काठमाडौं । साउदी अरबको फुटबलमा अहिले कसैले पनि क्रिस्टियानो रोनाल्डोबाहेक अर्को कुरा सोचिरहेको छैन । यो स्वाभाविक हो । उनी त्यहाँ ओर्लिएको एक साता पनि पुगेको छैन । उनको आगमनको खुसीमा साउदीका फुटबल समर्थक अझै पनि झुमिरहेका छन् ।
हुन त रोनाल्डोको एसियातर्फको स्थान्तरणबारे चर्चा फगत साउदीमा मात्र भइरहेको छैन । बरु यो त विश्वकै लागि चिया गफको नयाँ विषय बनेको छ ।
गत महिना मात्र साउदीको फुटबलले विश्वभर चर्चा पाएको थियो । कारण, विश्वकपमा अर्जेन्टिनामाथिको जित । विजयी गोल गरेका कारण सालेम अल डावसरी साउदीका नयाँ नायक बनेका थिए । उनको र उनको टिमको जति प्रशंसा र चर्चा भयो, त्यो जायज थियो । किनभने अर्जेन्टिनालाई सन् २०१९ को कोपा अमेरिकापछि कुनै टिमले हराउने आँट गरेको थियो । र, त्यो टिम साउदी थियो ।
त्यो क्षण साउदीका हरेक नागरिकको मस्तिष्कबाट हट्ने छैन । यस्तै क्षण साउदीले सन् १९९४ मा पनि निर्माण गरेको थियो । ३० वर्षअघि साइद अल ओवाइरनले गरेको त्यो गोल आजका दिन पनि देखाइन्छ, हेरिन्छ । अमेरिकी भूमिमा भएको विश्वकपमा ओवाइरनले गरेको गोलको क्लिप पाकादेखि भर्खरका फुटबल समर्थकले साँचेर राखेका छन् ।
ठ्याक्कै त्यसैगरी अल डावसरीको गोललाई पनि आउँदा धेरै वर्ष ‘रिप्ले’मा देखाइनेछ । ती दुई जस्तै अर्को नयाँ सुन्दर क्षण जन्माउन साउदीलाई कति वर्ष लाग्ला ? यो प्रश्न साउदी फुटबलसँग गाँसिएको छ ।
अहिलेको साउदी फुटबल सकारात्मक र उत्साहित भने छ । यसो हुनुका कारण हुन्, रोनाल्डो । युरोपेली क्लब फुटबलमा सबैखाले ठूला उपाधि जितेका रोनाल्डोको बलमा साउदी फुटबलको मुहार फेर्न सकिन्छ भन्नेमा साउदी फुटबलका सरोकारवालाहरु एकमत छन् ।
हुन त ठूला विदेशी स्टारलाई अनुबन्ध गर्ने बित्तिकै देशकै फुटबल परिवर्तन हुन्छ भन्ने छैन । यसको उदाहरण चीन हो । विश्वकपमा छनोट हुने दौडमा एसियाका ‘बिग ब्वाइज’ सँग सधैँ पछि परिरहेको चीन जस्तो नहुन साउदीले केही चुनौती पार गर्नुपर्नेछ ।
पहिलो कुरा त साउदी बलियो राष्ट्रिय टिम भएको ‘पूर्ण फुटबल राष्ट्र’ बन्न आवश्यक छ । बलियो टिम कसरी निर्माण गर्न सकिन्छ ? प्रतिभावान खेलाडीको उत्पादन र वृत्तिविकास, यसको सहज उत्तर हुन सक्छ । आजको दिनमा पनि युरोपेली क्लब फुटबललाई भेट्न सक्ने संरचना अरु महादेशमा छैन । यसकारण बढीभन्दा बढी साउदी अरबका खेलाडी युरोपेली क्लब फुटबलमा छिर्नसके त्यसको फाइदा राष्ट्रिय टिमलाई हुनेछ । दक्षिण अमेरिका वा अफ्रिकाका बलिया टिमका प्राय खेलाडी युरोपमा खेल्छन् । विश्वकप खेलेको जापानी टिमका अधिकांश खेलाडी बुन्डेसलिगामा छन् ।
यस्तोमा साउदीको बाटो फरक हुन सक्दैन । साउदीले उत्पादन गरेका खेलाडी स्तरीय हुने गरेका छन् । तर यी खेलाडी उत्तरी अफ्रिकीहरू जस्तो आफ्नो देश छाड्न हिच्किचाउँछन् । जसकारण उनीहरू विश्व फुटबलमा बलिया मानिएका लिग र खलाडीसँग र विरुद्ध खेल्ने अवसरबाट वञ्चित भइरहेका छन् ।
