काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा हामीले फुटबल खेल्न थालेको धेरै भइसक्यो । तर, दक्षिण एसियाली च्याम्पियनसिपमा समेत हामी कहिल्यै च्याम्पियन हुन सकेका छैनौं । पुरुषको तुलनामा हाम्रो दक्षिण एसियामा महिलाको इतिहास राम्रो छ ।
तुलनात्मक रूपमा इतिहास छोटो भए पनि हामीले दक्षिण एसियाली महिला फुटबलमा आफूलाई एउटा बलियो शक्तिमा स्थापित गर्न भ्याइसकेका छौं । तर, अहिलेसम्म च्याम्पियन बन्ने हाम्रो धोको पूरा हुन सकेको छैन । यसपालि त्यो धोको पूरा गर्ने राम्रो मौका हाम्रोसामु छ ।
हामीसँग राम्रो टिम त छ नै । त्यसमा चिरपरिचित घरेलु मैदान दशरथ रंगशालाको साथ हुँदा सम्भावना बढेको छ । उपाधि र नेपालको बीचमा रहेका चारमध्ये एक खेलमा नेपालले आशाअनुरुप सफलता हासिल गरिसकेको छ । त्यसकै आधारमा भन्ने हो भने अगाडिको यात्रा पनि सम्भव देखिन्छ । तथापि तीन खेल, त्यसमा पनि भारतविरुद्धको सम्भावित फाइनल वा सेमिफाइनल भिडन्त बाँकी नै छ । यसर्थ नेपालले सचेत हुनुपर्ने ठाउँ भने धेरै छन् ।
भुटानसँग खेल्दै प्रतियोगिताको थालनी गर्दा पक्कै पनि नतिजा नेपाली समर्थकले सोचेजस्तै आयो । तर, खेलमा पानी परेका कारण समयमा गोल निस्किन सकेन । पानीमा खेल्न गाह्रो नै हुन्छ । तैपनि नेपाली टोलीले राम्रो खेलेर भुटानमाथि ४-० को विजयी नतिजा निकालेको छ । यो नतिजाले खेलमा भएका कमजोरीलाई छोप्नु चाहिँ हुन्न । त्यसो गरियो भने आगामी खेलमा गाह्रो हुनसक्छ । भुटानविरुद्धको खेलमा पासिङमा खेलाडीबीच ‘सेल्फिसनेस’ देखियो । साम्बा (सावित्रा भण्डारी)ले पेनाल्टी बक्समा जिरो एङ्गलबाट पनि बल हान्न खोजिरहेकी थिइन् । त्यस्ता कुरालाई आगामी खेलमा सुधार्नुपर्छ ।
दोस्रो हाफमा अमिशा (कार्की)को ठाउँमा रेखा (पौडेल) लाई हालियो । त्यसले गर्दा खेलमा महत्त्वपूर्ण परिवर्तन आएजस्तो देखिएको थियो । अनिता (बस्नेत)ले गरेका दुवै गोल उत्कृष्ट थिए ।
दोस्रो हाफमा नै खेलाडी परिवर्तन गरेर प्रीति (राई) लाई ल्याइएको थियो । प्रीतिको प्रदर्शन पनि तारिफयोग्य रह्यो । रक्षापंक्तिमा पनि परिवर्तन गरिएका खेलाडी प्रशिक्षकको विश्वासमा खरो उत्रिए । रेखा आएपछि प्रदर्शनमा धेरै राम्रो परिवर्तन भयो ।
तर, पहिलो खेलमा विंग्समा अलिकति कमजोरी देखियो । अनिता (केसी)ले आफ्नो तर्फबाट शतप्रतिशत दिएर नै खेलेकी थिइन् । तर, खेलमा ‘पर्फेक्सन’ देखिएन । प्रशिक्षकले दोस्रो हाफमा एन्जिला (तुम्बापो सुब्बा)को ठाउँमा अञ्जना (राना मगर) लाई ल्याए । त्यो वास्तवमै उनको राम्रो निर्णय थियो । प्रशिक्षकका रूपमा पहिलो खेलमा कुमार थापाले धेरै परिपक्व निर्णयहरू लिए ।
