काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन सुरू हुन दुई दिनमात्र बाँकी छ ।
एनपिएल २ का लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला सिंगार्ने काम युद्धस्तरमा चलिरहेको छ । मैदानमा पहिलो पटक १० हजार दर्शक अटाउने सुविधासम्पन्न प्यारापिट र कुर्सी जडान भइसकेको छ । रातिको समयमा खेल गराउन सकियोस भनेर फ्लडलाइट हाल्ने काम पनि अन्तिम चरणमा छ ।
यो सबै प्रतियोगिताको गत वर्ष सम्पन्न पहिलो सिजनको भव्यताका कारण सम्भव भएको हो । झन्डै १०० करोडको उद्योगका रूपमा एनपिएलको पहिलो सिजन सम्पन्न भएपछि दोस्रो सिजन त्यसको विरासत बोक्दै तयारीमा तल्लीन हुनु स्वाभाविक हो । त्रिवि मैदानको स्तरोन्नति यसैको एउटा पाटो हो । अब यो वर्ष प्रतियोगिता ३०० करोडको उद्योग बन्ने अपेक्षा छ ।
पहिलो संस्करणको सफलता र यसपालिको तयारीले एनपिएलकाे दोस्रो संस्करणलाई एउटा साझा महोत्सवका रूपमा सम्पन्न गर्ने संकेत देखिएको छ । जसमा स्वाभाविक रूपमा खेलाडी, खेलप्रेमी र अन्य सरोकारवाला रम्ने नै छन् । तर एनपिएलको रौनक यही घेराभित्रमात्र चाहिँ पक्कै सीमित हुने छैन । खेलकुदभन्दा बाहिर रहनेहरूका लागि पनि एनपिएल रोमाञ्चक इभेन्टका रूपमा हुनेछ । मनोरञ्जन क्षेत्र त एनपिएलको भव्यतामा मज्जासँग लुट्पुटिइसकेको छ । मनोरञ्जन उद्योगका स्टारहरूलाई पनि एनपिएलले एउटा बेग्लै खाले उत्साह दिएको छ ।
गायक, कलाकार, साहित्यकार तथा सर्जकहरू विभिन्न किसिमबाट एनपिएलसँग आबद्ध भइरहेका छन् । जसले ब्याट र बलको यो माहोललाई थप रंगीन बनाइरहेको छ ।
पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सको टिम एन्थम गत वर्ष नै र्यापर ओडीले गाएका थिए । टोलीले यो सिजन चलचित्रका नायक निखिल उप्रेतीलाई गुडविल एम्बासडर बनाएको छ । गत वर्ष जस्तै यसपालि पनि खेल दौरान कलाकारहरू पक्कै मैदानमै पुगेर जनकपुरको समर्थन गर्नेछन् ।

साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो सिजन गायक चक्र बम, टंक तिमल्सिना र गायिका अनिता चलाउनेको आवाजमा आफ्नो टिम गीत निकालेको थियो । टिम एन्थममा जस्तै खेल दौरान रंगशालामा पनि सुदूरपश्चिमलाई साथ दिन कलाकारको बाक्लो उपस्थिति रहन्थ्यो । दोस्रो सिजनमा पनि त्यसको निरन्तरता हुने नै छ । यसपालि त्यसबाहेक पनि सन् २०२० की मिस नेपाल नम्रता श्रेष्ठ होस्टका रूपमा सुदूरपश्चिमसँग जोडिएकी छन् । जसबाट टोली थप ग्ल्यामर्स रूपमा प्रस्तुत हुने अपेक्षा गर्न सकिन्छ ।
कर्णाली याक्सको एन्थम सुजन खनालले गाएका हुन् भने चर्चित नायिका स्वस्तिमा खड्का ‘फेस अफ कर्णाली याक्स’मा यथावत छिन् । गत वर्ष भ्लगर सिसन बानियाँलाई पनि टोलीले ‘युथ ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको थियो ।
लुम्बिनी लायन्स गत वर्ष पहिलो सिजन र्यापर भ्योमा र गोकुल घिमिरेले गाएको टिम एन्थममा झुमेको थियो । यसपालि भने टोलीले कवि नवराज पराजुलीको आवाजमा नयाँ टिम एन्थमसँगै ठुम्का लगाउने छ ।
पहिलो सिजन महानायक राजेश हमाल टोलीको ब्रान्ड एम्बासडर थिए । यसपालि उनलाई हास्य कलाकार सुमन कार्कीले स्थानान्तरण गर्नेछन् । कार्की ब्रान्ड आइकनको भूमिकासँगै टिममा जोडिएका छन् । यसबाहेक पनि टिमका विभिन्न कार्यक्रम तथा खेलदौरान स्थानीय कलाकारको साथ लुम्बिनीले पाउने गरेको छ ।
विराटनगर किंग्सका लागि गत वर्ष गायक कुशल पोखरेलले गाएको एन्थमले निकै चर्चा पाएको थियो । टोलीले पूर्वेली कलाकार दयाहाङ राईलाई गुडविल एम्बेसडर तथा गायिका रचना रिमाललाई फेस अफ बिराटनगर किंग्स भनेर आवद्ध गरेको थियो । र रचनासँग विराटनगरको सहकार्य औपचारिक सम्झौतामामात्र सीमित थिएन । कीर्तिपुरमा विराटनगरका सबैजसो खेल दौरान उनीहरूलाई प्यारापिटमा पुगेर टिमको हौसला बढाइरहेको देख्न पाइन्थ्यो ।

