युरोपियन फुटबल

गज्जबको नापोली

काठमाडौं । युरोपका पाँच ठूला लिगका चार यस्ता टिम छन्, जसले च्याम्पियन्स लिग र घरेलु लिगमा एकै खेल हारेका छैनन् । तीमध्ये तीन टिम, आ-आफ्ना लिगका च्याम्पियन हुन् । पछिल्ला पाँच सिजनमा चार पटक इङ्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी, फ्रेन्च लिगको पेरिस सेन्ट जर्मेन (पिएसजी) र गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगा जितेको रियल मड्रिड । चौथो टिम इटालीको नापोली हो ।

ती तीन टिमले जसरी उपाधि जितिरहेका छन्, त्यसरी नापोलीले केही जित्न सकेको छैन । यो टिमले पछिल्लो ३० वर्षमा जितेको भनेको तीन वटा इटालियन कप हुन् । यद्यपि आजको दिनमा नापोली युरोपका तीन धनी क्लबसँग दाँजिन आइपुगेको छ । र यसको कारण उसको वर्तमान लय हो ।

नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा छ । एकै खेल हारेको छैन । च्याम्पियन्स लिगमा पनि नापोलीको जित दर शतप्रतिशत छ । बुधबार राति मात्रै नापोलीले आयाक्सललाई उसको घरमै गएर ६-१ ले हरायो । अब अर्को छक्क पार्ने तथ्यांक सुनौँ, नापोलीले दुई प्रतियोगिताका ११ खेलमा ३१ गोल गरिसकेको छ ।

यी सबै सफलता नापोलीले अत्यधिक खर्च गरेर पाइरहेको होइन । बरु खर्च कटौती गर्नाका बाबजुद आफूलाई अब्बल साबित गर्न सकेको हो । नापोलीले आफ्नो तलब खर्चमा ३० प्रतिशत कटौती गरेको छ । गएको सरुवा बजारमा खर्चभन्दा बढी आम्दानी गरेको छ । त्यसरी एक करोड ३० लाख युरो नाफा कमाउन नापोलीले टिममा स्थापित खेलाडीलाई बेच्यो, सित्तैमा अन्त जान दियो ।

जस्तै लोरेन्जे इन्स्गिन्या, जो नापोली सहरमै जन्मिएका, हुर्किएका हुन् । उनले करिब १० सिजन लगातार आफ्नो सहरको क्लबको सेवा गरेका थिए । उनलाई सित्तैमा अमेरिकी लिग एमएलएस खेल्ने टोरोन्टो एएफसीतर्फ जान दिइयो ।

इन्स्गिन्या जस्तै समर्थकमाझ लोकप्रिय कालिडौ कौलिबेलीलाई पनि नापोलीले टिम छाड्न कुनै अवरोध गरेन । नापोलीमा आठ सिजन खेलेपछि उनले चेल्सी रोजे । अरु त अरु नापोलीको इतिहासमै सर्वाधिक लिग गोल गर्ने द्रिइस मार्टिन्सले पनि यसैपाली नयाँ यात्रा सुरु गर्ने निर्णय लिए । उनलाई टर्कीको गालाटासारे जान दिइँदा मिडफिल्डर फाबियन रुइजलाई पिएसजीले अनुबन्ध गर्यो ।

यी खेलाडी बेचिनु वा अन्त सरुवा हुन दिनुको मुख्य कारण खर्च कटौती नै हो । फेरि इन्स्गिन्या, कौलीबाली र मार्टिन्स त ३० कटिसकेका खेलाडी हुन् । रुइज चाहिँ भर्खर २६ का भए । तर उनको सम्झौता सकिन मात्र एक वर्ष बाँकी थियो । यसकारण उनलाई अहिल्यै बेच्नु बुद्धिमानी ठान्यो, नापोलीले ।

