साफ महिला च्याम्पियनसिप

महिला साफ: नेपाललाई नयाँ युग सुरुआतको मौका

  • सरगत

धेरै होइन, जम्माजम्मी तीन दिनपछि महिला साफ च्याम्पियनसिप फुटबल २०२२ सुरु हुँदै छ । त्यो पनि आफ्नै दशरथ रंगशालामा । मैदानबाहिरको कचमचले पूरा नेपाली फुटबल किरकिर भइरहेको थियो । कम्तीमा अब मैदानमा हुने फुटबलबारे चर्चा सुरु हुनेछ । यो चर्चाको मूल विषय भने त्यही हो, के नेपालले यसपालिको महिला साफ च्याम्पियनसिप जित्न सक्छ त ? फुटबल हो, यसमा पहिल्यै पटकथा लेख्न सकिन्न । त्यसैले हामी कसैसँग पनि यसको उत्तर छैन ।

जतिबेला १८ हजार छेउछाउमा उपस्थित समर्थकले हाम्रा चेलीलाई उस्काउने छन् भारतलाई हराउन । पूरा नेपाली फुटबलप्रेमी हाम्रो महिला टिमको पछाडि रहनेछन्, तिनका शुभेच्छाको बाढी नै आउने छ ।

तर, हामीसँग एउटा विश्वास भने छ, ‘नेपालले दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता भने जित्न सक्छ’ भनेर । हामीसँग भारतको जस्तो उम्दा फुटबल संरचना छैन, न त बंगलादेशको जस्तो उत्तिकै उम्दा फुटबल योजना । तर छ त त्यही विश्वास अनि त्यो विश्वासलाई ढाडस दिने हाम्रा आफ्नै समर्थकहरू । एउटा कल्पना गरौं, असोज ३ को फाइनल । प्रतिद्वन्द्वी फेरि नेपाल र भारत अनि भरिभराउ दशरथ रंगशाला ।

जतिबेला १८ हजार छेउछाउमा उपस्थित समर्थकले हाम्रा चेलीलाई उस्काउने छन् भारतलाई हराउन । पूरा नेपाली फुटबलप्रेमी हाम्रो महिला टिमको पछाडि रहनेछन्, तिनका शुभेच्छाको बाढी नै आउने छ । नेपाली फुटबलको सबैभन्दा ठूलो सम्पत्ति भनेको यही हो । यही आधारमा टिकेर त दाबी गर्न सकिने हो, नेपालले भारतलाई हराउन सक्छ भनेर । प्रशिक्षक कुमार थापाले पनि भनेकै छन्, ‘हाम्रो जितको आधार यही हुनेछ, यिनै नेपाली फुटबललाई विना सर्त असाध्यै माया गर्ने समर्थकहरू ।’

तय छ, यसपल्ट पनि आफू अनुकूल नतिजा आएन भने कुमार र उनका खेलाडीमा सधैं एउटा तुष रहनेछ, ‘मौका त आएको थियो तर, हामीले गर्न सकेनौं’ भनेर । फेरि दोहोर्याऊ, हाम्रो काम भनेको यिनै कुमार र उनका खेलाडीको समर्थन गर्ने हो ।

खासमा कुमार आफैं भाग्यमानी छन् । नत्र जो प्रशिक्षकले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा एकैपल्ट फाइनल पु¥याउन सकेनन् । तिनै अहिले प्रशिक्षक छन् । तर, सन् २०१६ का ती कुमार र सन् २०२२ का यी कुमारमा धेरै फरक छन् । उनले पक्कै पनि मजबुत टिम बनाएका छन् । भाग्यकै खेल सही, उनले पनि दोस्रोपल्ट मौका पाएका छन् । यस्तोमा अहिले पनि नगरे, कहिले गर्ने त ? यसपल्ट नेपाली फुटबलको घरमा भएको प्रतियोगिता पनि जित्न सकेन भने इतिहासले उनलाई निको मान्ने छैन ।

खेलाडीकै कुरा गरौं न । अहिलेको टिममा जति खेलाडी छन्, त्यसमध्ये आधाको हाराहारीमा आफ्नै खेलाडी जीवनमा साफ च्याम्पिनसिप जित्ने यत्तिको राम्रो अवसर हुने छैन । तिनले पनि अहिले जित्न सकेनन् भने कहिले त ? तय छ, यसपल्ट पनि आफू अनुकूल नतिजा आएन भने कुमार र उनका खेलाडीमा सधैं एउटा तुष रहनेछ, ‘मौका त आएको थियो तर, हामीले गर्न सकेनौं’ भनेर । फेरि दोहोर्याऊ, हाम्रो काम भनेको यिनै कुमार र उनका खेलाडीको समर्थन गर्ने हो ।

नेपालले सबैभन्दा पहिले लिग चरण पार गर्नुपर्नेछ । सायद यो चरणमा नेपाललाई गाह्रो हुने छैन । नेपालले भुटान र श्रीलंकालाई सजिलै पार लगाउन सक्नेछ । अनुमान छ, नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी सम्भवतः बंगलादेश हुनेछ । नेपालले यो चरण पनि पार गर्ने विश्वास गर्न सकिन्छ । अर्को सेमिफाइनलमा भारत र श्रीलंका भिड्न सक्नेछन् । सबै हामीले सोचजस्तै हुने हो भने उपाधिको भिडन्त फेरि एकपल्ट नेपाल र भारतबीच नै हुनेछ ।

नेपालले साँच्चै यसपल्टको साफ च्याम्पिनसिप जित्ने हो भने महिला फुटबलमा एउटा नयाँ युग सुरु हुनसक्छ । असोज ३ मा फाइनल परेको छ । त्यो भनेको संविधान दिवसको दिन हो । यही दिन हो, ०७२ सालमा नेपालको नयाँ संविधान घोषणा भएको । यही दिनसँगै नेपाली इतिहासमा नयाँ युग सुरु भएको थियो । यस्तै मौका नेपाली महिला फुटबललाई आएको छ । हामी सबैको अपार माया, समर्थन र शुभेच्छा नेपाली महिला राष्ट्रिय टिमका लागि छ ।