मंसिर ६, २०८१ बिहीबार | १४:३५:११
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन

नेटबल, समानता र लक्ष्य

फुटबलमा पुरुषको विश्वकप जति चर्चित छ महिला विश्वकप छैन । क्रिकेटको हकमा पनि यही छ । फुटबल र क्रिकेटमात्र होइन, अरू पनि धेरै खेलमा महिला विधा व्यावहारिक रूपमा अपहेलित छन् ।

विश्व खेलकुदमा महिला र पुरुष खेलाडीबीच समानताका बहसहरू नचलेका होइनन् । तर ती सबैमात्र बहसमा सीमित छन्, व्यवहारमा होइन ।

लैंगिक समानताको प्रयासस्वरुप दुई साताअघि क्रिकेटको नियम बनाउने आधिकारिक निकाय मेरिलेबोन क्रिकेट क्लबले एउटा शब्दावलीमा परिवर्तन गरेको छ । नयाँ नियमअनुसार अब क्रिकेटमा ‘ब्याट्सम्यान’ भन्न पाइन्न । लैंगिक रूपमा तटस्थ हुने गरी अब ब्याटिङ गर्नेलाई ब्याटर भन्नुपर्नेछ ।

टेनिसमा पनि महिलाको प्रतिस्पर्धा पुरुषकै हाराहारीमा स्थापित छ । अरू थोरै खेलमा पनि यस्तो नभएको होइन । तर महिलाकै लागि भनेर सुरु गरिएको एउटा खेल पनि छ, नेटबल ।

‘सन् १९६० को दशकतिर विश्वमा पुरुष बास्केटबलको दबदबा थियो । यो दबदबा चिर्दै महिलालाई पनि खेलकुदमा सहभागी गराउनुपर्छ भनेर महिला बास्केटबल सुरु भयो । महिला बास्केटबल सुरु भएपछि प्रयोगमा आएको खेल हो नेटबल,’ नेपाल नेटबल संघका महासचिव दीपक लामा भन्छन्, ‘बास्केटबलको बल भारी हुन्छ । महिला खेलाडीलाई लामो दुरीबाट बास्केट गर्न गाह्रो भयो । त्यही अनुभवका आधारमा महिलाकै लागि सजिलो होस् भनेर शारीरिक रूपमा धेरै बल (शक्ति) आवश्यक नपर्ने यो खेलको अवधारणा विकास भएको हो ।’
 
बास्केटबलजस्तै नियम भएको यो खेलमा प्रत्येक टोलीमा सात खेलाडी हुन्छन् । समाजमा भिजिसकेको खेलसँग मिल्दोझुल्दो नियम भएका कारण सुरुमै महिला खेलाडीमाझ यो खेल लोकप्रिय हुन थाल्यो । तर, यसको आफ्नै नियमनकारी संस्था भने थिएन ।

सन् १९५७ मा नेटबल खेल्न सुरु गरेका अस्ट्रेलिया र इङ्ल्यान्डबीच अन्तर्राष्ट्रिय संघ नै दर्ता गरेर अघि बढ्ने सहमति भयो । अन्ततः सन् १९६० मा अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले अन्तर्राष्ट्रिय महिला बास्केटबल तथा नेटबल संघ दर्ता गराए । सो संघको पहिलो बैठक श्रीलंकामा भएको थियो ।

त्यसको तीन वर्षपछि नेटबल विश्व च्याम्पियनसिप आयोजना गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय नेटबल महासंघ (आइएनएफ) नामाकरण गरिएको छ ।

विश्वमा हाल ७० राष्ट्र आइएनएफका सदस्य छन् । बेलायती उपनिवेश रहेका देशमा आइएनएफको स्थापनासँगै नेटबल खेल औपचारिक रूपमा सुरु भयो । नेपालमा भने सन् २०१० मा नेपाल नेटबल संघ दर्ता भएको हो । संघ दर्ता भएकोे ११ वर्ष बितिसकेको छ । तर नेटबलले जति चर्चा पाउनुपर्ने हो, त्यो छैन । आमनेपाली समर्थक यस खेलका बारेमा अझै बेखबर छन् ।

संघका महासचिव लामा सरकारले यस खेलप्रति चासो नदिँदा पर्याप्त सम्भावना हुनाका बाबजुद अवधारणाअनुसार अघि बढ्न नसकेको गुनासो गर्छन् । 

‘हामीले ६ देखि ८ कक्षासम्मका छात्रामा गरिएको अध्ययनपछि मात्र नेटबल नेपालमा पनि सुरु गर्न सकिन्छ भन्ने अवधारणाअनुसार सन् २०१० मा संघ दर्ता गर्दै कार्यक्रमहरू सञ्चालनमा ल्याएका हौं,’ लामाले भने, ‘८ कक्षासम्मका छात्रालाई पढाइको त्यति दबाब हुँदैन । त्यसैले पनि हामीले उनीहरूलक्षित गर्दै ग्रासरुट कार्यक्रमसरह नेटबल खेल सञ्चालनमा ल्याइरहेका छौं ।’
 
काठमाडौंका मल्पी, भानुभक्त, ब्रिटिस गोर्खालगायतका कलेज, विद्यालयहरूमा विदेशी प्रशिक्षकहरू आएर प्रशिक्षण दिइसकेको थाहा पाएपछि आफूहरू थप उत्साही हुँदै अघि बढेको लामा बताउँछन् ।

‘हामीले काठमाडौंकै विद्यालयहरूबाट नेटबलको सुरुआत गर्ने योजना बनाएका थियौं,’ लामा सम्झन्छन्, ‘तर, हामी एउटा पक्षबाट निकै उत्साही भयौं । यहाँ केही विद्यालयहरूमा पहिलेबाटै नेटबल खेल्न थालिएको रहेछ । हाम्रो नेटबलको राष्ट्रिय टोली निर्माण गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउने योजनाका लागि यो सुखद पक्ष थियो । हामीले रेडिमेड आधार पाएका थियौं ।’

