काठमाडौं ।विश्वकप ट्रफी नजिक पुग्न सबैभन्दा बढी हतार गर्ने खेलाडी लियोनल मेसी थिए । अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराएपछि उनको नजर लगातार त्यही ट्रफीतिर थियो । नहोस् पनि किन, जबकि यही दिनका लागि उनले मिहिनेत गरेको वर्षौं भइसकेको थियो । सानैमा सपना देखेका थिए ।
मेसीपछि ट्रफी उचाल्ने दौडमा रोड्रिगो डी पाउल दोस्रो बने । त्यसपछि टिमका बाँकी खेलाडीले पालैपालो छोए, मुसारे अनि उचाले । खुसीयाली मनाउँदै गर्दा गीत गाउने, नाच्ने, उफ्रिने, एक आपसमा अंकमाल गर्ने लगायतका स्वाभाविक कर्म हुँदै गए ।
‘पत्रकारले जेसुकै भनुन्, हामीलाई के मतलब । हामी विजेता राष्ट्रिय टिम हौं,’ अर्जेन्टिनी खेलाडी यही गीत गाइरहेका थिए । अर्जेन्टिना अब फगत एउटा राष्ट्रिय टिममा मात्र सीमित भएन, ऊ विश्व विजेताको हैसियतमा उक्लिएको थियो । ‘मलाई थाहा थियो, हामी विश्वकप जित्दै थियौं भनेर,’ कप्तान लियोनल मेसीले खुसीयाली मनाउँदै प्रतिक्रिया दिएका थिए ।
मेसी यो खुसीको हकदार थिए । किनभने उनकै बलमा अर्जेन्टिना फाइनलसम्म पुगेको हो । फाइनलमा फ्रान्सविरुद्ध मेसीले गरेका दुई गोल प्रमाण हुन् । त्यो पनि कतारमा उनी अर्जेन्टिनाका लागि कति महत्त्वपूर्ण साबित भए भनेर । उसो त मेसीले यो यात्रामा कठिनाइ भोगेको बताए । ‘कठिनाइ नभोगेको भए त यात्रा स्मरणीय नै हुँदैनथ्यो,’ मेसीलाई निकोलस टाग्लियाफिकोको जवाफ थियो ।
फाइनलपछि डी पाउलले अनौठो किस्सा सुनाए । कुनै दिन डी पाउल र मेसी कोठाभित्र सँगै पिइरहेका थिए । त्यत्तिकैमा मेसी बाथरुम गए । त्यसपछि डी पाउलले एउटा कागजमा लेखे, ‘प्रिय मित्र, आज नोभेम्बर २० का दिन म तिमीसँग वाचा गर्न चाहन्छु । यसपालि हामी विश्वकप विजेता हुनेछौं ।’
त्यो कागज आज पनि त्यही कोठामा कतै होला, डी पाउल यसै भन्छन् ।
विश्वकपमा छनोट भएपछि प्रशिक्षक लियोनल स्कालोनीले आफ्ना कप्तान मेसीसँग लामै समय बातचित गरेका थिए । मेसीसँग अत्यन्तै प्रभावित स्कालोनी भन्छन्, ‘टिममा यो स्तरको प्रभाव राख्ने कप्तान मैले अहिलेसम्म देखेको छैन ।’ स्कालोनी चाहन्थे, सबै खेलाडीले दबाब महसुस नगरी खेलून् । ‘सूर्य फेरि भोलि पनि उदाउने छ,’ स्कालोनी खेलाडीलाई यो तथ्य सम्झाइरहन्थे, ‘आज नभए भोलि सफल हुन सकिन्छ ।’ स्कालोनीले संकेत गरेझैं हारपछि जित आउन सक्छ । कोपा अमेरिका जितेपछि समर्थकको अपेक्षा बढेको थियो । यसकारण खेलाडी दबाबमा थिए । यो स्थितिमा स्कालोनीले आफ्ना खेलाडीलाई सम्झाइरहन आवश्यक थियो ।
मेसीचाहिँ उल्टै प्रशिक्षकलाई सम्झाउँथे । ‘चिन्ता नलिऔं । हामी विश्वकप जित्छौं,’ मेसीका ती वाक्य सम्झिन्छन् स्कालोनी । ‘मेसीका ती वाक्यले मलाई साहस दियो । त्यसपछि मलाई लाग्यो, मैले उनीसँग बात मारिरहनुपर्छ । अनि हामी बेलाबेलामा गफिन थाल्यौं । उनको कुराले मेरो मन हलुका हुने गथ्र्यो,’ स्कालोनी भन्छन् ।
