड्राफ्ट लिएको छु । छिट्टै त्यसलाई पूर्णता दिने कुरामा मन्त्रालयको तर्फबाट सम्बद्ध सबै पक्षको सहमति र राय लिएर मन्त्रिपरिषदमा पेस गरिनेछ ।
तत्कालीन कार्यक्रमको कुरा गर्दा नियमावली कार्यान्वयन भएपछि त्यसका धेरै ‘पोजेटिभ इम्प्याक्ट’ आउनेवाला छ । विनियम, निर्देशिका र कार्यविधिहरू पनि छन् । अहिले मूल कुरा नेपाली खेलकुदमा आचारसंहिताको छ । ऐनले आचारसंहिता बनाउनुपर्छ भनेको छ ।
संघहरू, पदाधिकारी, प्रशासक, खेलाडी र प्रशिक्षकहरूलाई मात्र होइन, परिषद र परिषद बोर्डलाई पनि आचारसंहिता चाहिन्छ । सबैका निम्ति आचारसंहिता निर्माण अगाडि बढ्नुपर्छ ।
नीतिगत कुरामै मैले अर्को एउटा नयाँ कुरा सोचेको छु । नेपाली खेलकुदमा हरेक संघहरूमा साँच्चिकै अहिलेसम्म हाम्रो इथिक्स एन्ड गभर्नेन्स कमिटीको प्रभावकारी संरचना देखिइरहेको छैन । जसले गर्दा संघले आफैं समाधान गर्नुपर्ने नेपाली खेलकुदका मसिना इस्युहरू सिधा परिषद र मन्त्रालयमा जाने भइरहेको छ । त्यसलाई समाधान गर्नु छ ।
नेपाली खेलकुदमा अर्को कुरा एन्टी डोपिङमा हाम्रो प्रतिबद्धता छ । तर त्यसको व्यवहारिक कार्यान्वयनको पक्ष हेर्ने हो भने त्यो पूर्ण रूपले कार्यान्वयन भएको देखिँदैन ।
अर्को कुरा, नेपालको हकमा ‘सेफ गार्डिङ’ लाई प्रवेश गराउनु जरुरी देखिएको छ । नेपाली खेलकुद सुरक्षित छ भन्ने देखाउनु आवश्यक छ । अमेरिकाजस्ता देशमा खेलकुद फिजियोथेरिपिस्टबाट भएका घटनाहरूले पछिल्लो समय तहल्का मच्चाइरहेका छन् । ओलम्पिकमा स्वर्ण पदक जितेका मानिसले समेत त्यसलाई कानुनी उपचारका लागि एक्सपोज गरे ।
अमेरिकामा समेत त्यस्तो अवस्था छ भने हाम्रो देशमा कस्तो छ त ? हाम्रो देशमा खेलकुद क्षेत्र सुरक्षित छ कि छैन भन्ने कुरालाई ठीक ढंगले क्रियाशील गर्नुपर्छ र यो नेपाली खेलकुदका लागि नयाँ कुरा हो भन्ने लाग्छ ।
अर्को कार्यतालिका बनाएर समयमै प्रतियोगिताको सुनिश्चितता गर्ने कुरा छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता योभन्दा अगाडि नै भइसक्नुपर्ने थियो । नवौं होइन, दसौं राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारीमा म हुनुपर्थ्यो ।
विडम्बना, नवौं हुन सकेको छैन । यो नभएपछि खेलाडीहरूको जुन उत्साह र मनोबल छ, त्यो पक्कै पनि गिरेको छ । किनकि खेलाडीले प्रतियोगिताका लागि खेल्ने हो । प्रशिक्षकले पनि प्रतियोगिता हुन्छ भनेर टिम निर्माण गर्ने हो नि । त्यसकारण त्यो नवौं राष्ट्रिय खेलकुद मेरो अर्को मुख्य लक्ष्य हुन्छ ।
त्योसँगै यही २०२२ को सेप्टेम्बरमा हुन लागेको एसियन गेम्सका निम्ति पनि जोड दिएर काम गर्छु । त्यसैसँग सम्बन्धित रहेर मैले पदभार ग्रहण गर्नेक्रममा राष्ट्रिय टिम तयारीको विषयमा निर्णय पनि गरेको छु । निर्णयसँगै विभागीय मिटिडहरूमा राष्ट्रिय टिम तयारीको विषयमा एक हप्ताभित्र स्पष्ट खाका बनाएर पेस गर्न निर्देशन दिइसकेको छु । किनभने म त्यसमा जोड दिएर काम गर्न चाहन्छु ।
अर्को कुरा खेलाडी तथा खेलकुद क्षेत्रमा लागेका प्रशिक्षकदेखि सबैका बिमासम्बन्धी ठोस नीति सरकारी तहबाट छैन । राष्ट्रिय खेलकुद परिषदले आफूले केही बिमा गर्ने भन्ने टाइपको कार्यक्रम त सोचिरहेको छ । तर साँच्चिकै खेलकुद बिमा भनेर गर्न सकिन्छ कि सकिँदैन, चाहे त्यो सरकारी बिमा संस्थान होस् वा निजीमा होस् । त्यहाँनेर खेलकुदकर्मीले खेलकुदकै लागि भनेर बिमा गर्ने योजना छ कि छैन भनेर हेर्ने हो भने जति लेन्स लगाए पनि देखिएको छैन ।
त्यसैले मैले यसलाई नीतिगत रूपमै सम्बोधन गर्न खेलकुद मन्त्रालय, खेलकुदमन्त्री अनि अर्थमन्त्री हुँदै यसलाई क्याबिनेटमा पनि एउटा निर्णय गर्ने लक्ष्य छ । तत्कालका लागि परिषदले के गर्न सकिन्छ, कम्तीमा एउटा तहका खेलाडीसम्मका लागि गर्ने या आमखेलाडी र खेलकुदकर्मीलाई हुने गरी एउटा राष्ट्रिय नीतिचाहिँ ल्याउनुपर्छ भन्नेमा जोड गरेर मैले काम गर्ने छु ।
तपाईंलाई नियुक्त गर्ने सरकारको आयु नै त्यति लामो छैन, तर तपाईंका यति लामा योजनाको सान्दर्भिकता होला र ?
