कार्तिक २३, २०८२ आइतबार | २०:१२:२२
घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि
शनिबारको दिन स्केटबोर्डिङ

स्केटिङमा युवाको आकर्षण, पूर्वाधार निर्माण गरिदिँदै काठमाडौं महानगर

काठमाडौं । फुटबल, क्रिकेट र भलिबल खेलजस्ता खेलको सुरुआत विश्वका अन्य राष्ट्रमा जतिबेला सुरु भयो, ती खेलहरू नेपालमा भित्रने भने लामो समय कुर्नुपर्दथ्यो । 

नेपालले तिनै खेलको अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्न त्यत्तिकै लामो समय व्यतित गर्नुपर्थ्यो । अझै पनि नेपाल भित्रिएका केही खेलहरू अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्ने कसरतमा वर्षौंदेखि लागिरहेका छन् ।

तर, नेपाली खेल समर्थकका लागि नौलो खेल भए पनि नेपाल स्केटिङ एन्ड स्केटबोर्ड संघले वर्ल्ड स्केटिङ स्केटबोर्ड एन्ड रोलर स्पोर्ट्सले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)बाट मान्यता पाएकै वर्ष सदस्यता पाएको थियो ।

अमेरिकाबाट सुरु भएको स्केट बोर्डको इतिहास लामो भए पनि यसले आधिकारिक खेलको मान्यता पाएको एक दशक पनि भएको छैन । सन् १९५० मा अमेरिकाबाट सुरु यस खेलले सन् २०१५ मामात्र आइओसीबाट खेलको मान्यता पाएको थियो ।

अमेरिकामा समुद्री छालमा खेलिने चर्चित खेल सर्फिङको विकल्पको रूपमा सुरु गरिएको यो खेल अहिले विश्वका युवापुस्तामा निकै चर्चित छ । नेपाली युवा पुस्तामा पनि यो खेलको लोकप्रियता बढ्दो छ ।

अमेरिकामा सर्फिङ निकै चर्चित छ । समुद्री छाल आउने समयमा यो खेल खेलिने भए पनि अन्य समयमा के गर्ने भन्ने लामो समयको अध्ययनपछि स्केटबोर्डलाई छुट्टै खेलको रूपमा विकास गरिएको नेपाल स्केटिङ एन्ड स्केटबोर्ड संघका अध्यक्ष अच्युत खनाल बताउँछन् ।

सन् २०१५ मा आइओसीले यस खेललाई मान्यता दिएसँगै यस खेलको औपचारिक सुरुआत भएको पाइन्छ । नेपालमा पनि यो खेलको सुरुआत भएको लामो समय भएको छैन तर युवापुस्ता जुन तरिकाले यो खेलमा आकर्षित भएका छन्, त्यसले यो खेलको विकासलाई उर्जा प्रदान गरेको छ ।

‘ह्विल भएको बोर्डमा रोल भएर खेलिने खेल हो स्केटबोर्ड,’ उनले भने, ‘२०७२ सालमा राष्ट्रिय खेलकुद  परिषद् (राखेप) मा नेपाल स्केटिङ एन्ड स्केटबोर्ड संघ दर्ता भयो । त्यसयता यो खेल निरन्तर भइरहेको छ ।’

२०७२ सालमा अर्जुन खनालको अध्यक्षतामा नेपाल स्केटिङ एन्ड स्केटबोर्ड संघ दर्ता भएको थियो । २०७३ सालदेखि भने अच्युत खनाल नेपाल स्केटिङ संघको अध्यक्षमा छन् ।

नेपालमा यो खेल कसरी सुरु भयो भन्ने प्रसंग पनि रोचक छ । खनाल फ्रान्सको एसीएमएन भन्ने अन्तर्राष्ट्रिय संस्थाको नेपालस्थित कन्ट्री म्यानेजर थिए । उनी सन् २०१५ मा इटालीमा एसीएमएनको साधारणसभामा भाग लिन त्यहाँ पुगेका थिए । 