डी पाउलले मेसीका लागि त्यो सानो पत्र छाडेको दुई दिनपछि अर्जेन्टिना साउदी अरेबियासँग हा¥यो । प्रतियोगिता मज्जाले सुरु हुन पाएको छैन, अर्जेन्टिना अब बाहिरिएला कि भन्ने संशय उत्पन्न भयो । अब अर्जेन्टिनालाई समूह चरणका बाँकी दुई खेल जित्नैपर्ने दबाबमा प¥यो । नत्र युवा खेलाडीले भरिएको अर्जेन्टिनाको खाडी यात्रा अस्वभाविक ढंगमा सकिन सक्थ्यो । त्यो अर्जेन्टिनाको इतिहासकै सर्वाधिक खराब बहिर्गमन हुने थियो ।
हुन त अर्जेन्टिनी टिम संयमित थियो । स्कालोनी नेतृत्वको यो टिमले विगतमा पनि अप्ठ्यारो स्थिति सामना गरेकाले संयमता अपनाउनुबाहेकको विकल्प थिएन । सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिँदा पनि अर्जेन्टिनी टिम अप्ठ्यारोमा परेकै हो । तर त्यसको एक वर्षपछि नै, त्यो पनि ब्राजिललाई उसकै भूमिमा हराएर अर्जेन्टिना महादेशीय च्याम्पियन बनेको थियो । अर्जेन्टिनी खेलाडीले यो कुरा बिर्सिएका थिएनन् ।
‘साउदीसँगको हारपछि हामीले लामो छलफल ग¥यौं । हामीले निकालेको निष्कर्ष थियो, बाटो लामो छ, अत्तालिनु हुँदैन,’ डी पाउल सम्झिन्छन् । त्यही बेला मेसीले समर्थकलाई धैर्य राख्न आह्वान पनि गरेका थिए । उसो त अर्जेन्टिनालाई स्तब्ध बनाउने साउदीका प्रशिक्षक हार्भे रेनार्डले पनि भनेका थिए, ‘मेसी र उनका साथीको विश्वकप जित्ने सम्भावना अझै सकिएको छैन ।’
भयो पनि त्यस्तै । मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्सलाई पन्छाएर अर्जेन्टिना आखिरमा विजेता बन्यो ।
‘जित्दा कुनै टिम बलियो लाग्छ, हार्दा कमजोर । जित्दा गरेका राम्रा काम हारले छायामा पारिदिन्छ । जितमा स्कालोनीको रणनीति मान्छेले ख्याल गरेनन् । त उनी यस्ता प्रशिक्षक हुन्, जसले परिस्थितिअनुसार रणनीति बनाउन सक्छन् । उनले गर्ने परिवर्तनलाई खेलाडीले अँगालेकै कारण अर्जेन्टिना विश्वकपमा सफल भएको हो,’ रक्षक लिसान्द्रो मार्टिनेज भन्छन् ।
साउदीसँगको हारपछि दोस्रो खेलमा स्कालोनीले ५ खेलाडी परिवर्तन गरेका थिए । तेस्रो खेलमा उनले थप दुई खेलाडीलाई डेब्यु गराए । स्कालोनीले पछिल्ला दुई वर्षमा तीन खेलाडीलाई मिडफिल्डको जिम्मा दिँदै आएका थिए । तीनमध्ये लो सेल्सो चोटका कारण कतारमा थिएनन् । त्यसपछि डी पाउल र लियान्द्रो पाराडेस मात्र बाँकी रहे । लो सेल्सोलाई प्रतिस्थापन गर्ने खेलाडी नभएपछि उनले मिडफिल्ड रणनीति नै फेरे । त्यसमाथि पाराडेस स्वाभाविक लयमा थिएनन् । थप दुई मिडफिल्डर घाइते भएकाले पनि टिममा समस्या थपिएको थियो ।
मेक्सिकोविरुद्ध गुइडो रोड्रिग्वेज र एलेक्सिस म्याक एलिस्टरले मौका पाए । पोल्यान्डसँगको खेलमा भने इन्जो फर्नान्डेजको ‘इन्ट्री’ भयो । टिममा जसलियान अल्भारेज पनि प्रवेश गरे । यही बिन्दुबाट डी पाउल, फर्नान्डेज र म्याक एलिस्टरले निरन्तर अर्जेन्टिनाको मिडफिल्ड सम्हाले ।
२१ वर्षीय फर्नान्डेज, २३ वर्षीय म्याक एलिस्टर र २२ वर्षीय अल्भारेज पहिलो पटक विश्वकप खेल्दै थिए । विश्वकपअघि उनीहरूले राष्ट्रिय टिमका लागि क्रमशः तीन, आठ र १२ पटकमात्र खेल्न पाएका थिए । राष्ट्रिय टिमका लागि सीमित मौका पाएको भए पनि क्लब फुटबलमा भने यी तीनै खेलाडी स्थापित छन् । यो सिजन पापु गोमेज र पाराडेसभन्दा फर्नान्डेज, म्याक एलिस्टरले बढी समय आफ्ना क्लबका लागि खेलेका छन् ।
