नवाैं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुदको चार दशक

नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदको इतिहासले चार दशक पूरा गरेको छ । प्रत्येक दुई वर्षमा गर्ने उद्घोषका साथ २०३८ सालमा सुरु भएको यो बृहत खेलमेलाले ४० वर्ष पूरा गर्दा अहिलेसम्म २० संस्करण गरिसक्नुपर्ने थियो, तर देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलकुदका आठ संस्करणमात्र सम्भव भएका छन् ।

अन्तिम समयमा (३६ घण्टाअघि) पनि स्थगित भएको इतिहास बिर्सने हो भने अर्को महिना नेपाली खेलकुदले राष्ट्रिय खेलकुदको नवौं संस्करण सम्पन्न गर्नेछ । गण्डकी प्रदेशको पोखरामा दोस्रो पटक यही जेठ २२ देखि २८ सम्म नवौं राष्ट्रिय खेलकुद गर्न अन्तिम अवस्थाको तयारी भइरहेको छ ।

तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वले देशका विभिन्न भागका रहेका प्रतिभावान खेलाडीलाई एकै थलोमा आफ्नो प्रतिभा प्रदर्शनको अवसर दिन राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि मात्र राष्ट्रिय खेलकुद महत्वपूर्ण थलो होइन, यो खेलकुद विकासको एउटा महत्वपूर्ण पाटो पनि हो ।

खेलाडीलाई वर्षौंदेखि प्रशिक्षणमा गरेको मिहिनेतको उपलब्धि राष्ट्रिय स्तरमा जाच्ने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंमा पहिलो पटक सुरु राष्ट्रिय खेलकुदले आठ संस्करण सम्पन्न गर्दा काठमाडौं र नेपालगन्ज समान दुई पटक आयोजक रहे भने पोखरा, वीरगन्ज, विराटनगर र सुदूरपश्चिमले पनि एक–एक पटक नेपाली खेलकुदको सबैभन्दा ठूलो मेला आयोजनाको अवसर पाएका छन् ।

परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहको परिकल्पनाअनुसार सुरुआती तीन संस्करण दुई वर्षको अन्तरालमा नै भए । काठमाडौंबाट सुरु राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा पोखराले गर्यो भने २०४२ मा तेस्रो संस्करण वीरगन्जमा सम्पन्न भयो ।

त्यसपछि १३ वर्षसम्म हुन नसकेको प्रतियोगिताको चौथो संस्करण नेपालगन्जले २०५५ सालमा आयोजना गर्यो । नेपालगन्जपछि पनि राष्ट्रिय खेलकुदले निरन्तरता पाउन सकेन । त्यसपछि सुदूरपश्चिममा गर्ने निर्णय भएको पाँचौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौं सारियो, तथापि समयमा आयोजना हुन सकेन । पटक–पटक स्थगित गरीएको पाँचौं राष्ट्रिय खेलकुद पाँचौं पटक निर्धारण गरिएको मिति २०६५ मा काठमाडौंमा तमाम विवादका बीच सम्पन्न भयो । अघिल्लो संस्करण भएको १० वर्षपछि पाँचौं राष्ट्रिय खेलकुद सम्भव भएको थियो ।

सातौं संस्करणका लागि नेपाली खेलकुदले त्यसपछि फेरि चार वर्ष कुर्नुपर्यो । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा गर्ने भनिएको राष्ट्रिय खेलकुदले फेरि पनि पटकपटक स्थगित भइरहने नियति भोग्यो । अन्ततः भुइँचालोको त्रासबाट पूर्ण रूपमा मुक्त भइनसकेका बेला नाकाबन्दीको समेत मार खेपेलगत्तै २०७२ सालमा विराटनगरलाई आधार बनाउँदै पूर्वाञ्चलमा सातौं बृहत राष्ट्रिय खेलकुद भयो ।

त्यसपछि पनि छैटौं राष्ट्रिय खेलकुद समयमा हुन सकेन । पटकपटक मिति सारिए पनि यसले अघिल्लो संस्करण जस्तो १० वर्ष लामो प्रतीक्षा पनि गर्नुपरेन । २०६८ सालमा सुदूरपश्चिममा छैटौं बृहत राष्ट्रिय खेलकुद विभिन्न अभाव, दबाब र राजनीतिक प्रभावबीच सम्पन्न गरियो ।

सातौं संस्करणका लागि नेपाली खेलकुदले त्यसपछि फेरि चार वर्ष कुर्नुपर्यो । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा गर्ने भनिएको राष्ट्रिय खेलकुदले फेरि पनि पटकपटक स्थगित भइरहने नियति भोग्यो । अन्ततः भुइँचालोको त्रासबाट पूर्ण रूपमा मुक्त भइनसकेका बेला नाकाबन्दीको समेत मार खेपेलगत्तै २०७२ सालमा विराटनगरलाई आधार बनाउँदै पूर्वाञ्चलमा सातौं बृहत राष्ट्रिय खेलकुद भयो ।

धरान रंगशालामा २०७२ साल पुस १५ गते सम्पन्न सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमै आगामी संस्करण दुई वर्षपछि नेपालगन्जलाई आधार बनाएर मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा गर्ने घोषणा भइसकेको थियो । नेपालगन्जले पनि झण्डा लिएको दुई वर्ष चार महिनापछि २०७५ वैशाखमा आठौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्यो ।