केही साउदीका खेलाडी युरोपका लिगतिर नसरेका होइनन् । सइम खल जाबेर सन् २००० मा इङ्लिस प्रिमियर लिग पुगेका थिए । त्यहाँ उल्भरह्याम्पटनमा चार खेल खेलर उनी साउदी नै फर्किए । अर्जेन्टिनाविरुद्ध गोल गर्ने सालेह खल शेहरी पोर्चुगिज क्लबसँग आबद्ध भएका थिए । किशोर उमेरमा पोर्चुगल गएका उनले त्यहाँ संघर्ष गर्न चाहेनन् । विश्वकप २०१८ अघि साउदीले आफ्ना खेलाडी स्पेनका विभिन्न क्लबमा पठाइएको थियो । सरकारी स्तरबाटै गरिएको यो प्रयास पनि फलदायी भएन । किनभने प्राय खेलाडीलाई स्पेनी क्लबले खेलाउँदै खेलाएनन् ।एसियाली क्लब फुटबलमा साउदीको लिग बलियोमध्येको एक हो । तर त्यही लिग खेलेर साउदीका खेलाडीको स्तर बढ्ने सम्भावना देखिँदैन । साउदी फुटब हाँक्नेहरुले पनि यो तथ्य स्वीकार गर्ने गरेका छन् । सन् २०२१ मा साउदीका प्रशिक्षक हेर्भे रेनार्डले अरब न्युजलाई दिएको अन्तरवार्तामा भनेका थिए, ‘म साउदीका खेलाडीले युरोपका लिग खेलेको हेर्न चाहन्छु । तर यो सजिलो छैन ।’
रेनार्डले साउदी फुटबलको भविष्य सुनौलो भएको तर यसका लागि व्यवसायिकता बढाउन आवश्यक रहेको भनाइ राखेका थिए । ‘खेलाडी आफैं पनि तयार हुनुपर्छ, सुधारका लागि । अहिलेको तरिकाले हुँदैन । उनीहरूमा प्रतिभा नभएको होइन । म वा अरु कोही प्रशिक्षकले पनि यी खेलाडीको प्रतिभा उपयोग गरेर नतिजा ल्याउन सक्छ । मेरो इच्छा यति मात्र हो, उनीहरुले विदेशी भूमिमा खेल्दा अमूल्य अनुभव हासिल गर्न सक्छन्,’ रेनार्डले भनेका थिए ।
परिवारसँग साउदीमै बस्ने वा बाहिर गएर फरक संस्कृति र फुटबलको अनुभव गर्ने, साउदीका खेलाडीले छान्नु पर्ने रेनार्डको भनाइ थियो । ‘फरक परिवेशमा खेल्दा खेलाडी अझ परिपक्व हुन्छ । यसो गर्दा समग्र साउदी अरबको फुटबलका लागि फाइदाजनक हुनेछ । तर के गर्ने वा नगर्ने भन्ने उनीहरुको इच्छाको कुरा हो । मैले दबाब दिन त मिल्दैन,’ रेनार्डले अन्तरवार्तामा भनेका थिए ।
रेनार्डले चाहना राखेबमोजिम साउदीका खेलाडी युरोप गएका छैनन् । तर युरोपमात्र नभई सम्पूर्ण विश्वको फुटबल हल्लाएका रोनाल्डो साउदी पुगेका छन् । यही कारण विश्वकपको अन्तिम १६ मै पुग्न नसकेको साउदी अचानक विश्वभरका फुटबल समर्थकको नजरमा पर्ने परिस्थिति सिर्जना भएको छ । रोनाल्डो साउदी लिगमा खेल्नु भनेको विश्व फुटबलले यो लिगलाई पछ्याउनु हो । जसले गर्दा त्यहाँका स्थानीय खेलाडी युरोपका क्लबको नजरमा पर्न सक्छन् । यसकारण रोनाल्डोको स्थानान्तरणले साउदीका खेलाडीका लागि एउटा मञ्च सिर्जना भएको छ, जहाँ उनीहरुले प्रतिभा देखाएर युरोपका क्लबलाई आकर्षित गर्न सक्छन् ।
अबको १२ महिनापछि साउदी फेरि कतार फर्कनेछ । जहाँ एएफसी एसियन कप हुँदैछ । २८ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता नजितेको साउदी सधैजसो यसपाली पनि उपाधि दाबेदार हो । कतारपछि एसियन कप आयोजना गर्ने पालो साउदीकै छ । पहिलो पटक एसियन कप आयोजना गर्दा साउदी च्याम्पियन बन्ने दबाबमा हुनेछ । फेरि प्रशिक्षक रेनार्डको सम्झौता पनि त्यही प्रतियोगितासम्मका लागि मात्र हो ।
हालको साउदी टिमका खेलाडी करियरको लगभग उत्तराद्र्धमा छन् । उनीहरुलाई विस्तारै नयाँ पुस्ताका खेलाडीले प्रतिस्थापन गर्नेछन् । जसको उद्देश्य सन् २०२७ को एसियन कप जित्ने हुनेछ । हुनसक्छ, आउँदो पुस्ताले साउदीलाई एसियाली च्याम्पियन बनाउने मात्र होइन, युरोपेली क्लब फुटबलमा प्रवेश गर्ने बाटो पनि पहिल्याउनेछन् । र यी दुवै लक्ष्यमा सफल हुन साउदीका युवा खेलाडीमा पर्याप्त प्रतिभा छ ।
सन् २०१६ को एएफसी एसियन यु १९ कपमा उपविजेता बनेको साउदी दुई वर्षपछि च्याम्पियन बनेको थियो । यसले पनि साउदी फुटबलमा प्रतिभावान् खेलाडी उत्पादन भइरहेका छन् भन्ने प्रमाणित गर्छ । साउदीसँग पर्याप्त संरचना पनि छ, फुटबल विकासका लागि । यस्तोमा भन्न सकिन्छ, साउदीको फुटबल भविष्य रोनाल्डोको दातझैँ चम्किलो छ ।