नेपालले सन् २०१२ मा श्रीलंकामा एसियन नेटबल च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्‍यो । तर, पहिलो सहभागिता भने नेपालका लागि सुखद बन्न सकेन । नवौं स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गर्‍यो । 

त्यस्तै ब्रुनाईमा सन् २०१३ मा भएको एसियन यू–१८ च्याम्पियनसिप र सन् २०१७ मा कोरियामा भएको एसियन यू-१८ च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनायो । सन् २०१९ मा भने नेपालले पहिलो नेटबल साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । आयोजक नेपालसहित श्रीलंका, माल्दिभ्स, भारत, बंगलादेश र पाकिस्तानको सहभागिता रहेको प्रतियोगितामा नेपाल चौथो भयो ।

अन्तर्राष्ट्रिय सहभागिता र दक्षिण एसियालीस्तरीय प्रतियोगिता आयोजना गरेको नेटबल संघले देशभित्र प्रतियोगिता आयोजना तथा अन्य गतिविधि भने उल्लेख्य रूपमा अघि बढाउन सकेको छैन ।

‘हामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता छौं । तर हामीलाई राखेपले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेको छ्रैन,’ अन्य संघजस्तै नेटबल संघको पनि सरकारसँग गुनासो छ, ‘हामीले आयोजना गर्ने सीमित प्रतियोगितामा अतिथिका रूपमा उपस्थिति हुने र हालसम्म सहभागिता जनाएका चार अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये एउटामा हवाई टिकट व्यवस्था गरिदिनेबाहेकको काम राखेपले गरेको छैन । हामीले पटकपटक प्रशिक्षणस्थलको निर्माण गरिदिन आग्रह गरे पनि त्यसको ठोस सुनुवाइ भएको छैन ।’

सन् २०१४ मा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको हेल्थ एन्ड फिजिक्स विषयमा नेटबल पाठ्यक्रममै समावेश भयो । यसलाई संघले नेटबलको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएको छ ।

‘पाठ्यक्रममा नैै समावेश गरिनु हाम्रा लागि ठूलो उपलब्धि हो,’ लामाले भने, ‘पाठ्यक्रममा समावेश गरिएपछि यो खेलको विकासमा विशेष टेवा पुगेको छ । त्यहाँबाट नेटबलकै बारेमा अध्ययन गर्नेको संख्या बढ्दो क्रममा छ । हामीसँग अहिले प्रशिक्षकहरूको संख्या ३ सय जनाभन्दा बढी छ ।’

काठमाडौका धेरै विद्यालयहरूमा नेटबल सिकाइने र प्रतियोगिताहरू पनि विद्यालय केन्द्रित हुने लामा बताउँछन् । नेपाल नेटबल संघ प्रशासनिक रूपमा विभिन्न २२ जिल्लामा विस्तार भइसकेको छ । तर सोच र अपेक्षाअनुरुप प्रचार गर्न नसकेको लामा सुनाउँछन् । 

उनका अनुसार नेटबलमा भइरहेका सीमित प्रतियोगिताहरू राजधानी केन्द्रित हुँदा प्रबद्र्धनमा सोचेजस्तो उपलब्धि हासिल भइरहेको छैन । त्यसैले संघले अब उपत्यकाबाहिर प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको छ ।

औपचारिक रूपमा देश भित्रिएको छोटो समयमै उपत्यकाका धेरै विद्यालयमा भने नेटबलले बलियो जरा गाडिसकेको छ । खेलाडीको संख्या नै ३ हजार ५ सयभन्दा बढी पुगिसकेको लामा दाबी गर्छन् । विद्यालयबाट माग भएअनुसार प्रशिक्षक व्यवस्थापन गर्न पनि संघलाई मुस्किल हुन थालिसक्यो । 

‘प्रशिक्षकको माग धेरै छ । एक घण्टा प्रशिक्षण गराएवापत प्रशिक्षकले १५ सय रुपैयाँ पाउँछन् । जसबाट यही खेलमा लागेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउन सफल भएका छौं,’ लामाले थपे, ‘अब सरकारबाट थोरैमात्र पुस भयो भने नेटबलले अन्तर्राष्ट्रिय स्तरमा पनि देशको नाम राख्न सक्छ र देशभित्र पनि एउटा उद्योगको रूपमा स्थापित हुनेछ ।’

महिलाका लागि भनेर सुरु गरिएको खेल भए पनि पछिल्लो समय एसियन च्याम्पियनसिपहरूमा पुरुष विधामा पनि प्रतिस्पर्धा हुन थालेका छन् । अझ सन् २०३२ मा अस्ट्रेलियामा हुने ओलम्पिकमा नेटबल समावेश गर्ने विषयमा छलफल भइरहेको छ । त्यसैले पनि ओलम्पिकका लागि अहिल्यैदेखि तयारी गर्न सरकारी सहयोग आवश्यक भएको लामा बताउँछन् ।

‘नियमित अभ्यास गर्न नपाउँदा पनि दक्षिण एसियामा हाम्रो उपस्थिति राम्रै छ । अस्ट्रेलियाले २०३२ मा ओलम्पिक गर्दा यो खेल समावेश गर्ने पक्काजस्तै छ । संघले त्यही ओलम्पिकलक्षित गरेर योजना बनाइरहेको छ । सरकारले सहयोग गरे हामी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली टिम खेल बन्न सक्छौं,’ लामाले भने ।