नेपाली फुटबल

घिसिपिटी फुटबल, शुन्य दर्शक

काठमाडौं । दर्शकले खचाखच भरिएको पुरानो रंगशालाको धेरै वर्षअघिको एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर गत साता पोखराको सहारा क्लब कल्पियो, ‘यी दर्शक कहाँ गए होलान् ?’

क्लबले बर्सेनि आयोजना गर्ने आहा-रारा पोखरा गोल्डकप फुटबलमा सुन्दर पर्यटकीय नगरी रमिरहेका बेला सहाराको फेसबुक पेजमा त्यो पोस्ट आएको थियो । लगत्तै त्यही दिन शुक्रबार अर्को त्यस्तै दर्शकले भरिभराउ प्यारापिटको फोटो हालेर क्लबले लेख्यो, ‘पोखरेली फुटबलप्रेमीहरू कुनै बेला ।’

फुटबललाई असाध्यै माया गर्ने पोखरामा नेपाली फुटबलकै सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता सञ्चालन भइरहँदा आयोजकले सामाजिक सञ्जालमा यसो लेख्नुको एउटै कारण थियो, यसपालि आहा-रारा पोखरा गोल्डकपले सोचे जसरी दर्शक आकर्षित गर्न सकिरहेको थिएन ।

पोखरा सहरले निकै अपनत्व महसुस गर्ने प्रतियोगिता विगतका दुई वर्ष कोभिड-१९ महामारीको छायाँमा सम्पन्न भयो । त्यसअघिसम्म यो प्रतियोगिता दौरान पोखरा एउटा ठूलै मेलाका रूपमा रम्ने गरेको थियो । खेल्नेमात्र भए हेर्नेको खडेरी कहिल्यै लाग्दैनथ्यो । फुटबल हेर्नकै लागि स-साना बालबालिकादेखि ८० नाघेका व्यक्तित्वसम्मको भीड लाग्ने गर्दथ्यो ।

पोखरेली दर्शकले गर्ने त्यही मायाको बलमा टिकेको थियो आहा-रारा गोल्डकप । सशस्त्र द्वन्द्व, हड्ताल, भुइँचालो, नाकाबन्दी र कोभिड-१९ महामारीजस्ता अप्ठेरा परिस्थितिमा पनि प्रतियोगिताले लगातार २२ वर्षसम्म निरन्तरता पाउन सक्नुको प्रमुख आधार तिनै दर्शक थिए । लगातार तीन वर्ष कोभिडको छायाँमा परेको समाज यसपालि आहा-रारामा पहिलाभन्दा बढी उत्साहका साथ रम्ने आयोजकको भरपुर आशा थियो ।

पुसको कठ्याङग्रिदो जाडोलाई फुटबलको रोमाञ्चले परास्त गर्ने अनुमान थियो । तर, त्यसो भएन । विगतको तुलनामा आधाले पनि रंगशाला धाउने जाँगर चलाएनन् । ‘यसपालि त हामीले सोचेभन्दा धेरै कम भयो । मानिसमा फुटबल हेर्न रंगशाला धाउने जाँगर नै देखिएन,’ सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले भने ।

आहा-रारा गोल्डकप सुरु हुनुभन्दा अघिल्लो दिन पुस १३ गते पोखरा रंगशालामा स्पेनको कासेरेन्यो फुटबल क्लबले गण्डकी ११ सँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा पनि सयभन्दा कम संख्याका दर्शकले मात्र टिकट काटेर फुटबल हेरेका थिए ।

स्पेनको राष्ट्रिय टोलीबाट युरोपियन च्याम्पियनसिप जितिसकेका तथा विश्वकप खेलिसकेका खेलाडीहरूसमेत समेटेर आएको कासेरेन्योले काठमाडौं ११ सँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल्दा पनि खासै दर्शक पाएन । कुनै बेला थियो, अन्तर्राष्ट्रियस्तरका ठूला खेलाडी घुम्न आउँदा पनि तिनलाई हेर्ने फुटबलप्रेमीको भीड थेगिनसक्नु हुन्थ्यो ।