मलाई ऐनले परिभाषित गरेर यो जिम्मेवारीमा बाधिरहँदा चार वर्षका निम्ति हो । त्यसकारण मैले चार वर्षको कार्यक्रम र खाका बनाएको छु । तथापि त्यसलाई तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपले सोच्नुपर्ने मेरो काम विभाजित छ ।
खेलकुदमा राम्रो गर्न चाहने सोचले म आइरहेको छु । राखेप, नेपाली खेलकुदलाई हेर्ने जुन नजर छ, त्यो नजरलाई फरक तरिकाले देखिने स्थितिमा लैजान चाहन्छु । त्यसकारण स्वाभाविक रूपले मैले लामै योजना बनाउनुपर्यो नि ! त्यही भएर आफ्नो कार्यकालको पूरा अवधिको योजना बनाएको हो ।
भोलि के हुन्छ भन्ने अनिश्चित छ, मेरो आजैसम्म मात्र भनेर सोच्यो भने के हुन्छ त ? केही पनि हुनेवाला छैन । त्यसकारण कम्तीमा ऐन कानुनले तोकेको पदावधिसम्मका लागि कार्यक्रम बनाउनै पर्छ । मैले पनि बनाएको छु ।
नवौं राष्ट्रिय खेलकुद कहिले हुन्छ त ?
राष्ट्रिय खेलकुदका लागि पहिला मोटामोटी रूपमा निर्धारण गरेको समय फागुनमा देखियो । म यसलाई धेरै ढिलो सार्ने पक्षमा छैन । बढीमा चैत पहिलो साता नवौं राष्ट्रिय खेलकुद थालनी गर्ने योजना छ ।
यसका लागि युवा तथा खेलकुद मन्त्रालय र परिषदको समन्वयमा प्रदेश खेलकुद परिषदका सदस्यसचिवहरू, प्रदेशका खेलकुदसँग जोडिएका निकायहरू, खेलकुद हेर्ने मन्त्रालयका मन्त्रीज्यूहरूसँग आवश्यक छलफल गरेर तुरुन्त कार्यान्वयनको दिशामा अगाडि बढ्छु ।
घोषणा गरिएजस्तै गण्डकी प्रदेशका ११ जिल्लामै हुने हो नवौं राष्ट्रिय खेलकुद ?
राष्ट्रिय खेलकुदको प्रचलन हेर्दा पहिला विकास क्षेत्र, अहिले प्रदेशमा हुँदा सकेसम्म सम्बन्धित प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा भए पनि खेल होस् भन्ने मनसाय रहेछ । त्यो सकारात्मक नै छ । किनभने त्यहाँ खेलकुद पूर्वाधार बन्छ, राष्ट्रिय स्तरको खेल गतिविधि आयोजना भयो भन्ने हुन्छ ।
त्यो हिसाबले सोच्नु स्वाभाविक हो । तर, अहिले मसँग राष्ट्रिय खेलकुद गर्न छोटो समयमात्र छ । त्यसकारण सबै ११ जिल्लामा पुग्छ कि पुग्दैन भनेर अहिल्यै निश्चित गर्न सक्दिनँ । म भर्खरै आएको छु ।
मैले अब तुरुन्तै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थल, त्यहाँको प्रदेश सरकार, त्यहाँको प्रदेश खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयसँगको सामूहिक बसाइपछि अवलोकन र मूल्यांकन गर्नका निम्ति प्रशासनिक र प्राविधिक टिमसहित खेलस्थलमा जान्छु । त्यसपछि निर्णय गरौंला ।
तपाईं रग्बीको पूर्वअध्यक्ष, सदस्यसचिव हुनुभएको छ । अब नेपाली खेलकुद रग्बीमय हुने हो ?