प्रत्येक संस्करण देशको तत्कालीन राज्य व्यवस्थाअनुसार फरक विकास क्षेत्रमा गरेर सम्बन्धित क्षेत्रमा भौतिक पूर्वाधार निर्माण तथा अद्यावधिक गर्नु राष्ट्रिय खेलकुद आयोजनाको मुख्य उद्देश्यमध्ये एक थियो । त्यसैले नेपालगन्जपछि अब बृहत राष्ट्रिय खेलकुद आयोजना गर्ने पालो थियो, साबिकको पश्चिमाञ्चल विकास क्षेत्र (गण्डकी प्रदेश, हाल) को ।

राष्ट्रिय खेलकुदको इतिहासमा प्रतियोगिता नियमित रूपमा नहुनु पछाडिका दुई मुख्य कारण रहने गरेका थिए । पहिलो राजनीतिक अस्थिरता र दोस्रो कमजोर भौतिक पूर्वाधार । तर यसपालि दुवै चुनौती खासै थिएनन् । राजनीतिक रूपमा राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयमा गत वर्षसम्म नेतृत्व जमेर बसेको थियो । पूर्वाधारको हकमा पनि उसै तुलनात्मक रूपमा समृद्ध पोखरामा साढे दुई वर्षअघिको १३औंं सागका लागि थप पूर्वाधार बनाइएका थिए । तर यसपालि नवौं राष्ट्रिय खेलकुदको नियमिततामाथि कोभिड–१९ को विश्वव्यापी महामारी बाधक बन्यो ।

महामारीबाट मुक्त हुने क्रमसँगै बढ्दो खेल गतिविधिमा नवौं राष्ट्रिय खेलकुदको नाम पनि थपिने भएको छ ।

पहिलो राष्ट्रिय खेलकुद, २०३८

२०३८ साल भदौ २७ गते नेपाली खेलकुदको इतिहासका लागि स्वर्णीम दिन रह्यो । यही दिन काठमाडौबाट प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भयो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता असोज ४ देखि १३  सम्म (९ दिन) दशरथ रंगशालामा सञ्चालन भयो । प्रथम राष्ट्रिय खेलकुदमा ७८ स्वर्ण, ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा १४ अञ्चलका १२ सय २० पुरुष र २ सय २३ महिला खेलाडीको सहभागिता थियो ।

प्रथम राष्ट्रिय खेलकुद १६ खेलमा १४ अञ्चलको सहभागिता रहँदा वाग्मतीले पहिलो स्थान हासिल गरेको थियो । वाग्मतीले ४४ स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १ सय २ पदक जितेको थियो । ८ स्वर्ण, ७ रजत र ९ कांस्य गरी २४ पदक जितेको गण्डकी उपविजेता भएको थियो भने ६ स्वर्ण, १३ रजत र ६ कांस्यसहित २५ पदक जितेको कोसीले तेस्रो स्थान हासिल गरेको थियो । ५ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १७ पदक जितेको नारायणीले चौथो स्थान हासिल गर्दा ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जितेको जनकपुर पाँचौं भएको थियो । ३ स्वर्ण र ७ कांस्य पदक जितेको सेती छैटौं तथा २ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको भेरी सातौं भए । धौलागिरिले २ स्वर्ण, २ रजत र १ कांस्य पदका जित्दै आठौं स्थान हासिल गर्दा २ स्वर्ण र २ रजत जितेको महाकाली नवौं भयो । २ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी दसौं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औं स्थान हासिल गर्यो । १२ औं भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं स्थानमा रह्यो । पुछारको कर्णालीले कुनै पदक जित्न सकेन ।

पहिलाे राष्ट्रिय खेलकुदमा लोगो डाँफे 

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो । एउटै पदक जित्न नसकेको कर्णालीले सान्त्वनास्वरुप उत्कृष्ट पोसाकको पुरस्कार पाएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी समावेश थिए ।

दोश्रो राष्ट्रिय खेलकुद, २०४०

प्रत्येक दुई वर्षमा गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० सालमा पोखरामा सम्पन्न भयो । २०४० चैत्र १२ गते पोखरा स्पोर्ट्स कम्प्लेक्समा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता ९ दिनसम्म चल्यो । दोस्रो संस्करणमा तीन खेल बढाएर १९  पुर्याइएको खेल महोत्सवमा १ सय १९ स्वर्ण, १ सय १९ रजत र १ सय ३२ कांस्य गरी कुल ३ सय ७० पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

वाग्मती दोस्रो राष्ट्रियमा पनि आफ्नो वर्चस्व कायम राख्दै च्याम्पियन बन्यो । टोलीले ५० स्वर्ण, ३३ रजत र २५ कांस्यसहित १ सय ८ पदक जितेको थियो । दोस्रोमा पनि गण्डकी उपविजेता भयो । आयोजक टोलीले २१ स्वर्ण, ७ रजत र ९ कांस्य जित्यो । तेस्रो भएको कोसीले १८ स्वर्ण, १३ रजत र ६ कांस्य जितेको थियो भने भेरी ७ स्वर्ण, ४ रजत र २ कांस्यसाथ चौथो भयो । ५ स्वर्ण, १० रजत र १३ कांस्य जितेको नारायणी पाँचौं हुँदा ५ स्वर्ण, ७ रजत र ७ कांस्य जित्दै मेची छैटौं भयो । ५ स्वर्ण र ६ कांस्य जितेको धौलागिरि सातौं हुँदा ४ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको सगरमाथाले आठौं स्थान हासिल गयो । यसैगरी २ स्वर्ण, ४ रजत र ७ कांस्य जितेको जनकपुर नवौं तथा १ स्वर्ण ५ रजत र ८ कांस्य जितेको लुम्बिनी १०औं भयो । १ स्वर्ण, १ रजत र २ कांस्य जितेको महाकाली ११औं हुदा ३ रजत र ३ कांस्य जितेको सेती १२औं, १ रजतमा सीमित राप्ती १३औं भए । कर्णालीले दोस्रो संस्करणमा पनि पुछारमै चित्त बुझायो, तर यो पटक एक कांस्य जित्नु टोलीको ठूलो सफलता थियो । सेती अञ्चल अनुशासित टोली ठहरियो भने उत्कृष्ट पोसाकको पुरस्कार मेची तथा मार्चपासतर्फ गण्डकी पुरस्कृत भए ।