त्यहीक्रममा इटालीका एक सहकर्मीले उनलाई नेपाललाई रोलर स्पोर्टसको सुरुआत गर्न सुझाव दिएका थिए । उनले आफ्नो मामा अन्तर्राष्ट्रिय रोलर फेडेरेसनको अध्यक्ष रहेकाले यस खेलको सुुरुआतका लागि चाहिएको सबै सहयोग गर्न तयार रहेको पनि बताएका थिए ।

अध्यक्ष खनाल फ्रान्समा रहँदा त्यहाँका हरेक गल्ली, सडक र पार्कमा यो खेल खेलेको देख्थे । त्यसपछि उनले नेपालमा पनि स्केटबोर्डको संघ नै दर्ता गरेर खेल अघि बढाउने निर्णय गरेका हुन् ।

उनले भने, ‘त्यतिबेला राखेपमा केशवकुमार विष्ट सदस्यसचिव हुनुहुन्थ्यो । मैले स्केटबोर्ड र नेपालमा यसको सम्भावनाबारे बताएपछि उहाँ संघ दर्ता गर्न राजी हुनुभयो । हामीले राखेपमा दर्ता प्रक्रिया पूरा गरेललगत्तै हामीले वल्र्ड स्केटिङ स्केटबोर्ड एन्ड रोलर स्पोर्टसबाट  मान्यता पायौं ।’

यो खेल १५ देखि २५ वर्षसम्मका युवामाझ निकै चर्चित छ । पहिलो पटक टोकियो ओलम्पिकमा यस खेललाई समावेश गरिएको थियो । जसले यसको चर्चा अझै बढाएको खनालको बुझाइ छ ।

नेपालमा पनि त्यही उमेर समूह यस खेलमा आकर्षित बनेको छ । अहिले विभिन्न क्लबमार्फत यो खेललाई अघि बढाइरहेको अध्यक्ष खनाल बताउँछन् । उनका अनुसार अब यो खेललाई थप सफल बनाउन विभागीय क्लबका साथै स्कुल-स्कुलमा पुर्याउने योजना छ । स्कुलमा दक्ष प्रशिक्षकसमेत व्यवस्थापन गरिनेछ ।

आफूहरूलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि प्रस्ताव आए पनि भौतिक पूर्वाधार नहुँदा पर्याप्त प्रतियोगिता आयोजना गर्न नसकिएको खनालले सुनाए । अहिले नेपालमा ३ हजार ५ सय हाराहारीमा खेलाडी रहेको उनको भनाइ छ । जो विभिन्न क्लबमा दैनिक प्रशिक्षण लिइरहेका छन् ।

भौतिक पूर्वाधारको अभावमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिएको उनको तर्क छ । आफूहरूले विभिन्न संघसंस्थासँग यो खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई आग्रह गरे पनि पहल नभएको उनले सुनाए । 

अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्केटिङ खेलको आवश्यक पूर्वाधारका लागि बालाजुमा ६ रोपनी जग्गा उपलब्ध गराएका छन् । मेयर शाहकै पहलमा महानगरले ७ करोडको लगानीमा त्यहाँ स्केटबोर्डको आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको छ । अध्यक्ष खनालले यसलाई काठमाडौं महानगरको निकै सकारात्मक कदम ठानेका छन् ।

अध्यक्ष खनालले राखेपबाट मौखिक रूपमा १९औं एसियाली खेलकुदका लागि तयारी थाल्न प्रस्ताव आए पनि औपचारिक रूपमा भने ठोस प्रस्ताव नआएको बताए ।

‘हामीलाई १९औं एसियाली खेलकुदका लागि तयारी गर्न भनिएको छ तर लिखित रूपमा कुनै जानकारी आएको छैन,’  खनालले भने, ‘एसियाली खेलकुदको सहभागितालाई लिएर हामी अन्योलमै छौं । हामीले कोरियामा प्रशिक्षण गर्ने तयारीसाथ खेलाडी छनोटसमेत गरिसकेका छौं । राखेपबाट थप कदमको प्रतीक्षामा छौं ।’