यसरी नसोच्नुहोला । रग्बीको पनि विकास गर्नुपर्छ, उसले पनि स्थान पाउनुपर्छ । किनकि यो ओलम्पिक इभेन्ट हो । एसियन इभेन्ट पनि हो । दक्षिण एसियाली खेलकुदका लागि पनि आगामी संस्करणमा प्राथमिकता पाउनुपर्ने खेल हो । तथापि यो आयोजक देशले निर्णय गर्ने कुरा हो ।
मैले रग्बीको पूर्वअध्यक्षका नाताले रग्बीलाई मात्र जोड गरेर काम गर्ने कुरा हुँदैन । त्यसले आफ्नो स्वाभाविक रूपमा जति विकासक्रममा जुन स्तर हासिल गरेको छ, त्यसको मूल्यांकन भने अवश्य पनि हुनेछ ।
नेपाली खेलकुदमा तपाईंले देख्नुभएका समस्या र समाधान के हुन् ?
पहिलो कुरा त हाम्रो संरचनागत समन्वय छैन । खेलकुद परिषदका विभागहरूमा पनि समन्वय छैन । यो कुरालाई म टोटल सुधार गर्छु ।
नेपाली खेलकुद भनेको राष्ट्रिय खेलकुद परिषदमात्र होइन, नेपाल ओलम्पिक कमिटी हो, सम्बद्ध खेल संघहरू हुन् । खेल संघभित्र रहेका प्रशिक्षक र राखेपले त्यो खेलका लागि छुट्याएका प्रशिक्षकहरूबीचको पनि समन्वय अभाव देखें मैले । खेलाडीको कुरामा त्यस्तै इस्युहरू छन् । त्यसैले यी तमाम विषयलाई एउटा संरचनागत अनि बलियो सम्बन्ध र बलियो खालको रिपोर्टिड प्रणाली मैले विकास गर्नेछु ।
अर्को कुरा, नेपालमा अहिलेसम्म कति खेलाडी छन्, कति प्रशिक्षक छन् भन्ने यकिन डाटा छैन । प्रशिक्षक हामीसँग धेरै छन् । राखेपमा पनि त्यति धेरै प्रशिक्षक छन् । ती प्रशिक्षकहरूले कतिवटा सेसन चलाइराखेका छन् । कुन-कुन दिन के-के गर्यो भन्ने कुरा हामीले हेर्ने हो भने केही सुधार हुन्छ ।
दुनियाँ कहाँ पुगिसक्यो, हामी चाहिँ निकै पछाडि छौं । राखेपमा भर्खर केही दिन बिताउँदै गर्दा मलाई लागेको कुरा के हो भने प्रविधिका हिसाबले धेरै पछाडि छौं । यो मलाई गहिरो गरी अनुभूति भएको छ । यसलाई म तुरुन्तै पूर्ति गर्छु ।
मैले खेलकुद परिषदमा डाटा म्यानेजमेन्ट सिस्टम लागू गर्छु । जसले गर्दा हाम्रा अहिले भएका खेलाडी र प्रशिक्षकहरूले महिनामा कतिवटा सेसन चलायो, हप्तामा कतिवटा चलायो, दिनमा कतिवटा चलायो, त्यहाँ को–को सहभागी भयो फोटोसहित प्रशिक्षकहरूले इन्ट्री गर्ने सिस्टम बनाइदिन्छु । खेलाडीले पनि कुन-कुन प्रतियोगिता कुन-कुन वर्षमा खेलेका थिए र उसको प्रदर्शन के थियो भन्ने कुरा इन्ट्री गर्न मिल्ने हुन्छ । त्यसो भयो भने सजिलैसँग सबै प्राविधिक कुरा मोनिटर गर्न र आगामी दिनमा योजना बनाउन सजिलो हुने हुन्छ । यस्तो प्रविधि छिराउने मेरो योजना छ । अर्को कुरा खेलकुदको प्रचारका काम व्यापक रूपमा गर्नु छ ।
सदस्यसचिवका रूपमा देख्नुभएका आफ्ना सम्भावना र चुनौती के हुन् ?
चुनौती त राष्ट्रिय खेलकुद परिषदमा धेरै छन् । तर यो चुनौतीलाई मैले अवसरका रूपमा लिएको छु । यो सबै कुरा ट्र्याकमा भएको भए यहाँ आएर टक्क बस्यो, आफै हिँडिहाल्थ्यो । तर यो यतै बिग्रिएको छ, उतै बिग्रिएको छ भन्ने मात्र देखेको छु मैले । त्यो देखेका कारण मलाई अवसर छ, त्यो बिग्रिएको बनाउने अवसर छ । भत्किएकाहरूलाई ठीक ठाउँमा ल्याउने र निर्माण गर्ने अवसर छ मलाई ।
त्यसकारण मैले यसलाई चुनौती र समस्याभन्दा पनि अवसरका रूपमा लिएको छु । यसलाई अवसरका रूपमा परिणत गर्छु । मेरो खेलकुदको एक दशकभन्दा अलि बढीको अनुभव र मेरो उमेरले पनि यसलाई राम्ररी पार लगाउन सक्छु भन्ने बुझाइका साथ अगाडि बढ्ने छु ।