दोस्रो राष्ट्रिय खेलकुदमा कबड्डी र तारो हान्ने खेल हटाइँदा मार्सल आर्टस, टेनिस र सुटिङ थप गरियो । साथमा यही संस्करणदेखि दोहोरी गीत र लोक नृत्यलाई पनि खेलका रूपमा समावेश गरिएको थियो । दोस्रो संस्करणमा फुटबल र भलिबलमा महिला प्रतिस्पर्धा पनि सुरु गरियो ।

तेस्रो राष्ट्रिय खेलकुद, २०४२

राष्ट्रिय खेलकुदले तेस्रो संस्करणसम्म प्रत्येक दुई वर्षमा निरन्तरता पाइरह्यो । ०४२ मा वीरगन्जले तेस्रो राष्ट्रिय खेलकुद आयोजना गर्यो । वीरगन्ज रंगशालामा तत्कालीन राजा वीरेन्द्रले फागुन २३ मा उद्घाटन गरेको प्रतियोगितामा केही खेल थपियो । अघिल्लो पटक १९ खेल समावेश गरिएका हक्की र कबड्डी थपेर खेलसंख्या २१ पुर्याइयो । यही संस्करणदेखि ह्यान्डबल, सुटिङ र कबड्डीको महिला स्पर्धा पनि थप गरिएको थियो ।

१ सय ४६ स्वर्ण, १ सय ४७ रजत र १ सय ८१ कांस्य गरी कुल ४ सय ७४ पदकका लागि १४ अञ्चलका २ हजार ३७ पुरुष र ७ सय ३८ खेलाडीले प्रतिस्पर्धा गरेको यो खेल महोत्सवमा पनि वाग्मती अञ्चल नै च्याम्पियन भयो । वाग्मतीले लगातार तेस्रोपल्ट टिम टिम च्याम्पियन ट्रफी उचाल्यो । अघिल्ला दुई संस्करणमा उपविजेता बनेको गण्डकी छैटौं स्थानमा झर्दा १८ स्वर्ण, २८ रजत र २७ कांस्य जितेको कोसी पहिलो पटक राष्ट्रिय खेलकुदको उपविजेता बन्यो । नारायणीले पनि १३ स्वर्ण, २२ रजत र २९ कांस्य जितेर तेस्रो स्थानमा फड्को मार्यो । भेरीले १० स्वर्ण, ५ रजत र १० कांस्य जितेर चौथो स्थान हासिल गर्दा ८ स्वर्ण तथा ७ कांस्य जितेर सगरमाथा छैटौं भए ।

गण्डकीले ७ स्वर्ण, २४ रजत र २६ कांस्य जितेको थियो । लुम्बिनीले ६ स्वर्ण, ८ रजत र १० कांस्य पदक जितेर सातौं स्थान हासिल गर्दा सेती ५ स्वर्ण, १० रजत र ६ कांस्यका साथ आठौं भयो । ४ स्वर्ण, ९ रजत र ११ कांस्यसाथ मेची नवौं हुँदा समान ३ स्वर्ण, २ रजत र ३ कांस्य जितेका राप्ती र धौलागिरिले क्रमशः १० र ११औं स्थान हासिल गरे । जनकपुरले २ स्वर्ण ५ रजत र ६ कांस्य पदक जितेर १२औं स्थान हासिल गर्दा १ स्वर्ण र २ कांस्य जितेको महाकाली १३औं तथा १ कांस्यमै सीमित कर्णाली १४औं भए । यो पटक मेची उत्कृष्ट टिम ठहरियो भने गण्डकीले उत्कृष्ट पोसाक तथा मार्चपासको पुरस्कार पायो ।

चौथो राष्ट्रिय खेलकुद, २०५५

लगातार तीन संस्करणको आयोजनापछि राष्ट्रिय खेलकुदले नियमित गति कायम राख्न सकेन । देशको राजनीतिक परिवर्तनलाई समेत अनुभूत गरेको समयमा राष्ट्रिय खेलकुदको चौथो संस्करण हुन १३ वर्ष कुर्नुपर्यो । लामो समय रोकिएको राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो महोत्सव आयोजनाको आँट १३ वर्षपछि नेपालगन्जले देखायो । २०४२ पछि २०५५ सालमा मात्र सम्भव भएको राष्ट्रिय खेलकुदको चौथो संस्करण चैत ८ गते तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए ।