काठमान्डु गोर्खाजले यसपालि आफ्नो नाम, लोगो र टिम एन्थम सबै परिवर्तन गर्यो । चर्चित ब्यान्ड इलिमेन्ट्सले यो सिजनको गोर्खाजको एन्थम तयार गरेको छ । जसलाई एक कार्यक्रमबीच भर्खरै सार्वजनिक गरेको छ । गतवर्ष पूर्व मिस नेपाल शृंखला खतिवडा, टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीलगायतका सेलेब्रिटीहरूले टिमलाई समर्थन गरेका थिए । यसपालि पनि शृंखला, सुरजलगायतका सेलिब्रेटिहरूको साथ निरन्तर राख्दै गोर्खाजले इलिमेन्ट्सको एन्थममा उपत्यकालाई नचाउने अपेक्षा छ । विभिन्न खेलका सुपर स्टार खेलाडीलाई गुडविल एम्बासडर बनाएको छ । त्यसमा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ, करातेका दोहोरो सागका पदकधारी मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङको उपस्थितिले गोर्खाजलाई मैदानमा रौनकता दिनेछ ।
चितवन राइनोजको एन्थम स्वप्निल शर्मा र रोहित शाक्यले गाएका छन् । गत वर्ष चितवनले टिमको ब्रान्डिङका लागि भरतपुरमा सांगीतिक कार्यक्रमसमेत गरेको थियो । जसमा पूर्ण राई तथा साथीभाइ, जोन तथा लोकल्सलगायतका ब्यान्ड्सहरू सहभागी थिए । यो वर्ष पनि नायिका नीति शाहले फेस अफ राइनोजको भूमिकामा रहेर टोलीको सुन्दरतामा थप निखार ल्याउने छिन् ।
गत वर्ष पहिलो संस्करणको उद्घाटनमा त्रिशाला गुरुङको आवाजमा ‘रातो र चन्द्रसूर्य’ घन्किँदा पूरा कीर्तिपुर झुमेको थियो । यसपालि पनि उद्घाटनदेखि नै पूरा एनपिएल उत्तिकै ऊर्जाशील र उत्साहजनक रहने विश्वास गर्न सकिन्छ ।
यसको संकेत अक्सनदेखि नै पाउन थालिइसकेको छ । अक्सनमै केही सेलिब्रिटी अनुहार चम्किएका थिए भने विभिन्न टिमका जर्सी अनावरण, एन्थम रिलिज तथा कन्सर्टहरूमा त्यसको निरन्तरता भइरहेकै छ ।नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिता भएकाले एनपिएल नेपाली मनोरञ्जन क्षेत्रको पनि चासोको विषय हो । प्रत्यक्ष रूपमा एनपिएल वा कुनै टिमसँग नजोडिएका कलाकार पनि यो माहोलमा संलग्न हुनेछन् । अप्रत्यक्ष रूपमै भए पनि, घरमै टेलिभिजनमा हेरेर भए पनि, समाचार र सामाजिक सञ्जालबाट सुसूचित भएर भए पनि कलाकारहरू एनपिएलसँग जोडिनेछन् । कतिपय अवस्थामा मैदानमै पुगेर क्रिकेटको भोक मेटाउने छन् । आफूलाई मन पर्ने टिमको समर्थन जनाउने छन् ।

गत सिजन चलचित्रकर्मी र संगीतकर्मीजस्ता मूलधारका सेलिब्रेटीसँगै टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमा चर्चा कमाएकाहरूको बाक्लो उपस्थिति थियो । आफूलाई मनपर्ने टिमको फ्यान जोनमा टिम जर्सी लगाएर उपस्थिति जनाउँदै भिडियोहरू बनाउँदै आफूलाई समेत चर्चामा ल्याउन उनीहरूले क्रिकेटको प्रयोग गरेका थिए ।
विश्व क्रिकेटकै ठूलो फ्रेन्चाइज प्रतियोगिता भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा भारतीय कलाकारको ठूलो प्रभाव छ । प्रत्यक्ष रूपमा थुप्रै कलाकार टिम मालिककै रूपमा आइपिएलसँग जोडिएका छन् । तर नेपालमा चाहिँ कलाकारहरू टिम नै किन्ने भूमिकामा पुगिनसके पनि यसको सफलताको हिस्साका रूपमा भने स्थापित भएका छन् ।
एनपिएल २ को भव्यतामा कला क्षेत्रसँगको यो निकटताले पक्कै पनि योगदान गर्नेछ । सँगै कला क्षेत्रले पनि क्रिकेटको लोकप्रियताबाट धेरैखाले लाभ पक्कै पाउनेछ । जसरी कला क्षेत्रको साथबाट क्रिकेटको चर्चा चुलिनेछ, उसैगरी क्रिकेटसँगको सहकार्यबाट नेपाली सिनेमा, संगीत र फेशन क्षेत्रले फाइदा उठाउने छ । खेलकुद र मनोरञ्जन क्षेत्र एकअर्काको साथमा सँगै माथि उठ्नेछ । आशा गर्न सकिन्छ, ‘कुनै दिन आइपिएलमा जस्तै एनपिएलमा पनि कला क्षेत्रको प्रत्यक्ष सक्रियता हुनेछ । अनि एनपिएल पनि विश्वकै ठूलोमध्ये एक फ्रेन्चाइज लिगमा स्थापित हुनेछ ।’