वर्षौसम्म महत्वपूर्ण साबित भएका खेलाडीलाई एकैचोटी टिम छाड्न दिनु पुन: निर्माण प्रक्रियाको हिस्सा हो । गत सिजन लिगमा तेस्रो भएको नापोलीले आफ्नो यात्रालाई फरक तरिकाले अगाडि बढाउन चाहेको पनि हो । र यसमा नापोली सफल हुने बाटोमा छ।  समर्थक पनि दंग छन् । जबकि उनीहरु गएको सिजन अध्यक्ष आउरेलियो डे लाउरेन्टिससँग आक्रोशित थिए ।

युरोपका करिब एक दर्जन टिमबाहेक अन्यका लागि एकैपटक मुख्य खेलाडीलाई बर्हिगमनका लागि स्वीकृति दिनु र पुनः निर्माणमा होमिनु उति सजिलो छैन । पुनः निर्माण आफैँमा खतरामुक्त काम होइन । किनभने पुनः निर्माणका कारण केही समय टिमले स्वाभाविक प्रदर्शन नगर्न सक्छ । नयाँ प्रशिक्षक, नयाँ खेलाडी, त्यसमा पनि युवा खेलाडीको उपस्थिति बाक्लो हुने भएपछि टिम संयोजनमा केही असर त पर्छ नै ।

ठ्याक्कै यही भय नापोलीलाई थियो । अनि च्याम्पियन्स लिगमा उसको विपक्षी आयाक्सलाई पनि । किनभने आयाक्सले पनि आफ्ना कमसेकम ६ मुख्य खेलाडीलाई बेच्दै नयाँ सिजनको सुरुआत गरेको हो । बिक्री सूचीमा लिसान्द्रो मार्टिनेज, एन्टोनी, सेबेस्टियन हेलर, रायन ग्राभेनबेर्च आदि छन् । तर पनि आयाक्स जारी डच लिगमा खस्किएको छैन । शीर्ष स्थानबाट मात्र एक अंकले पछािड छ । आयाक्सले खेलाडी बिक्रीबाट उठेको रकममध्ये १० करोड युरो सरुवा बजारमा खर्च गरेको थियो । आयाक्सकको यो निर्णय सही साबित भएको छ ।

उता नापोलीको तरिका भने फरक छ । नापोलीले नयाँ खेलाडी त किनेको छ तर ती खेलाडी हाई प्रोफाइलका होइनन् । नापोलीले अनुबन्ध गरेको दक्षिण कोरियाली रक्षक मिन जाई किम गत सिजन फेनेरबासेमा थिए । त्यसअघि चिनियाँ सुपर लिगमा । लेफ्ट ब्याक माथिएस ओलिभेरा ला लिगमा १४औँ भएको टिम गेटाफेबाट सिरी ‘ए’ मा सरुवा भएका हुन् ।

अर्का रक्षक लियो ओस्टिगार्ड सिरी ‘ए’ कै जेनोआमा लोनमा थिए । मिडफिल्डमा नापोलीले टान्गुए एनडोम्बेलेलाई छान्यो । जो टोटनहममा असफल साबित भएका खेलाडी हुन् । टोटनहममा सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि उनको प्रतिभामाथि शंका गर्ने ठाउँ भने छैन । त्यहीकारण नापोलीले खतरा मोलेको हो, खराब लयबाट गुज्रिरहेका यी फ्रेन्च मिडफिल्डरलाई ऋण स्थान्तरणमा अनुबन्ध गरेर । नापोलीसँग सजिलो विकल्प छ, खराब लय जारी रहे, उनलाई टोटनहम फिर्ता पठाइदिने ।

स्ट्राइकर जियोभानी सिमओने पनि नापोलीसँग यसैपाली अनुबन्धित भएका खेलाडी हुन् । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमओनेका पुत्र जियोभानी हेलास भेरोनाबाट ऋण स्थान्तरणमा नापोली पुगेका हुन् । भेरोनाका लागि उनले गत सिजन १७ गोल गरेका थिए । नापोलीमा उही लय देखाउन सकेनन् भने पनि उनको उपस्थितिमाथि प्रश्न उठ्ने छैनन् । किनभने उनी भिक्टर ओसिमहेनका ब्याकअप हुन् । उसो त आफू नापोलीको पहिलो एघारमा पर्न सक्षम रहेको सन्देश जियोभानीले दिइसकेका छन् ।