सात दिन चलेको राष्ट्रिय खेलकुदमा अघिल्ला संस्करणहरूमा झै खेलसंख्या बढाउनुको साटो घटाएर १२ मा झारियो । १२ खेलमात्र समावेश गर्नुमा नेपालले नै आयोजना गर्न लागेको आठौं साफ खेलकुद (१९९९) मा भएका खेल मात्र राखिएको प्रष्टीकरण दिइयो । यसपल्टदेखि राष्ट्रिय खेलकुदको संरचना पनि परिवर्तन गर्ने क्रममा १४ अञ्चलको साटो पाँच विकास क्षेत्र र दुई विभागीय टोली तत्कालीन शाही नेपाली सेना र नेपाल प्रहरीलाई सहभागी गराइयो । मध्यपश्चिमले पहिलो पटक आयोजना गरेको राष्ट्रिय खेलकुदमा स्वर्ण १ सय ४०, रजत १ सय ४० र कांस्य १ सय ८९ गरी कुल ४ सय ६९ पदकका लागि ७ टोलीका महिला र पुरुषसहित कुल १ हजार ६ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मध्यपश्चिमाञ्चल अनुशासित टोलीको रूपमा घोषित हुँदा सेनाले उत्कृष्ट मार्चपासको पुरस्कार पायो । पौडीमा ९ स्वर्ण पदक जितेर नयना शाक्यले अनुपम कीर्तिमान बनाइन् भने पुलिसकी देवीमाया पनेरुले १०० र २०० मिटर दौड तथा रामकृष्ण चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए । मध्यमाञ्चलका कराते खेलाडी रवि महर्जन पुरुष तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्रिगत रूपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो ।

मध्यमाञ्चलले ४९ स्वर्ण, ३१ रजत र ३२ कांस्य जित्दै टिम च्याम्पियनसिप जित्दा सेनाको टोली २९ स्वर्ण, ३८ रजत र २१ कांस्यसाथ उपविजेता बन्यो । पुलिसले २५ स्वर्ण, १४ रजत र २० कांस्य जितेर तेस्रो स्थान हासिल गर्यो भने पश्चिमाञ्चल १३ स्वर्ण, १८ रजत र २१ कांस्यसाथ चौथो भयो । पूर्वाञ्चलले १२ स्वर्ण २७ रजत र ३९ कांस्य जितेर पाँचौं स्थान हासिल गर्दा आयोजक मध्यपश्चिम ७ स्वर्ण, १५ रजत र ३२ कांस्यका साथ छैटौं भयो । ५ स्वर्ण, ७ रजत र २४ कांस्यमा सीमित सुदूरपश्चिम पुछारमा रह्यो ।

मध्यपश्चिमाञ्चल अनुशासित टोलीको रूपमा घोषित हुँदा सेनाले उत्कृष्ट मार्चपासको पुरस्कार पायो । पौडीमा ९ स्वर्ण पदक जितेर नयना शाक्यले अनुपम कीर्तिमान बनाइन् भने पुलिसकी देवीमाया पनेरुले १०० र २०० मिटर दौड तथा रामकृष्ण चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए । मध्यमाञ्चलका कराते खेलाडी रवि महर्जन पुरुष तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्रिगत रूपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो ।

नेपालगन्ज राष्ट्रिय खेलकुदको आयोजक भए पनि पौडी ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा गराइयो भने भलिबल पनि सुर्खेतमा खेलाइएको थियो । समावेश खेलमा फुटबल, एथलेटिक्स, कराते, भलिबल, टेबलटेनिस, भारोत्तोलन, बक्सिङ, पौडी, सुटिङ, तेक्वान्दो, कुस्ती र कबड्डी थिए ।

पाँचौं राष्ट्रिय खेलकुद, २०६५

राष्ट्रिय खेलकुदको इतिहासमा सबैभन्दा बढी विवाद र उतारचढाव बेहोरेको पाँचौं राष्ट्रिय खेलकुदका लागि चौथो संस्करण सम्पन्न भएपछि नेपाली खेलकुदले १० वर्ष कुर्नुपर्यो । नेपालगन्जमा प्रतियोगिता सम्पन्न भएको तीन वर्षपछि तत्कालीन राखेपले पाँचौं संस्करण आयोजनाका लागि काठमाडौंमै प्रयास थालेको थियो । चौथो संस्करणको समापनको अवसरमा अबको पालो सुदूरपश्चिमको भन्दै झण्डा हस्तान्तरण गरिए पनि राखेपले भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौंमै पाँचौं राष्ट्रिय खेलकुद गर्ने निर्णय लिएको थियो । सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा पाँचौं राष्ट्रिय हुने घोषणा गरिएको थियो ।

सुदूरपश्चिममा भौतिक पूर्वाधार नभएको बहानामा काठमाडौं सारिएको पाँचौं संस्करणका लागि राखेपले २०५८ वैशाख २७ देखि जेठ २१ सम्मको तिथि तय गरेको थियो । यसअघि नै २०५७ मा सुदूरपश्चिममा राष्ट्रिय खेलकुद गर्ने घोषणा भइसकेको पाँचौं राष्ट्रिय खेलकुदका लागि तय गरिएको यो दोस्रो मिति थियो । तर यो मितिमा पनि प्रतियोगिता हुन सकेन । सरकारले बजेट उपलब्ध नगराएको कारण देखाई राखेपले फेरि २०५८ जेठ ७ देखि १४ गते सम्मका लागि भनेर तेस्रो पटक मिति परिवर्तन गर्यो । पुनः समय अभाव र आर्थिक समस्याका कारण मिति जेठ १४ देखि २० सम्मका लागि सारियो, त्यो मितिमा पनि हुन नसकेपछि अन्ततः जेठ २१ देखि २६ सम्म गर्ने अर्को निर्णय लिइयो । यसका लागि आयोजनाको सबै तयारी पूरा भएर पनि पाँचौं राष्ट्रिय खेलकुद २०५८ सालमा हुन सकेन ।

