नेपाली फुटबल

लिगप्रति संशय, एन्फासँग छैन योजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २६ देखि नै सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेको थियो । त्यसका लागि मंसिर १५ भित्र क्लबहरूलाई तयारी खर्च र गत वर्षको बक्यौता रकम तिर्ने वाचा पनि गरेथ्यो । जुन एन्फाले पूरा गरेन । क्लबहरूले पनि एन्फाको मौखिक आश्वासनमा विश्वास गरेनन् । जसका कारण लिग सर्यो ।

एन्फाले फेरि क्लबहरूसँग बैठक गर्यो । पहिला वाचा गरेअनुसार सबै रकम तत्काल तिर्ने तत्परता एन्फाले देखायो । त्यसपछि शीर्ष डिभिजनका सबै १४ क्लब लिग खेल्न तयार भएका थिए । तर, अत्यन्तै सीमित रंगशालाका मैदान दिनरात घोटेर थेगिएको नेपाली फुटबलमा शीर्ष डिभिजनको लिग तोकिएको समयमा भने नहुने निश्चित भयो ।

खेलाउने एन्फा र खेल्ने क्लब सहमत भए पनि लिग दुई महिना पर सर्यो । फागुन १९ को लिग सुरु गर्ने नयाँ मिति तोकियो । यो मितिमा क्लबहरू तयारी खर्च र बाँकी बक्यौता रकम पाएपछि क्लब र खेलाडी दर्ता गर्न तयार भएका छन् । लिगको तयारी  कार्य अगाडि बढिसकेको छ । एन्फाले खेलतालिका सार्वजनिक गरिसकेको छ ।

लिगकै बीचमा रहेको फिफा विन्डोअन्तर्गत अन्तर्राष्ट्रिय विश्राम पनि तय भइसक्यो । एउटै दशरथ रंगशालाको भरमा थेलिएको लिग यसपालि पोखरा, विराटनगर र हेटौंडा लैजाने चर्चा छ । तर, सुरु नभएसम्म अझै पनि तोकिएको समयमा लिग हुनेमा दुविधा छ ।

एन्फाले फुटबलको मेरुदण्ड मानिने लिगअघि पोखरामा सम्पन्न आहा-रारा पोखरा गोल्डकप नकआउट प्रतियोगितालाई ‘प्रि-सिजन’ मानेको थियो । तर, प्रतियोगिता सुरु नहुँदै लिग निर्धारित समयमा नहुने पक्का भयो । ‘ए’ डिभिजन लिगमा सहभागी केही क्लबले आहा-रारालाई प्रि-सिजन मानेर खेलाडी अनुबन्ध गरे । त्यसैलाई प्रशिक्षण माने । खेलाडीबीच तालमेल मिलाउने स्पर्धा बनाए ।

यसैबीच लिग नहुने भएपछि केही क्लबहरूलाई टाउको दुखाइको विषय बनेको छ । सम्झौता गरेका खेलाडीको पारिश्रमिक कसरी तिर्ने ? तर लिगको तयारीमा हतारो नगरेका केही क्लबलाई भने टिम बनाउनेको दाँजोमा राहत छ । तीन पटकको च्याम्पियन थ्री स्टारसँगै ललितपुरकै फ्रेन्ड्स र सातदोबाटो युथलगायतका केही क्लब मोफसलका प्रतियोगिताहरूमा देखिएका छैनन् ।

एन्फाको विश्वास मानेर लिगका लागि टिम बनाउने क्लबको टाउको दुखाइ आफ्नो ठाउँमा छँदै छ । तर, थोरै मैदानमा धेरै खेल गराउनुपर्ने बाध्यता, वर्षा लागेपछि खेल गराउन सकिने अवस्था नहुनुलगायतका वाध्यताका कारण नेपालमा हिउँदयाम फुटबलका लागि उपयुक्त समय हो । सामान्यतः वर्षात सकिएपछि असोजदेखि सुरु गरेर असारमा वर्षा सुरु हुनुअघिसम्म नेपाली फुटबलको सिजन सकिसक्नुपर्छ ।