आहा-रारा गोल्डकपअघि झापामा भएको नमुना च्यालेन्ज अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पनि रंगशालाभित्र दर्शकको उपस्थिति उत्साहजनक थिएन । मकवानपुरको फापरबारीमा अहिले वागमती गोल्डकप भइरहेको छ । तर, दर्शक उपस्थितिको दृष्टिले यसको कहानी पनि अरूभन्दा फरक छैन । यहाँ पनि फुटबल हेर्नेको घुइँचो छैन ।

केही महिनाअघि पाकिस्तान र नेपाली राष्ट्रिय टिमबीच दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदा पनि दर्शकको उपस्थिति उस्तै उदासीन थियो ।

हिउँद याममा बदाम खाएर समय कटाउने फुटबलप्रेमी मात्र रंगशाला गए पनि पुग्ने नेपाली फुटबलमा अहिले त्यस्तो केही छैन । ‘फुटबल क्रेजी’ देशको परिचय विस्तारै गुम्दै छ । पछिल्लो समय भएका सबैखाले खेलमा दर्शकको कमजोर उपस्थितिले नेपाललाई फुटबलको उदासीन देशका रूपमा चिनाउने खतरा बढ्दै छ ।

लोकप्रियताको कसीमा निकै माथि रहेको नेपाली फुटबल दर्शकको रोजाइमा एकाएक किन खस्कँदै छ त ?

फुटबल विज्ञ सञ्जिव मिश्र भन्छन्, ‘यसका कारण धेरै छन् । सबैभन्दा मुख्य त नेपालमा फुटबलको समग्र क्रेज खस्कँदो अवस्थामा छ । घरेलु फुटबलको स्तर पहिलाभन्दा कम भएको छ । तीन दर्जनको हाराहारीमा राष्ट्रियस्तरका खेलाडीहरू पछिल्ला केही महिनामा विदेसिनुको प्रभाव पनि हुनसक्छ ।’

आहा-रारा गोल्डकपको कथासँग मिश्रको विचार धेरै मेल खाँदैन । विगतको तुलनामा यसपालि पोखरा रंगशालामा भएका खेलहरू बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक थिए । तर दर्शकको चासो जगाउन यो सफल भएन ।

लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियालिरहेका र आहा-रारा गोल्डकपको आयोजनामा प्रत्यक्ष भूमिका खेलिरहेका पोखरेली वरिष्ठ पत्रकार सुदर्शन रञ्जित स्टार नामको कमीलाई दर्शक आकर्षित गर्न नसक्नुको कारण ठान्छन् ।

नेपाली फुटबल पछिल्ला केही वर्षदेखि निरन्तर भ्रष्टाचार, बेथिति, आपसी शक्ति संघर्षलगायतका विवादमा मात्र घेरिएको छ । मैदानभित्रको फुटबलले माहोल तताउन छाडेको वर्षौं भइसक्यो ।

भन्छन्, ‘पहिला हरि खड्का, नीराजन रायमाझी, वसन्त थापा, वसन्त गौचन, अनिल गुरुङ, जुमनु राई, विजय गुरुङ, विकास मल्ल, प्रदीप महर्जन, सागर थापा जस्ता खेलाडीहरूको स्टारडम ठूलो थियो । ती खेलाडीलाई हेर्न दर्शकको भिडभाड हुन्थ्यो । तर, अहिले खेलाडीको स्किल राम्रो भए पनि स्टारडम छैन । खेलाडीलाई स्टारको रूपमा स्थापित गर्न सकिएको छैन । यही कारण पनि आहा-रारामा मात्र होइन, समग्र नेपाली फुटबलमै दर्शकको आकर्षण कम हुँदै गएको छ ।’