राष्ट्रिय खेलकुद हुनेभन्दा दुई दिनअघि मध्यरातमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डका कारण पाँचौं राष्ट्रिय खेलकुद अनिश्चितकालका लागि स्थगित गरीयो । सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय खेलकुदमा कुल ७ सय ४१ पदकका लागि सात टोलीका १ हजार ४ सय २५ खेलाडीको सहभागिता हुने तय थियो ।

त्यसपछि सरकार परिवर्तन तथा विभिन्न कारणले हुन नसकेको पाँचौं राष्ट्रिय खेलकुद हुन गणतन्त्र स्थापना नभएसम्म कुर्नुपर्यो । २०६५ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले चैत २४ गते दशरथ रंगशालामा उद्घाटन गरेका थिए ।

यसपालि खेलसंख्या बढाएर ३२ पुर्याइयो भने सहभागी टोली पनि बढे । सशस्त्र प्रहरी बलको एपिएफ क्लब स्थापना भइसकेको कारण यसले स्वतः विभागीय टोलीको हैसियत पायो भने शान्तिपूर्ण राजनीतिमा ओर्लिएको नेकपा माओवादीको सेनालाई पनि विवादास्पद रूपमा विभागीय टोलीको हैसियतमा समावेश गराइयो । राखेपका संरक्षक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा राखेपले उद्घाटन भइसकेपछि माओवादी सेनाको टोलीलाई समावेश गराउँदा नेपाली सेनाले माओवादी खेलेका इभेन्ट बहिष्कार गरेको थियो ।

नेपाल सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको एक हप्ते राष्ट्रिय खेलकुदमा ९ टोलीबाट कुल ३ हजार २ सय ८० खेलाडी सहभागी भए । माओवादी सेनाका तर्फबाट राष्ट्रिय खेलकुदमा १ सय २८ खेलाडीले भाग लिएका थिए । माओवादी सेनाले एथलेटिक्स, भलिबल (पुरुष÷महिला), फुटबल (पुरुष÷महिला), कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ६ खेलमा सहभागिता जनाएको थियो ।

मध्यमाञ्चलले ६९ स्वर्ण, ३२ रजत र ३६ कांस्य जित्दै टिम च्याम्पियनसिपको उपाधि रक्षा गरेको पाँचांै राष्ट्रिय खेलकुदमा एपिएफ ३२ स्वर्ण, १७ रजत र १७ कांस्य जित्दै उपविजेता भयो । नेपाल प्रहरी २६ स्वर्ण, ३९ रजत र २३ कांस्यका साथ तेस्रो, पश्चिमाञ्चल २० स्वर्ण, २३ रजत र ४० कांस्यका साथ चौथो, पूर्वाञ्चल १४ स्वर्ण, २५ रजत र ५४ कांस्यका साथ पाँचौं तथा मध्यपश्चिमाञ्चल ९ स्वर्ण, २३ रजत र ४८ कांस्यका साथ छैटौं भए । सुदूरपश्चिमाञ्चल ८ स्वर्ण, १८ रजत र ३९ कांस्यका साथ सातौं हुँदा नेपाली सेना ९ स्वर्ण, ७ रजत र १२ कांस्यका साथ आठौं स्थानमा रहे । राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्नेगरी विवादास्पद रूपमा सहभागिता जनाएको माओवादी सेना १ रजत र ५ कांस्यमा सीमित हुँदै पुछारमा रह्यो ।

ओलम्पियन पौडीवाज करिश्मा कार्की १२ स्वर्ण पदक जित्दै चर्चाको शिखरमा रहिन् । उनले भाग लिएका सबै इभेन्टमा स्वर्ण पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुदमा भाग लिएका सबै इभेन्टमा स्वर्ण पदक जित्ने उनी एकमात्र खेलाडी थिइन् । यसअघि चौथो राष्ट्रिय खेलकुदमा पौडीकै नयना शाक्यले ९ स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी थिइन् । एथलेटिक्सकी केशरी चौधरीले पाँच स्वर्ण जितिन भने ब्याडमिन्टनकी पूजा श्रेष्ठ, जिम्न्यास्टिककी सुजना प्रजापति, पौडीका पुष्पराज शाही तथा एथलेटिक्सका सन्तोष श्रेष्ठ र बालकृष्ण चौधरीले समान ४–४ स्वर्ण पदक जितेका थिए । पाँचौं राष्ट्रिय खेलकुदमा सात खेलाडीले तीन स्वर्ण पदक जिते । त्यसमा सफ्ट टेनिसकी नीरा कायस्थ, जिम्न्यास्टिकका अमन तामाङ, एथलेटिक्सका सूर्यमाया तामाङ, सुमन भट्टराई, प्रमिला रिजाल तथा पौडीका शैलेश राणा र चन्द्रसिंह महतो थिए । राष्ट्रिय खेलकुदमा १२ खेलाडीले ५ खेलमा विभिन्न १३ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

पाँचौं राष्ट्रिय खेलकुदमा २१ खेलमा जिल्ला हुँदै क्षेत्रीय छनोटमार्फत प्रतिस्पर्धा गराइएको थियो भने १३ खेलमा सोझै सहभागी गराइएको थियो । क्षेत्रगत छनोट गरिएका खेलमा एथलेटिक्स, बक्सिङ (पुरुष), फुटबल, तेक्वान्दो, कराते, भलिबल, टेबलटेनिस, कबड्डी, भारोत्तोलन (पुरुष), कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, खोखो, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते र हक्की थिए । गल्फ, विलियार्ड तथा स्नुकर, सुटिङ, आर्चरी, स्क्वास, सफ्ट टेनिस, लनटेनिस, क्रिकेट, जिम्न्यास्टिक, साइक्लिङ, पौडी, बक्सिङ (महिला) र भारोत्तोलन (महिला) लाई सोझै राष्ट्रिय खेलकुदमा सहभागी गराइएको थियो ।