तर, पुस २६ देखि गर्ने भनिएको लिग समयमा हुन नसक्दा दशरथ रंगशालालगायत प्रस्तावित मैदान अहिले पूर्ण रूपमा विश्राममा छन् । जबकि राष्ट्रिय फुटबलको सबैभन्दा मुख्य प्रतियोगिता लिग भने सर्वोच्च निकायको अकर्मण्यताका कारण असारे हिलोमा हुने भएको छ ।

लिगका लागि सबैभन्दा उपयुक्त समयमा घोषणा गरेर पनि केही गर्न नसकेको एन्फाले यो दुई महिनाको समय कसरी उपयोग गर्दै छ त ? खासमा एन्फासँग यही समयका लागि भनेर कुनै ठोस योजना बनाएको देखिँदैन । एन्फाले त दुई महिना खेर जान लागेको भेउसमेत पाएको छैन ।

तथापि मोफसलमा हुने केही ‘गोल्डकप’हरूका लागि समय दिएर एन्फाले आफ्नो जिम्मेवारी ‘पूरा’ गरेको छ । चैत र वैशाखका लागि तय भएका केही मोफसलका प्रतियोगितालाई अगाडि सार्नेसम्मको काम एन्फाले गरेको छ ।

ढंगको वार्षिक क्लालेन्डर बनाउन नसकेको एन्फाले झारो टार्ने पारामा कार्यक्रम तालिका भने तयार गरेको छ । तर आफैंले सार्वजनिक गरेको कार्यतालिका पछ्याउन नसकेको एन्फाबाट सरोकारवालाहरूले विश्वास गर्न भने सकेका छैनन् ।

‘सबै क्लबले पैसा लिइसकेको अवस्था छ । तर अझैसम्म लिगका लागि एन्फाले गर्नैपर्ने थुप्रै काम गरेको छैन । विभिन्न टेण्डरहरू निकाल्न र त्यसका सबै प्रक्रिया पूरा गर्नकै लागि पनि एन्फाले दिएको फागुन १९ को समय पुग्दैन । त्यसैले अझैसम्म फागुन १९ बाट लिग हुनेमा विश्वस्त हुन सकिएको छैन,’ लिगका लागि टिम तयार गरिसकेको एक क्लबका अध्यक्षले सुनाए ।

एन्फा प्रवक्ता सुरेश शाह भने समयमा लिग गर्न नसके पनि अन्य प्राविधिक कार्यक्रममा लागेको भन्दै पन्छिए । ‘लिग समयमै नभएपछि अन्य प्राविधिक कार्ययोजनामा लागेका छौं । वर्षभरिको कार्यतालिका छ । तर केही प्रतियोगिता समयमै सुरु गर्न सकेनौं,’ उनले स्वीकारे ।

शाहका अनुसार यसपालिदेखि महिला र पुरुष दुवैतर्फ यु-१६ र यु-१९ का प्रतियोगिताहरू हुनेछन् । यसैगरी रोकिएको महिला लिग, राष्ट्रिय फुटसल लिग छनोट, जिल्ला लिग, महिला नकआउट प्रतियोगिता, राष्ट्रिय फुटसल लिग, सहिद स्मारक ‘बी’ डिभिजन लिग, अन्तर स्कुल महिला तथा पुरुष राष्ट्रिय फुटबल प्रतियोगिता, एन्फा प्रेसिडेन्ट कप, सहिद स्मारक ‘सी’ डिभिजन लिग, राष्ट्रिय लिग, ललित स्मृति कप यु-१९ फुटबल प्रतियोगिता, उममेयर कप यु-२० महिला फुटबल प्रतियोगिता पनि यो वर्षदेखि सुरु हुनेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामा एन्फाले ध्यान दिएको प्रवक्ता शाहको दाबी छ । नेपालले फिफाको सहयोगमा महिला फुटबल च्याम्पियनसिप, साफ यु-१९ च्याम्पियनसिप, पुरुष/महिला मैत्रीपूर्ण खेल (जुलाई १-१३) (मार्च २०-२८), साफ यु-२० महिला च्याम्पियनसिप, एएफसी यु-२० महिला च्याम्पियनसिप छनोट, यु-१७ साफ च्याम्पियनसिप तथा एएफसी महिला च्याम्पियनसिप छनोट, साफ यु-१९ तथा यु-१६ च्याम्पियनसिप प्रतियोगिता खेल्ने उनले जानकारी गराए ।