साफ च्याम्पियनसिपमा नेपालको नतिजा के आउँछ र कहाँसम्म पुग्छ भन्न सकिँदैन । बुधबारको खेलमा बंगलादेशले राम्रो खेलेको थियो । बंगलादेशले आफ्नो स्तर बढाइसकेको छ । पहिला हामीले सजिलै बंगलादेशलाई जित्थ्यौं भने यो पटक बंगलादेश र भारतलाई बलियो टिम नै सोच्नुपर्छ ।
नेपाली टिमका सबैले आफ्नो क्षमताअनुसार शतप्रतिशत मिहिनेत गर्दै संगठित भएर खेले नतिजा राम्रो निकाल्न सकिन्छ । प्रशिक्षकको हकमा कुमारको पनि यो दोस्रो मौका हो । कति खेलाडीको यो तेस्रो र चौथो मौका पनि हो । त्यसैले यो पटक सेमिफाइनलमा नेपालले विचार पुर्याएर, एउटै गल्ती नगरी खेल्नुपर्छ ।
लिग चरणमा हामीलाई केही छैन । सिधै सेमिफाइनल पुगिसकेका छौं । तर, सेमिफाइनलमा होसियारीपूर्वक, रणनीतिक, शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा बलियो भएर खेल्न सकियो भने नेपालले जित्न सक्छ । त्यसका लागि हामीले कडा परिश्रम गर्नैपर्छ ।
घरेलु मैदान हो, आफ्नै समर्थक हुन्छन् । त्यसको फाइदा हुन्छ । तर कुनै खेलमा पनि चल्तीचाहिँ गर्नुहुँदैन । दुई-तीन वटा गल्ती गर्यो भने खेलाडीलाई मौका दिन सकिँदैन । टिमले पनि अर्को मौका नपाउन सक्छ । त्यसैले गल्ती नगरिकन होसियारपूर्वक खेल्नुपर्छ । टिममा ‘हामी सबै पक्षमा बलियो छौं’ भन्ने मानसिकता हुनुपर्छ । यो बलले मात्र हामी जित्न सक्छौं ।
श्रीलंकासँगको खेलअघि नै नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुग्छ । उता, समूह ‘ए’ मा भारतले बंगलादेशसँग खेल्दा राम्रै रणनीति बनाउँछ । यो सबै कुरालाई अध्ययन गरेर हामीले धैर्यसाथ गल्ती नगर्ने र सुधार्ने प्रयास गर्नुपर्छ ।
रेनुका (नगरकोटी) मिडफिल्डकी खेलाडी हुन् । विगतका खेलहरू हेर्दा रेनुकाले राम्रो खेल बनाउन र गोलहरू निकाल्न धेरै योगदान पुर्याएको छ । पूजा (राना मगर) लाई मैले यु-१४ बाट हेरेको छु । ऊ राम्रो रक्षक हो । यु-१४ मा उसले कप्तानी पनि सम्हालिसकेकी छे । मलाई मनपर्ने र एकदमै निडर डिफेन्डरमा उनी पर्छिन् ।
तर, दुर्भाग्य चोटका कारण अहिले टिममा उनीहरू छैनन् । उनीहरू भएको भए अझ राम्रो हुन्थ्यो भन्ने पक्का कुरा हो । जबकि, पहिलो खेलसम्ममा चाहिँ उनीहरूको अनुपस्थिति टिममा खड्किएको छैन । उनीहरूको ठाउँमा आउने अरू खेलाडीले पहिलो खेलमा प्रशिक्षकको आशाअनुसारकै प्रदर्शन गरेका छन् । तर, त्यसले निरन्तरता पाउनु जरुरी छ ।
सेमिफाइनलअघि अझै समूह चरणको एक खेल बाँकी छ । त्यसलाई अभ्यास खेलको रूपमा प्रयोग गर्नुपर्छ । प्रशिक्षकले खेलाडीको मनोबल उच्च बनाउँदै उचित रणनीतिसाथ टिम उतार्नुपर्छ । सबैभन्दा मुख्य कुरा खेलाडीलाई उनीहरूको जिम्मेवारी राम्ररी बुझाउने र त्यसबाट शतप्रतिशत लिने प्रयास गर्नुपर्छ ।
(सन् २०१२ मा सम्पन्न दोस्रो महिला साफ च्याम्पियनसिपमा प्रशिक्षकको रूपमा नेपाली टोलीको नेतृत्व गरेका प्रशिक्षक केसीसँग खेलाडीकर्मी गीता राईको कुराकानीमा आधारित)