सोझै खेल्नेमध्ये पनि मध्यमाञ्चल नै पहिलो भयो । मध्यमाञ्चलले सोझै खेल्नेमा ५२ स्वर्ण, ४४ रजत र ५३ कांस्य जित्यो भने दोस्रो हुने एपिएफले १२ स्वर्ण, ७ रजत र ६ कांस्यमा सफलता पायो । नेपाल पुलिस ११ स्वर्ण र २ कांस्यसाथ तेस्रो हुँदा नेपाली सेनाले ९ स्वर्ण, १० रजत र १० कांस्य पदा जितेर चौथो स्थान पक्का गर्यो । पश्चिमाञ्च्लले ६ स्वर्ण, ९ रजत र १६ कांस्य पदक जितेर पाँचौं स्थान हासिल गर्दा सुदूरपश्चिम ३ स्वर्ण, ९ रजत र ७ कांस्यका साथ छैटौं, पूर्वाञ्चल १ स्वर्ण, १० रजत र ७ कांस्यसाथ सातौं, मध्यपश्चिमाञ्चल ५ रजत र ९ कांस्यसाथ आठौं भए । माओवादी सेनाको टोली खुलातर्फका १३ खेलमा एउटै पदक जित्न सफल भएन ।

छैटौं राष्ट्रिय खेलकुद, २०६८

अन्ततः इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद सुदूरपश्चिममा भयो । पाँचौं संस्करण सम्पन्न भएको तीन वर्षमै छैटौं राष्ट्रिय खेलकुद सुदूरपश्चिमको धनगढी रंगशालामा २०६८ साल फागुन १४ मा सुरु भयो ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुनर्निर्माण चलिरहेको धनगढी रंगशालामा भव्य समारोहबीच छैटौं राष्ट्रिय खेलकुदको उदघाट्न गरे । छैटौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश थिए । धनगढीलाई केन्द्र बनाएर आयोजित बृहत राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलका प्रतियोगिता महेन्द्रनगर र अत्तरियालगायत क्षेत्रमा पनि गरिएका थिए ।

अघिल्ला संस्करणमा जस्तै पाँच विकास क्षेत्रको सहभागिता निरन्तर रह्यो । राष्ट्रिय खेलकुद परिषदमा माओवादीको नेतृत्व थियो । विभागीय टोलीको हैसियतमा माओवादी सेनाको टोलीलाई औपचारिक रूपमा सहभागी गराइँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले छैटौं राष्ट्रिय खेलकुद पूर्ण रूपमा बहिष्कार गर्यो । अघिल्लो संस्करणमा उद्घाटन भइसकेपछि विवादास्पद रूपमा केही खेलमा माओवादी सेनालाई भाग लिन दिएपछि सेनाले माओवादी खेलेका विधामात्र बहिष्कार गरेको थियो । विश्वविद्यालय खेलकुद संघले पहिलो पटक विभागीय टोलीका रूपमा सहभागिता जनाएको थियो ।

सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुदका लागि ९ टिमका २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला गरी कुल ३ हजार ६ सय १९ खेलाडीले ३ सय ५ स्वर्ण, ३ सय ५ रजत र ४ सय ५२ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यसैगरी १ हजार १ सय ७७ निर्णायक, सयौंको संख्यामा खेल पदाधिकारी सुदूरपश्चिम पुग्दा सुविधासम्पन्न होटलको अभावका कारण बसोबासको ठूलो समस्या भएको थियो ।

खेलकुद परिषदमा माओवादीको तर्फबाट नियुक्त गरिएका तत्कालीन सदस्यसचिव युवराज लामाको नेतृत्व थियो । यसैगरी सुदूरपश्चिमको क्षेत्रीय खेलकुद विकास समितिमा पनि माओवादीकै तर्फबाट अध्यक्षको नियुक्ति पाएका दीपक साउद नेतृत्वमा थिए । देशको राजनीतिक माहोल अत्यन्तै अस्थिर थियो । त्यही कारण छैटौं राष्ट्रिय खेलकुदलाई प्रभावित गर्ने उद्देश्यले माओवादीबाहेकका अन्य राजनीतिक दलले सुदूरपश्चिममा प्रतियोगिताको मुखैमा ठूलो संयुक्त आन्दोलन चलाएका थिए । पछि सबै दलको शीर्षस्तरबाटै समस्या समाधान गरेर छैटौं राष्ट्रिय खेलकुद सबैको सहभागितामा गरिएको थियो ।

अघिल्ला संस्करणहरूमा जस्तै यसपालि पनि मध्यमाञ्चल १ सय १८ स्वर्ण, ७६ रजत र ७९ कांस्य गरी कुल २ सय ७३ पदकका साथ टिम च्याम्पियन बन्यो । विकास क्षेत्रले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेपछिको यो तेस्रो संस्करण थियो । तीनै संस्करणमा मध्यमाञ्चल टिम च्याम्पियन बनेको थियो । त्यसअघि अञ्चलका टोली सहभागी गराइएको पहिलो तीन संस्करणमा टिम च्याम्पियनसिपको उपाधि वाग्मतीले जितेको थियो ।