नेपाली फुटबल पछिल्ला केही वर्षदेखि निरन्तर भ्रष्टाचार, बेथिति, आपसी शक्ति संघर्षलगायतका विवादमा मात्र घेरिएको छ । मैदानभित्रको फुटबलले माहोल तताउन छाडेको वर्षौं भइसक्यो । वरिष्ठ फुटबल पत्रकार हिमेशरत्न वज्राचार्यको अनुभवमा मैदानभित्रको फुटबलभन्दा मैदानबाहिरका विवादास्पद गतिविधि समाचारका मुख्य विषय बन्न थालेपछि आम मानिसको खेलप्रतिको मोह कम हुँदै जान्छ ।

सधैं भ्रष्टाचार, सधैं बेथिति र आन्तरिक कलहका चर्चाले मानिसहरूलाई खेलप्रति वितृष्णा जगाउने काम गर्छ । हो, नेपाली फुटबलले पछिल्लो समय भोगेको समस्या त्यही हो ।

‘खासमा भन्दा अहिले फुटबलको हाइप पहिलाजस्तो छैन । फुटबलले लामो समयदेखि मोमेन्टम बनाउन सकिरहेको छैन,’ साढे दुई दशकदेखि नेपाली फुटबलमाथि कलम चलाउँदै आएका वज्राचार्य भन्छन् ।

नेपाली फुटबलसँग दर्शकको साइनो टाढिँदै जानुमा कोहीकोही त अल्मुताइरी साइड इफेक्टका रूपमा पनि बयान गर्न रुचाउँछन् । फुटबलको सबैभन्दा महत्त्वपूर्ण पक्ष दर्शक आकर्षित गर्नका लागि खेलाडीको स्टारडम बढाउनुपर्नेमा पछिल्लो समय त्यसलाई झन शिथिल पार्ने काम केन्द्रीय स्तरबाटै भयो । र, त्यसको नेतृत्व कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरे ।

खेलाडी र दर्शकबीचको पुलको रूपमा रहेको सञ्चारजगतसँग उनले आफ्ना खेलाडीलाई आइसोलेसनमा राखे । स्टार खेलाडीले मिडियामार्फत समर्थकसँग जोडिने सबै बाटो अल्मुताइरीको हठले बन्द गरिदिँदा खेलाडीको सामान्य नामबाट स्टार र स्टारबाट सुपरस्टार बन्ने बाटो अवरुद्ध भयो । जसको मूल्य नेपाली फुटबलले लामै समयसम्म चुकाउनुपर्नेछ । अल्मुताइरीकै कारण पछिल्लो समय सामान्य खेलाडीले स्टार तथा स्टारले सुपरस्टारका रूपमा स्टारडम हासिल गर्ने मौका चुकाए ।

दर्शकविनाको फुटबलमा कुनै रस हुन्न । दर्शक नभएपछि मैदानभित्र जति रोमाञ्चक प्रतिस्पर्धा भए पनि त्यसको कुनै अर्थ रहन्न । नेपाली फुटबल अहिले यस्तै ‘प्लास्टिकको सुन्तला’ भएको छ ।

फेरि नेपाली फुटबललाई दर्शकको पनि खेल बनाउन के गर्नुपर्ला त ?

फुटबलका जानकारहरू भन्छन्, ‘त्यसका लागि सबैभन्दा पहिला देशव्यापी रूपमा फुटबलको माहोल सिर्जना गर्नुपर्छ । सबैभन्दा बढी केन्द्रीय स्तरमा प्रतियोगिताहरू हुनुपर्छ । ढंगको लिग हुनुपर्छ । जहाँ टिमहरूबीच प्रतिद्वन्द्विताका कथाहरू रचिनुपर्छ । क्लबहरू ब्रान्डका रूपमा स्थापित हुनुपर्छ । जो वर्षौं पुरानो भएर पनि एउटा ब्रान्ड बन्न सकिराखेका छैनन् । खेलाडीमध्येबाट स्टार र सुपरस्टारको रूपमा उनीहरूको स्टारडम उचालिनुपर्छ । ताकि दर्शकहरू टिम विशेषको ब्रान्ड, उनीहरूको प्रतिद्वन्द्विता हेर्न रंगशाला धाउन बाध्य होउन् । स्टार खेलाडीलाई हेर्न रंगशाला जाने जाँगर निकाल्न सकून् ।’