यसकारण स्कालोनीलाई आफ्ना युवा मिडफिल्डरसँग विश्वास गर्न गाह्रो भएन । तब त उनले फरक फरक संरचना र रणनीति अख्तियार गर्न पाए । ‘रणनीति एउटै हुनुपर्छ भन्ने छैन । एउटै रणनीतिमा मात्र खेलाउँछु भन्यो भने टिम असफल हुन्छ,’ स्कालोनी भन्छन् । विश्वकपमा उनले अर्जेन्टिनालाई ४–४–२, ४–३–३ र ५–३–२ को संरचनामा खेलाए ।
अस्ट्रेलियाविरुद्धको खेलमा गोमेजलाई पहिलो एघारमा राखिएको थियो । तर उनी ५० मिनेटमात्र मैदानमा रहे । अस्ट्रेलियाले बल पोसेसन राख्न सक्ने बुझेर स्कालोनीले गोमेजको सट्टामा डिफेन्सिभ मिडफिल्डर पाराडेसलाई मैदान छिराएका थिए । त्यसपछि अर्जेन्टिनाले ४–२–२ को संरचनामा खेल्यो । जसले गर्दा अस्ट्रेलियाको अर्जेन्टाइन मिडफिल्ड छिचोल्ने प्रयास सफल हुन सकेन । फ्रान्सविरुद्ध एन्जल डी मारिया टिममा फर्किए । अघिल्ला खेलमा पूर्ण रूपमा फिट नरहेका उनले लेफ्ट विंग्सबाट फ्रान्सलाई सजिलै तहसनहस पारे । तर उनी एक घण्टामात्रै मैदानमा टिके ।
फ्रान्सविरुद्ध आफ्ना खेलाडीले रणनीति बुझेर खेलेको भनाइ छ स्कालोनीको । फ्रान्सले अन्तिमसम्म दुःख दिए पनि अन्ततः अर्जेन्टिनाले नतिजा आफ्नो पक्षमा पारेको थियो । हुन त अर्जेन्टिना यस्तो परिस्थितिबाट बारम्बार गुज्रिएको छ ।
मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्ससँगका खेलमा अर्जेन्टिनाले अन्तिमसम्मै रक्षात्मक खेल्नुपरेको थियो । डच टिमविरुद्धको क्वाटरफाइनलको अन्तिम १० मिनेटभित्र अर्जेन्टिना झन्डै पराजित भएको थियो । त्यसपछि अर्जेन्टिनालाई भाग्यले बलियो साथ दियो । ‘यो खेलमा दुई टिमले जसरी खेल्नुपर्थ्यो, त्यसरी नै खेले,’ अर्जेन्टिनाले सेमिफाइनलमा ठाउँ बनाएपछि स्कालोनीले भनेका थिए ।
क्रोएसियासँगको खेलमा पनि अर्जेन्टिना नडराएको होइन । यस्तो पनि भन्न सकिन्छ, अर्जेन्टिनाका लागि विश्वकप नै डरमा बित्यो । तर अर्जेन्टिनी खेलाडी डरसँग हारेनन् । प्रत्येक खेलको अन्त्य उनीहरूले चाहे जस्तै भयो । सायद यसपालि भाग्यको छनोट उनीहरू थिए ।
‘कतिपय अवस्थामा विपक्षीले अपेक्षा गरेभन्दा बढी राम्रो खेल्छन् । तर उनीहरूलाई रोक्न नसकिने भने होइन,’ स्कालोनी भन्छन् । फाइनलमा करिब ८० मिनेटसम्म केलियन एमबाप्पेलाई अर्जेन्टिनाले रोकेको थियो । तर त्यसपछि एमबाप्पे अनायसै जागे ।
एमबाप्पेले जति कोसिस गरे पनि फ्रान्सले उपाधि घर फर्काउन सकेन । किनभने अर्जेन्टिनासँग इमिलियानो मार्टिनेज थिए । लुसेल रंगशालामा नायक बनेका उनले फ्रान्सका खेलाडीलाई हतोत्साहित बनाए ।
त्यस रातपछि स्कालोनीले भनेझैं फेरि सूर्य उदायो । यसपटकको बिहानी पृथक बन्यो । किनभने अर्जेन्टिनी खेलाडीले लगाउने जर्सीमा एउटा तारा थपिएको थियो । सायद यी खेलाडी झस्किए पनि होलान्, के हामीले सपना त देखेका होइनौं ?