५४ स्वर्ण, ४३ रजत र ३२ कांस्य पदक जितेको नेपाल पुलिस दोस्रो हुँदा ४५ स्वर्ण, ४१ रजत र ४३ कांस्य पदकसहित एपिएफले तेस्रो स्थान हासिल गर्यो ।

पश्चिमाञ्चल २५ स्वर्ण, ५१ रजत र ६६ कांस्य पदक जित्दै चौथो हुँदा माओवादी सेनाको टोली पिएलए स्पोर्ट्स १७ स्वर्ण, १५ रजत र २४ कांस्य पदकका साथ पाँचौं स्थान हासिल गर्यो । घरेलु टोली सुदूरपश्चिमले फुटबलसहित कुल १६ स्वर्ण पदक जित्यो । २२ रजत र ४५ कांस्य पदक जितेको टोली तालिकाको छैटौं स्थानमा रहँदा पूर्वाञ्चल सातौं, मध्यपश्चिमाञ्चल आठौं तथा विश्वविद्यालय टिम पुछारमा रहे । पूर्वाञ्चलले ९ स्वर्ण, २५ रजत र ८१ कांस्य पदक जितेको थियो भने मध्यपश्चिमाञ्चलले ९ स्वर्ण १६ रजत र ५९ कांस्य पदक जितेको थियो । विश्वविद्यालय टोली भने एक स्वर्ण पदकमा खुम्चिँदा ६ रजत र चार कांस्य पदक जित्यो ।

सातौं राष्ट्रिय खेलकुद,

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टका लागि सातौं राष्ट्रिय खेलकुदको महत्व अझ विशेष थियो । इटहरीका स्थायी बासिन्दा विष्ट नेपाली खेलकुदको नेतृत्वमा रहेकै बेला सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न सहरमा आयोजना भए । विराटनगरलाई केन्द्र बनाएर गरिएको यो संस्करणमा खेल संख्या बढाएर ३५ पुर्याइएको थियो । पूर्वाञ्चलका सबैजसो ठाउँमा राष्ट्रिय खेलकुद पुर्याउने उद्देश्यअनुसार सुनसरी, झापा, इलाम, सप्तरी र सिरहामा विभिन्न खेलका प्रतिस्पर्धा गराइएको थियो । पूर्वाञ्चलको पूर्वाधारले नथेगेका कारण काठमाडौं र पोखरामा पनि केही खेल आयोजना गर्नुपरेको थियो ।

सातौं राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुनरागमन थियो । अघिल्ला दुई संस्करणमा माओवादी सेनाको पिएलए स्पोर्ट्सको सहभागिताका कारण नेपाली सेनाको उपलब्धि थिएन । पाँचौं संस्करणमा माओवादी सेनाले भाग लिएका विधामात्र बहिष्कार गरेको सेनाले छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता नै जनाएन । यसपालि भने सेना समायोजनको प्रक्रिया सकिएर माओवादी सेना विघटन भइसकेको थियो । जसका कारण राष्ट्रिय खेलकुदमा एउटा राजनीतिक दलको सेनाले विभागीय टोलीका रूपमा सहभागिता जनाउने ढिपी गर्ने आधार बाँकी थिएन । माओवादी नभएपछि नेपाली सेनाले पूर्ण क्षमतामा सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनायो ।

यसपालि विश्वविद्यालय टिमको पनि सहभागिता थिएन । एक हिसाबले राष्ट्रिय खेलकुद ५ विकास क्षेत्र र ३ विभागीय टोली गरी ८ टिमको सहभागितामा स्वाभाविक स्वरुपमा फर्किएको थियो ।

पूर्वाञ्चलका विभिन्न सहरमा पुस ८ देखि १५ सम्म भएको सातौं राष्ट्रिय खेलकुदको राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर रंगशालामा उदघाट्न गरिन् । धरान रंगशालामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि चाहिँ उपराष्ट्रपति नन्दबहादुर पुन थिए ।

२ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य गरी कुल १ हजार ३५ पदकका लागि आठ टोलीका कुल तीन हजार ९ सय ७२ खेलाडीले सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिए । जहाँ पहिलो पटक विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भने मध्यमाञ्चलको वर्चस्व तोड्दै टिम च्याम्पियन बन्यो । विभागीय टोली यसपालि पूर्ण रूपमा हाबी हुने क्रममा दोस्रो स्थान एपिएफ तथा तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पारे ।

यसअघि वाग्मती अञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका नाममा सधैं टिम च्याम्पियन बन्दै आएको प्रतिद्वन्द्वीलाई पाखा लगाउने क्रममा सेनाले १ सय ८ स्वर्ण, ६१ रजत र ४३ कांस्य गरी कुल २ सय १२ पदक जित्यो । एपिएफले ४७ स्वर्ण, ४३ रजत र ५६ कांस्य पदकमा कब्जा जमाउँदा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कांस्य पदक जित्यो ।

तीन पटकको साबिक विजेता मध्यमाञ्चल ३१ स्वर्ण, ४९ रजत र ५७ कांस्यसाथ कुल १ सय ३७ पदकमा खुम्चिँदै चौथो स्थानमा सीमित भयो । ८ स्वर्ण, ४२ रजत र १४ कांस्य पदक जितेको मध्यपश्चिमाञ्चल पाँचौं, ७ स्वर्ण, २१ रजत र ३४ कांस्यसहित पश्चिमाञ्चल छैटौंं तथा ६ स्वर्ण, १६ रजत र ४७ कांस्य पदक जित्दै पूर्वाञ्चल सातौं स्थानमा रहे । सुदूरपश्चिमाञ्चल ४ स्वर्ण, ११ रजत र ५९ कांस्य पदकसहित पुछारमा थन्कियो ।