उनले ‘डेब्यु’ खेलमै लिभरपुलविरुद्ध गोल गरेका थिए । खुसीयाली मनाउने क्रममा उनले १३ वर्षको उमेर छँदा खोपेका च्याम्पियन्स लिगको लोगोको टाटुमा चुम्बन गरेका थिए । उनले आयाक्ससँगको खेलमा पनि गोल गरे । यसकारण उनी नापोलीका लागि उपयोगी साबित हुन सक्छन् । नभए उनलाई नापोलीले भेरोना फिर्ता पठाउनेछ ।

नापोलीले नयाँ सिजनका लागि भित्र्याएको अर्का खेलाडी हुन्, जियाकोमो रास्पाडोरी । उनलाई पनि नापोलीले ऋणमै अनुबन्ध गरेको हो । यद्यपि सिजनको अन्त्यमा उनको स्थान्तरण स्थायी हुनेछ । र नापोलीले सासौलोलाई करिब तीन करोड ५० लाख युरो तिर्नेछ । २२ वर्षका यी फरवार्डले नापोलीका लागि लिगमा एक गोल गरिसकेका छन् । इटालीको राष्ट्रिय टिमबाट नेसन्स लिगमा पनि गोल गरिसकेका उनले नापोलीको अग्रपंक्तिलाई बलियो बनाएका छन् ।  

ठूला क्लबको नजरमा नपरेका खेलाडी अनुबन्ध गर्ने नीति लिएको नापोलीले फेला पारेको अर्का खेलाडी चिभा भाराटसेखेलिया हुन् । जर्जियाका २१ वर्षीय मिडफिल्डर भाराटसेखेलिया विगतमा विभिन्न साना क्लबसँग जोडिँदै आएका थिए । लामो समय रुसी क्लब रुबेन काजानबाट खेलेका उनले नापोलीका लागि आठ लिग खेलका पाँच गोल गरिसकेका छन् ।

उसो त नापोली नयाँ खेलाडीको भरमा मात्रै छैन । टिममा रहेका पुराना सदस्यहरुको प्रदर्शन उत्तिकै सशक्त छ । मिडफिल्डर पिओटर जेलेन्स्की, स्ट्राइकर ओसिमहेन (घाइते हुनुअघि), जियोभानी डे लोरेन्जे, गोलकिपर एलेक्स मेरेट लगायतले नापोलीमा नेतृत्वदायी प्रदर्शन गरिरहेका छन् ।

खेलाडीको तारिफ गरिरहँदा प्रशिक्षक लुसियानो स्पालेट्टीलाई छुटाउनु हुँदैन । उनले टिमलाई मात्र नभई पूरै नापोली सहरलाई उत्साहित बनाउन सकेका छन् । टिममा रहेका खेलाडी अनुसारको रणनीति बनाउन माहिर उनले गत सिजन संयम अपनाएका थिए । तर टिममा युवा जोस थपिएसँगै उनले यसपाली आक्रामक खेल्ने रणनीति अख्तियार गरेका छन् । हुन त हामी सिरी ‘ए’ सिजनको सुरुआती चरणमै छौँ ।

भर्खर आठ खेल सकिएका छन् । मिलान सहरका दुई टिम, युभेन्टस, एएस रोमा पछाडि परे पनि आगामी साता/महिना अंक तालिकामा व्यापक फेरबदल हुन सक्ने तथ्यलाई नकार्न सकिँदैन । यद्यपि अहिलेका लागि यति चाहिँ भन्न सबैलाई छुट छ, नापोलीले जे गरिरहेको छ, गज्जब गरिरहेको छ ।