आठौं राष्ट्रिय खेलकुद, २०७५

पूर्वाधार निर्माणमा भएको ढिलाइका बावजुद आठौं राष्ट्रिय खेलकुद निर्धारित समयभन्दा चार महिनामात्र ढिलो गरी २०७५ वैशाख ५ देखि १२ सम्म साबिकको मध्यपश्चिमाञ्चल (लुम्बिनी प्रदेश)मा सम्पन्न भयो ।

राष्ट्रिय खेलकुदको इतिहासमै सबैभन्दा बढी सरकारी बजेट खर्च भए पनि आठौं राष्ट्रिय खेलकुद व्यवस्थापन र पूर्वाधारको हिसाबमा अत्यन्तै फितलो तरिकाले भएको थियो । २०५५ सालमा चौथो संस्करण आयोजना गरेको नेपालगन्जमा दोस्रो पटक राष्ट्रिय खेलकुद फर्किंदा ३५ खेल समावेश थिए ।

देशको सबैभन्दा ठूलो खेल महोत्सव आयोजना तथा पूर्वाधार निर्माणका लागि सरकारले दुई वर्षको बीचमा गरेर झन्डै ५० करोड रुपैयाँ प्रदान गरेको थियो । त्यसका बावजुद पूर्वाधार निर्माणमा भएको उदासीनताका कारण अत्यन्तै कमजोर पूर्वाधारमा खेल गराइयो । अन्तिम अवस्थामा एउटा होटलको पोखरीमा पौडीका प्रतिस्पर्धा गराउनुपर्यो । जसरी पनि राष्ट्रिय खेलकुद गर्नेमात्र उद्देश्य राखिँदा वैशाखको प्रचण्ड गर्मीमा खेलहरू भए । जसका कारण अत्यन्तै न्युन संख्यामा दर्शकको उपस्थिति रह्यो ।

देश नयाँ संविधान लागू भएपछि संघीय संरचनामा प्रवेश गरिसकेको थियो । यही कारण यसपालिदेखि विकास क्षेत्रको संरचना खारेज भइसकेका थिए । देश सात प्रदेशको नयाँ संरचनामा पुगेको थियो । यहीअनुसार यसपाली राष्ट्रिय खेलकुदमा ५ विकास क्षेत्रको सट्टा सात प्रदेशका टोलीको सहभागिता रह्यो । तीन विभागीय टिम छँदै थिए । त्यसमा यसपालि एनआरएनएको एउटा टिम थपियो । कुल टिम संख्या ११ पुग्यो ।

३ सय ३३ स्वर्ण, ३ सय ३२ रजत र ४ सय ८० कांस्य गरी कुल एक हजार १ सय ४५ पदकका लागि पुरुषतर्फ दुई हजार ८ सय २५ र महिलातर्फ २ हजार ३ सय ८६ गरी कुल पाँच हजार दुई सय ११ खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गरे ।

थुप्रै विवाद, उत्तिकै कमजोरी र अव्यवस्थाका बीच भएको राष्ट्रिय खेलकुदको स्मरणीय पक्ष चाहिँ त्रिभुवन आर्मी क्लबको वर्चस्व र १३ वर्षे किशोरी गौरिका सिंहको प्रदर्शन थियो । बेलायतमा बसोवास गर्ने गौरिकाले नेपालगन्जको पोखरीमा एउटा राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेर सनसनी मच्चाएकी थिइन् ।

त्रिभुवन आर्मी क्लबले १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य गरी २ सय ८९ पदक जित्दै टिम च्याम्पियनको उपाधि रक्षा गरेको संस्करणमा एपिएफलाई उछिन्दै नेपाल पुलिस क्लब ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्यसहित उपविजेता बन्यो । यसपालि पनि शीर्ष तीनमा अघिल्लो संस्करणको जस्तै विभागीय टिमकै वर्चस्व रह्यो । एपिएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्य पदकसहित तेस्रो भयो ।

प्रदेश नम्बर तीन २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदकसाथ चौथो हुँदा गण्डकीले १२ स्वर्ण, २१ रजत र ४४ कांस्य पदकसहित पाँचौं स्थान हासिल गर्यो । यसैगरी आयोजक प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कांस्य पदकका साथ छैटौं हुँदा प्रदेश १ ले २० रजत र ५९ कांस्य पदकसहित सातौं स्थान हात पार्यो । सुदूरपश्चिम प्रदेश ८ स्वर्ण, १२ रजत र ३४ कांस्य पदकसाथ आठौं हुँदा प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कांस्य पदकका साथ नवौं स्थानमा ओगट्यो । एनआरएनएको टोली ६ स्वर्ण, २ रजत र ५ कांस्य पदकसहित १०औंं स्थानमा रहँदा ३ स्वर्ण, ४ रजत र १७ कांस्यसहित कर्णाली प्रदेश पुछारमा सीमित भयो ।

नेपालगन्जलाई केन्द्र बनाएर आयोजित आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेल पूर्वाधार अभावका कारण बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, काठमाडौं, ललितपुर र पोखरामा समेत भएको थियो । वैशाख ५ गते नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको नेपाली खेलकुदको सबैभन्दा ठूलो मेलाको वैशाख १२ मा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरे ।